BIZMANDU
www.bizmandu.com

निर्माणको सिजनमा समेत निर्माण सामग्रीको माग ७५ % सम्म घट्यो, सिमेन्ट बोरामा १०५ रुपैयाँ सस्तो


निर्माणको सिजनमा समेत निर्माण सामग्रीको माग ७५ % सम्म घट्यो, सिमेन्ट बोरामा १०५ रुपैयाँ सस्तो
निर्माणको सिजनमा समेत निर्माण सामग्रीको माग ७५ % सम्म घट्यो, सिमेन्ट बोरामा १०५ रुपैयाँ सस्तो

काठमाडौं। कोभिड-१९ संक्रमण जोखिमका कारण व्यक्तिगतका साथै संस्थागत ठूला परियोजनाहरु समेतको निर्माण प्रभावित हुँदा यो वर्ष निर्माण सामग्रीको माग उल्लेख्य रूपमा घटेको देखिएको छ ।

Tata
GBIME
Nepal Life

व्यवसायीहरुका अनुसार, सिमेन्ट, डन्डी, इँटा इत्यादि प्रमुख निर्माण सामग्रीहरुको माग पछिल्ला वर्षहरुको तुलनामा ७५ प्रतिशतसम्म घटेको छ ।

इँटाको विकल्पमा आएका ब्लक र प्यानल इत्यादिको प्रयोग बढ्दै गएकाले यसबाट नै इँटाको मागमा १० प्रतिशतले कमी आएको नेपाल निर्माण सामग्री व्यापार महासंघका संस्थापक महासचिव शिवप्रसाद मानन्धर बताउँछन् । यस्तै ढुंगा, गिटीको माग पनि अहिले औसत छ भने डन्डीको माग भने १० देखि १५ प्रतिशतले घटेको उनले बताए।

कोरोना त्रासकै कारण यो वर्ष सिजनमा समेत निर्माण सामग्री बजार अस्तव्यस्त बन्दा विगतको तुलनामा यी सामग्रीको उत्पादन र मागमा धक्का पुगेको हो । मागमा कमी आउँदा ठूलो परिमाणमा निर्माण सामग्रीहरु स्टकमा रहेको पनि उत्पादकहरुले बताएका छन् ।

कोरोना महाव्याधि नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन र निषेधाज्ञाका कारण निर्माण सामग्रीको उत्पादन र व्यापारमा मन्दी छाएको थियो। सरकारले यसलाई खुकुलो बनाएसँगै उत्पादन र माग बढ्दै जाने आशा गरेका उत्पादक तथा वितरकहरु अझै निर्माण बजार अझै तंग्रिन नसक्दा निराश छन् ।

बन्दाबन्दी खुकुलो भएपनि ढुक्क भएर निर्माण कार्यहरु अघि बढ्न नसकेकाले माग बढ्न नसकेको देखिन्छ। यसकारण अब तिहारलगत्तै (मंसिरबाट) शुरु हुने निर्माण सिजनमा पनि निर्माण सामग्रीहरुको माग नबढे यसले व्यवसाय संकटमा पर्ने चिन्तामा उद्योगीहरु छन् ।

एक अर्बको इँटा स्टकमा 
निर्माण गतिविधिमा आएको शिथिलताले माग खुम्चिँदा उत्पादित परिमाणको एकतिहाईभन्दा बढी इँटा अहिले मौज्दात (स्टक) मा रहेको उत्पादकहरुले बताएका छन् ।

इँटा उत्पादक संघका अध्यक्ष महेन्द्र चित्रकारका अनुसार नेपालभर करीब ११ सय इँटा उद्योग छन् । यी उद्योगहरुबाट वर्षमा कम्तिमा तीन अर्ब रुपैयाँ बराबरको इँटा उत्पादन हुने उनको भनाइ छ ।

इँटा उद्योगीहरुका अनुसार, सामान्यतया एकदेखि बढीमा दुई प्रतिशत मात्रै इँटा स्टकमा रहने गरेको छ । तर यो वर्ष दसैं अघिसम्ममा एक अर्ब रुपैयाँभन्दा बढीको इँटा मौज्दात रहेको चित्रकारले बताए । यो भनेको उत्पादित परिमाणको एकतिहाई हाराहारी हो ।

कोरोना महाव्याधिका कारण इँटाको माग पनि ५० प्रतिशतभन्दा बढीले घटेको इँटा उत्पादक संघका अध्यक्ष चित्रकारको भनाइ छ ।

बिक्री नभएर मौज्दातमा रहेको अवस्थामा पनि इँटाको मूल्य भने बढेको पाइएको छ । चित्रकारका अनुसार एक ट्रिपमा एक हजारदेखि १५ सय रुपैयाँसम्मले इँटा महँगिएको छ ।

कोभिडका कारण लकडाउन शुरु हुनुअघि प्रतिगोटा १४ देखि साढे १४ रुपैयाँमा बिक्री भइरहेको इँटाको मूल्य अहिले बढेर साढे १५ देखि १६ रुपैयाँ पुगेको नेपाल निर्माण सामग्री व्यापार महासंघका संस्थापक महासचिव शिवप्रसाद मानन्धरले जानकारी दिए।

यद्यपि, इटा उत्पादक संघका अध्यक्ष चित्रकारको भनाइमा भने मूल्य स्थिरजस्तै छ । चैतको लकडाउनअघि इटाको मूल्य प्रति गोटा १६-१७ रुपैयाँ रहेको थियो। अहिले गुणस्तर, आकार र उत्पादन प्रविधिअनुसार बजारमा इँटाको मूल्य गोटाको १३ देखि २२ रुपैयाँसम्म रहेको छ । औसतमा अहिले एक नम्बर इँटाको १६ रुपैयाँ र दुई नम्बर साढे १५ रुपैयाँसम्म पर्छ ।

कोरोना संक्रमणको जोखिमका कारण इँटा उद्योगमा काम गर्ने मजदुरको अभाव रहेको उद्योगीहरुको भनाइ छ । यसको प्रभाव लामो समयसम्म रहने भएकाले अवस्था सहज हुनेबित्तिकै पनि उद्योगहरु पुरानै अवस्थामा फर्किन नसक्ने उनले चित्रकारले बताए।

बोरामा १०५ रुपैयाँसम्म सस्तिँदा पनि सिमेन्ट माग ७५ प्रतिशत खुम्चियो   
सिमेन्टहरु उद्योगीहरुले अहिले घाटामा सिमेन्ट बेचिरहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाको भनाइ छ । उनका अनुसार सिमेन्टको बजार माग अहले सामान्य अवस्थामा भन्दा ७५ प्रतिशतले खुम्चिएको छ ।

कोभिड प्रभावअघि जस्तो सामान्य अवस्थामा सिमेन्टको वार्षिक माग एक करोड टन रहेकोमा अहिले यो जम्मा २५ टनमा झरेको उनले जानकारी दिए । कोरोना महामारीको त्रास व्याप्त रहेकाले सिमेन्टको व्यापार पुरानै अवस्थामा फर्किन अझै समय लाग्ने थापा बताउँछन् ।

हाल नेपाली उद्योगहरुको सिमेन्ट उत्पादन क्षमता भने वार्षिक एक करोड ६० टन पुगिसकेको बताइएको छ ।

माग न्यून रहेकाले निर्माण सिजनको मुखमा पनि सिमेन्टको बजार मूल्य घटेको छ । निर्माण सामग्री व्यापार महासंघका संस्थापक महासचिव मानन्धरका अनुसार कोभिडअघि पीपीसी सिमेन्ट बोरा (५० केजी) को ६१० देखि ६५० रुपैयाँसम्म रहेको थियो । अहिले यो ५२५ देखि ६०० रुपैयाँसम्‍म छ ।

यस्तै, त्यसबेला ६८० देखि ७३० रुपैयाँ हाराहारी रहेको ओपीसीको मूल्य यतिबेला बोराको ६२५ रुपैयाँमा ओर्लिएको थापाले बताए ।  

डन्डी किलोमा ८ रुपैयाँसम्म महँगियो

माग घटेको भए पनि यसबीच डन्डीको मूल्य भने किलोमा तीनदेखि आठ रुपैयाँसम्म बढेको मानन्धरले जानकारी दिए। केही महिनाअघिसम्म प्रतिकिलो ७० रुपैयाँसम्म झरेको डन्डीको मूल्य अहिले ८० देखि ८७ रुपैयाँ उनले बताए।

पछिल्लो समय डन्डी उत्पादनका लागि भारतबाट आयात हुने कच्चा पदार्थ (एमएस ब्लेड) को मूल्य बढेकाले पनि यसको नेपाली बजारमा डन्डीको भाउ बढेको उत्पादकहरुको भनाइ छ ।

कोरोनाले निर्माण उद्योग शिथिल हुँदा डन्डीको माग १५ प्रतिशत हाराहारीले घटेको बताइएको छ ।

बालुवा र ढुंगाको मूल्य स्थिर

निर्माणमा प्रयोग हुने अर्को निर्माण सामग्री बालुवा र ढुंगाको मूल्य भने कोभिडका बीच पनि स्थिर नै रहेको पाइएको छ । मानन्धरका अनुसार यसको मूल्य प्रतिटिपर २४ देखि २५ हजार रुपैयाँ नै रहेको छ ।

यस्तै, ढुंगा प्रतिटिप्पर अधिकतम २९ हजार रुपैयाँसम्म पर्छ । तर, सिन्धुपाल्चोकको मेलम्चीबाट ल्याइने ढुंगा भने प्रतिटिप्पर नौ हजार रुपैयाँ सस्तो (टिप्परको २० हजार) पर्ने मानन्धरले बताए ।

यी दुवै सामग्रीको मूल्य कोरोना संक्रमणले निर्माण क्षेत्र प्रभावित हुनुअघिकै हो ।