BIZMANDU
www.bizmandu.com

सोल्टी होटल घाटामा: ७ करोड ९३ लाख रुपैयाँ नोक्सान ब्यहोर्‍यो, ‘कर्मचारी खर्च कटौती गर्छौं’

२०७७ मंसिर ३

Tata
GBIME
Nepal Life

काठमाडौं। असार मसान्तसम्म जेनतेन नाफा गरिरहेको सोल्टी होटल चालु आर्थिक वर्ष घाटामा गएको छ। कम्पनीले बुधबार चालु वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोज मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गर्दै ७ करोड ९३ लाख रुपैयाँ घाटामा गएको जनाएको छ।

लकडाउन (चैत ११ गतेदेखि असार पछिसम्म पनि) का बेलामा पनि होटलले केही नाफा गरेको थियो। तर कोभिड-१९ को प्रकोप निरन्तर रहेका कारण सोल्टी होटल नोक्सानीमा गएको हो। 

कोभिड-१९ ले गर्दा पर्यटक आगमन बन्द, आन्तरिक पर्यटनबाट हुने आम्दानी पनि गुमेका बेला कर्मचारी सेवासुविधा भुक्तानी तथा अन्य सञ्चालन खर्चका कारण होटल नोक्सानीमा गएको हो। अघिल्लो वर्षको यति बेला होटल २ करोड ९५ लाख रुपैयाँ नाफामा थियो।

कम्पनीको कुल आम्दानी ५ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्षभरीको आम्दानी एक अर्ब २३ करोड थियो। गत वर्षको पहिलो त्रैमासमा पनि यस्तो आम्दानी ३१ करोड ६४ लाख थियो। 

पहिलो त्रैमासमा होटलको कुल खर्च १३ करोड रुपैयाँ छ। यसले गर्दा होटल करिब ८ करोड रुपैयाँ घाटामा गएको हो। होटलको अवकाशसहित सम्पूर्ण कर्मचारी खर्च मात्रै ६ करोड ८० लाख रुपैयाँ छ। 

होटलले न्यूनतम सञ्चालन खर्चमा होटल चालु राख्दै यसका संरचनागत सुविधाहरुलाई पूर्ण क्रियाशील राख्दै कुल सञ्चालन खर्च घटाउनका लागि अपनाउनु पर्ने सबै ब्यवसायिक रणनीतिहरु अपनाउने जनाएको छ। यसका साथै नीतिगत तथा ब्यवसायीक कार्यकुशलतालाई पूर्ण क्षमतामा प्रयोग गर्दै कम्पनीको सबै संयन्त्रहरुको समुचित सदुपयोग गर्दै होटलको सञ्चालन न्यूनतम खर्चमा गर्ने रणनीतिलाई प्राथमिकतामा राखिने होटलको भनाइ छ।

कर्मचारी तथा त्यससँग सम्बन्धित खर्चको मितब्ययितासहित अन्य आवश्यक खर्चाहरुलाई समेत कटौती गर्दै होटललाई प्रतिकूल परिस्थितिमा पनि अनुकूल वातावारण बनाइ न्यूनतम रूपमा भएता पनि आय आर्जनतर्फ उच्च प्राथमिकतामा दिइने कम्पनीको भनाइ छ।