BIZMANDU
www.bizmandu.com

४९० मेगावाटको अरुण-४ आयोजनाको इआईएः शुक्रबारसम्म राय सुझाव दिन सरोकारवालालाई आग्रह

२०७७ मंसिर २

Tata
GBIME
Nepal Life

काठमाडौं। ४९०.२ मेगावाट क्षमताको अरुण-४ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) का लागि यही मंसिर ४ गते शुक्रबारसम्ममा राय सुझाव दिन सरोकारवालासँग आग्रह गरिएको छ।

संखुवासभामा निर्माण हुने उक्त आयोजना भोटखोला गाउँपालिका वडा नम्बर ४ र ५ मा निर्माण हुने छ। आयोजनाको लागि अरुण नदी र लेक्सुवा खोलाको दोभानभन्दा १३० मिटर दक्षिण तथा कपासे र गोला बस्तीभन्दा उत्तरतर्फ १२ मिटर अग्लो बाँध निर्माण गरेर अरुण नदीको पानीलाई २.५५७ किलोमिटर लामो सुरुङमार्गबाट भोटखोला गाउँपालिका-४ को लामीबगरमा रहने भूमिगत डिसेन्डरमा पानी खसालिने छ।

उक्त डिसेन्डरमा पानी फिल्टर गरेपछि उक्त पानीलाई पुनः मकालु गाउँपालिका-३ हुँदै ६.८२४ किलोमिटर लामो सुरुङमार्गबाट सजुवाबेंसीमा रहने भूमिगत विद्युतगृहमा खसालेर ४९०.२ मेगावाट विद्युत उत्पादन गरिने छ। विद्युत उत्पादन गरिसकेपछि उक्त पानीलाई पुनः ४७३ मिटर लामो टेलरेस सुरुङमार्फत अरुण नदीमै खसालिने छ।

मकालु-वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा समेत रहने उक्त आयोजनाको अधिकांश संरचना नदीको दायाँतर्फ प्रस्ताव गरिएको छ। आयोजना निर्माणपछि नदीमा पानीको मात्र कम भइ भोटखोला गाउँपालिकाको वडा नम्बर ४ र ५ तथा मकालु गाउँपालिकको वडा नम्बर ३ र ४ प्रभावित हुने छन्। 

उक्त इआईए तयार पार्ने क्रममा सो क्षेत्रको प्रकृतिक-भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणाली बीच के कस्तो प्रभाव पर्न सक्छ भनी एकिन गर्न सो स्थानका गाउँपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति र संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकाले विद्युत विकास विभागले कात्तिक २९ गते नै सार्वजनिक सूचना प्रकाशित गरेको हो।