BIZMANDU
www.bizmandu.com

कोभिडले बेरोजगार १३ पाइलटले थाले बस चलाउन, ए३८० जहाजको ककपिट सम्झँदै बसको स्टेरिङमा ध्यान

२०७७ कात्तिक २८

कोभिडले बेरोजगार १३ पाइलटले थाले बस चलाउन, ए३८० जहाजको ककपिट सम्झँदै बसको स्टेरिङमा ध्यान
कोभिडले बेरोजगार १३ पाइलटले थाले बस चलाउन, ए३८० जहाजको ककपिट सम्झँदै बसको स्टेरिङमा ध्यान



संसारका सबैभन्दा सुरक्षित वायुसेवाहरुमा पर्ने अष्ट्रेलियाको क्वान्टस एयरलाइन्स कोभिड-१९ ले अन्तरराष्ट्रिय ट्राभल उद्योगमा परेको असरबाट नराम्ररी प्रभावित हुँदा यसका हजारौं कर्मचारीहरु यतिबेला बेरोजगार बनेका छन् ।

Tata
GBIME
Nepal Life

क्वान्टसले सयौं पाइलटलाई विभिन्न किसिमले पछिल्लो सात महिनादेखि बिदामा राख्दै आएको छ । यसरी महिनौंदेखि बिदामा बस्दा आर्थिक संकटका साथै मनोवैज्ञानिक रुपमा पनि कमजोर बन्दै जाने भयले यसका १३ जना अनुभवी पाइलटहरुले भने अष्ट्रेलियाका सडकहरुमा सार्वजनिक बस चलाउन थालेका छन् ।

कोरोनाको असर देखिएलगत्तैबाट सीमा बन्द गरेकाले पनि अष्ट्रेलियाली वायुसेवाहरुको व्यावसायमा अन्य मुलुकको भन्दा नराम्रो धक्का लागेको बताइएको छ । सोही क्रममा अष्‍ट्रेलियाली ध्वजावाहक वायुसेवा 'क्वान्टस' ले लामो दूरीका सबै उडानहरु अनिश्चित कालका लागि बन्द गरेको छ ।

अन्तरराष्ट्रिय हवाई यातायात संगठन आईएटीएले पनि अन्तरराष्ट्रिय यात्रा चाँडोमा सन् २०२४ अघि पुनरुत्थान नहुने पछिल्लोपटक संशोधित अनुमान गरेको छ । यसलाई समेत दृष्टिगत गर्दै क्वान्टसले अझै कम्तिमा एक वर्ष (२०२१ जुलाईसम्म) लामो दूरीका कुनैपनि उडान नगर्ने यसका सीईओ सीईओ एलेन जोयसले गत अगष्टमै बताइसकेका छन् । त्यसपछि पनि कम्तिमा अर्को एक वर्षसम्म कोभिडअघिको तुलनामा ५० प्रतिशतभन्दा ज्यादा अकुपेन्सी नहुने उनको भनाइ छ । 

क्वान्टसले अन्तरराष्ट्रिय उडानहरु पुनः सुरु गर्दा ए३८० विमानहरु नउडाएर ए३३० र बोइङ ७८७ जस्ता तुलनात्मक रुपमा साना जहाज उडानमा केन्द्रित हुने जनाएको छ । यस्तै, बोइङ ७४७ का जहाजहरु भने यसले सधैंका लागि बन्द गरेको छ । गत जुलाई २४ मा लस एन्जलस (अमेरिका) बाट सिड्नी (अष्ट्रिलया) को फ्लाइट नै यसको अन्तिमा उडान थियो । 

सोही अनुरुप यसले आफ्ना सबै ए३८० जहाजहरु केही वर्ष नउडाउने गरी अहिले क्यालिफोर्निया (अमेरिका) को मोहाभी मरभूमिमा लामो अवधिका लागि स्टोरेज गरेर राखेको छ । यसले केही बोइङ ७८७ जहाज अष्ट्रेलियामै राखे पनि लामो दूरीको उडानमा क्वान्टसका लागि धेरै वर्ष 'ब्याक बोन' बनेका यो सेरिजका पनि अधिकांश जहाज हाललाई क्यालिफोर्नियाको सोही मरभूमिमा पार्क गरेर राखेको जनाइएको छ । 

लामो अवधिका लागि जहाज स्टोर गरेर राख्नका लागि उपयुक्त ह्युमिडिटी रहेको मानिने क्यालिफोर्नियाको उक्त जहाज भण्डारण स्थलमा क्वान्टसले ए३८० र ७८७ गरी कुल एक सयको हाराहारीमा जहाज राखेको अनुमान छ ।

-कोभिड-१९ ले उडान बन्द भएपछि मोहाभीमा पार्क गरेर राखिएका जहाजहरु

यसरी धेरैजसो जहाज केही वर्षका लागि भण्डार गरेर राख्दै लामो दूरीका उडानहरु अनिश्चित कालका लागि बन्द गरेपछि क्वान्टसले आफ्ना अधिकांस पाइलटहरुलाई छुट्टीमा पठाएको हो । उनीहरुलाई कहिले काममा फिर्ता बोलाउँछ भन्ने पनि अनिश्चित नै रहेको जनाइएको छ ।

काम गरिरहेको वायुसेवा कम्पनीले फिर्ता बोलाउने टुंगो नभएपछि क्वान्टसका पाइलटहरुले आम्दानीका लागि वैकल्पिक बाटो खोज्न थालेका छन् । धेरैजसो कम्पनीले बोलाउनेवित्तिकै जानका लागि तत्पर भएर बस्दा यतिबेला कामबिहिन छन् । तिनैमध्येका १३ जनाले भने आफूलाई एयरबसको पाइलटबाट बसको ड्राइभरमा परिणत गरेका हुन् । 

सिड्नीका सडकमा गुड्ने सार्वजनिक बसको चालक सिटमा भेटिने ती १३ पाइलटमध्ये दुईजनासँग अष्ट्रेलियन टेलिभिजन कार्यक्रम 'द प्रोजेक्ट' ले गरेको कुराकानीले यतिबेला कोभिडका कारण ग्राउन्डिङ भएर बसेका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका कर्मचारीहरुको अवस्था चित्रण गरेको छ । 

यी दुई पाइलटले गरी जेट उडानमा कुल ६२ वर्ष बिताइसकेका छन् । तीमध्ये एकले १२ वर्षअघि डेलिभर गरेको ए३८० जहाज यो सेरिजको पहिलो जहाज थियो । अर्का एकजना क्वान्टसको ए३८० जहाजका पहिलो अफिसर थिए जसले लन्डनबाट पछिल्लोपटक ए३८० जहाज उडाएर ल्याएका थिए । उनको अत्यन्त भावुक हुँदै उक्त उडान नै आफ्नो अन्तिमपटकको जहाज उडान हुनसक्ने बताएका छन् । दुवै पाइलटले केही महिनाअघि मोहाभी मरभूमिसम्म पनि स्टोरेजका लागि क्वान्टस ए३८० उडाएर लगेका थिए ।

'मलाई लाग्छ त्यो पहिलो एयरक्राफ्ट मोहाभी डेजर्टसम्म लिएर जानु सम्भवत सबैभन्दा कठिनमध्येको एउटा कुरा थियो, र सायद त्यो जहाज अब त्यही रहनेछ, फर्किएर आउनेछैन, हामी सबैजना रोयौं,' त्यो अनुभवबारे क्वान्टसका एक पाइलटले भने । 

जहाज पार्क गरेर राखेको मोहाभीको दृष्य उनी यसरी व्यक्त गर्छन्, 'त्यहाँ भिक्टरभिलमा हामीले १० वटा ए३८० जहाज पार्क गरेका छौं । जहाज राखेको ठाउँमा वरिपरि फोहोर छ । हावासँगै बहँदै आएका पातपतिङ्गरले जहाजलाई हिर्काइरहेका छन् । लामो समय राख्दा कतिपय जहाज थोत्रिएको, विभिन्न भाग टुक्रिएर झरेको देख्दा टिठलाग्दो छ । हाम्रा १० जहाजभन्दा परतिर अझ ७०० देखि ८०० वटा जहाजहरु पार्क गरेर राखेको देख्दा तपाईंलाई झन् बिरक्त लाग्नेछ ।'

यो घटनाले आफूहरुलाई बस ड्राइभर बन्ने आजको अवस्थामा ल्याएको उनीहरुले बताएका छन् । क्वान्टसलाई आफ्नै परिवार र एयरलाइन्स करियर भएपनि अहिले पाएको कामलाई अवसर भन्दै यो नगरेको भए घरमै बस्नुपरिरहेको अवस्था बनेको उनीहरुको भनाइ छ । 

जहाज उडाउनु र बस चलाउनुको फरकबारेको प्रश्नमा एक पाइलटले भनेका छन् – पाइलटहरु छोटो समयमात्र जहाज उडाउन ध्यान केन्द्रित गर्छन्, बाँकी समयमा कहिलेकाहीँ ब्रेक लिन्छन् र सिनेमा हेरेर बस्न पनि सक्छन् । तर बस चलाउँदा भने निरन्तर र जहाज चलाउनभन्दा लामो समय एकाग्रता चाहिन्छ । यसरी हाल बस चलाइरहेका एक पाइलटले त अझ क्वान्टसबाट औपचारिक रुपमै रिटायर्ड भए फर्किएर पुन बस ड्राइभिङमै जाने बताए ।