BIZMANDU
www.bizmandu.com

पाल्पामा कोरोनाको असरः बिक्री भएनन् ढाका टोपी र झिनियाँ, तिहार मान्नेको आवागमन नै न्यून

२०७७ कात्तिक ३०

पाल्पामा कोरोनाको असरः बिक्री भएनन् ढाका टोपी र झिनियाँ, तिहार मान्नेको आवागमन नै न्यून
पाल्पामा कोरोनाको असरः बिक्री भएनन् ढाका टोपी र झिनियाँ, तिहार मान्नेको आवागमन नै न्यून


रामपुर। कोरोना भाइरस संक्रमणको त्रासको असर पाल्पाका घरेलु उद्योगमा परेको छ। यसपटक पाल्पामा बाहिरबाट तिहार मान्न आउने र कोसेली बोकेर बाहिर जानेको संख्या निकै न्यून छ। 

Tata
GBIME
Nepal Life

यसले गर्दा यहाँ उत्पादित ढाकाका कपडा र झिनियाँ बिक्री भएको चैन। यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको संख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन।      
     
अघिल्ला वर्षमा तिहारका लागि पाल्पाका विभिन्न बजारमा सामान किनमेल गर्नेको निकै घुइँचो हुने गर्दथ्यो । तिहारमा दिदीबहिनीले भाइटीकामा दाजुभाइलाई लगाइदिने ढाकाका टोपी लगायतका विभिन्न उपहार किन्न फेन्सी पसलहरुमा भीडभाड हुन्थ्यो । तिहारका लागि उपहार किन्न आउने ग्राहक यसपटक कम रहेको व्यवसायीहरु बताउँछन्।      

टाढा टाढाबाट बजार आउनेहरू देखिँदैनन्। यसैले ढाका टोपीको किनबेचमा कमी आएको व्यवसायीको गुनासो छ। कोरोनाको कहरले यस वर्ष ढाकाको व्यवसायलाई पनि क्षति पुगेको उनीहरुको भनाइ छ ।     
     
तिहारमा झिनियाँ रोटीलाई विशेष परिकारका रुपमा लिइने गरिन्छ। पछिल्लो समय तिहारमा झिनियाँ रोटीको प्रयोग बढ्न थालेको थियो। यस पटक झिनियाँ व्यवसायमा पनि ह्रास आएको छ । अघिल्ला वर्षको तुलनामा व्यापार घटेको पाल्पा रामपुरका व्यवसायी रुद्रनारायण श्रेष्ठले बताए।     
     
'अघिल्लो वर्षमा ग्राहकहरु तिहारको रौनक शुरु भएपछि झिनियाँ लिन आउँथे, बिक्री गर्न पनि भ्याइनभ्याई हुन्थ्यो, अहिले ग्राहक देखेपछि लैजानुस् न भनेर भन्नुपर्ने अवस्था आएको छ,' उनले भने।  लामो समयदेखि रामपुरमा झिनियाँ व्यवसाय गर्दै आएका उनले पोहोरको तिहारमा मात्रै एक लाख ५० हजार बराबरको झिनियाँ बिक्री गरेका थिए।  

   
चामलको पिठोलाई पकाएर मेसिनको सहायताले बनाएर सुकाएपछि झिनियाँ तयार हुन्छ। यो उद्यमले केही वर्षयता महिलाहरूको आयआर्जन बढेको थियो। घरायसी काम गर्दै झिनियाँ बनाएर आयस्रोत बढाउन सकिने यो व्यवसायमा यसपटक प्रतिकूल असर परेको उद्यमी लक्ष्मी श्रेष्ठले बताइन।

'काम दुःखको होइन, घरमै झिनियाँ बनाएर राम्रैसँग आम्दानी गरिन्थ्यो तर यो वर्ष झिनियाँ व्यापार भएन,' उनले भनिन्। रामपुर क्षेत्रमा उत्पादन हुने झिनियाँ आकारअनुसार प्रतिदर्जन ६० देखि ७० रूपैयाँमा बिक्री हुने गरेको छ।