BIZMANDU
www.bizmandu.com

दिनदिनै खस्किँदै युनिलिभर नेपालको पर्फर्मेन्स: तीन वर्षदेखि ओरालो यात्रामा, उत्पादन पनि घटायो

२०७७ मंसिर ३

Tata
GBIME

काठमाडौं। पछिल्लो तीन वर्षयता बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको पर्फर्मेन्स कमजोर देखिँदै आएको छ। कम्पनीले लकडाउनलाई जिम्मेवार ठहर्‍याए पनि त्यसअघि पनि उसको कारोबार निरन्तर खस्किरहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोज मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गर्दै युनिलिभरले नाफा ५१ प्रतिशतभन्दा बढीले झरेको जनाएको छ। कम्पनीले तीन महिनामा १२ करोड एक लाख रुपैयाँ नाफा गरेको छ। जबकी अघिल्लो वर्षको असोजमा नाफा २४ करोड ६३ लाख रुपैयाँ थियो। त्यसअघिको वर्ष (पहिलो त्रैमासिक) मा ३३ करोड ४५ लाख रुपैयाँ नाफा थियो।

कम्पनीले कोभिड-१९ र लकडाउनका कारण पहिलो त्रैमासमा राम्रो गर्न नसकेको जनाएको छ। वित्तीय विवरण अनुसार, युनिलिभरले उत्पादन नै घटाएको देखिन्छ। उत्पादन घटेका कारण बिक्रीपछिको आम्दानी कम भएको छ।

यसका साथै अन्य आम्दानी (ब्याजलगायत) पनि घटेको छ। कम्पनीले कर्मचारी खर्च भने बढाएको छ। 

कम्पनीका अनुसार, उत्पादन बिक्रीको आम्दानी एक अर्ब ७३ करोडबाट घटेर एक अर्ब २३ करोडमा आएको छ। अन्य आम्दानी पनि २ करोड ६६ लाखबाट घटेर ८९ लाखमा आएको छ। कर्मचारी खर्च भने ८ करोड २१ लाखबाट बढेर १० करोड ८० लाख पुगेको छ। यही बीचमा कच्चा पदार्थलगायत खपत ९८ करोड ६४ लाखबाट घटेर ६८ करोड ८२ लाखमा आएको छ। यो भनेको उत्पादन कम गर्नु हो।

पर्फर्मेन्स खस्किएपछि पछिल्लो समय कम्पनीले सेयरधनीलाई दिने लाभांशमा पनि उच्च गिरावट देखिन थालेको छ। चार वर्षअघि प्रति सेयर (अंकित मूल्य सय रुपैयाँमा) १२७० रुपैयाँका दरले लाभांश दिएको युनिलिभरले त्यसपछिको वर्ष ७०० र ७७० हुँदै गत वर्षको नाफाबाट जम्मा १०० रुपैयाँ मात्र वितरण गरेको छ।

यद्यपि कम्पनीको सेयर मूल्य भने सबैभन्दा महँगो अर्थात १८५०० रुपैयाँ प्रति कित्ता छ। कम्पनीको सेयर कुनै बेला बढेर ३५ हजार ३५० रुपैयाँसम्म पुगेको थियो। कम्पनीको सेयर पुँजी जम्मा ९ करोड २१ लाख रुपैयाँ छ।