BIZMANDU
www.bizmandu.com

कोभिड-१९ पछि थलिएको सुनचाँदी कारोबार शुक्रबार गुलजार, धनत्रयोदशीका कारण उपभोक्ताको भीड

२०७७ कात्तिक २८

कोभिड-१९ पछि थलिएको सुनचाँदी कारोबार शुक्रबार गुलजार, धनत्रयोदशीका कारण उपभोक्ताको भीड
कोभिड-१९ पछि थलिएको सुनचाँदी कारोबार शुक्रबार गुलजार, धनत्रयोदशीका कारण उपभोक्ताको भीड

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ संक्रमण नियन्त्रणका लागि चैतपछि सुनसान रहेको सुनचाँदी बजार शुक्रबार भने भीडभाड देखिएको छ।

कोभिडका कारण उपभोक्ताको क्रयशक्तिमा आएको ह्रास र मूल्य निरन्तर उकालो लाग्दा सुनचाँदी पसल सुनसान थिए। सात महिनापछि शुक्रबार धनत्रयोदशीका कारण उपभोक्ताको भीड बढेको हो। सुनचाँदी पसल आकर्षक बनाएर सिङ्गारिएका छन्।

शुक्रबार सुनचाँदीको हब मानिएको न्यूरोडमा उपभोक्ताको भीड छ। विशाल बजारमा रहेको गणपति ज्वेलरीका संचालक शक्ति वेगानी लामो समयपछि उपभोक्ताको भीड रहेकाले बोल्ने समेत फुर्सद नभएको बताउँछन्। ‘अहिले उपभोक्ताको भीड भएकाले केही गर्न सकिँदैन,’ शुक्रबार मध्यान्हको समयमा बिजमाण्डूसँग भने।

तिहारमा धनत्रयोदशीदेखि लक्ष्मी पूजाको दिनसम्म सुनचाँदीको उल्लेख्य कारोबार हुने गर्छ। अरू दिन हुने व्यापारभन्दा तिहारमा धनतेरसका दिन कारोबार बढेकै हुन्छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्ष तिहारको समयमा दैनिक ५० केजी सुन र ५ सयदेखि एक हजार केजीसम्म चाँदीका गरगहना बिक्री भएको थियो।

यो वर्ष व्यापार केही घट्ने संकेत देखिएको भए पनि निराश नै हुनुपर्ने स्थिति नआउने अपेक्षा गरिएको महासंघका सहसचिव धर्मराज बज्राचार्यले बताए। 'चाँदी १ हजारदेखि २ हजार केजीसम्म बिक्री हुने अनुमान छ,' उनले भने, 'पोहोर परार जस्तो व्यापार नहोला तर कारोबारै हुँदैन भन्ने होइन। अगाडि नै अर्डर दिन नपाएकाले तयारी गहना, सिक्का, मूर्ति र पूजाका सामान किनेर लान्छन्।'

शुक्रबार बिहानदेखि बजारको चहलपहल हेर्दा व्यवसायीहरुले पोहोरका तुलनामा २५ देखि ५० प्रतिशतले कारोबार हुने अनुमान गरेको उनले बताए। तिहारको समयमा मात्र एक जना सुनचाँदी व्यवसायीले सरदर १० केजीदेखि २० केजीसम्म चाँदी बिक्री गर्ने गरेका छन्।

पछिल्लो समय महंगिएपछि सुनचाँदी खरिदबिक्रीमा सर्वसाधारणको आकर्षण केही कम भएको जस्तो देखिएको व्यवसायीहरुले बताएका छन्।तिहार अघिसम्म कारोबार न्यून थियो। व्यापार नभएकाले यो पाली १० प्रतिशतमात्र तयारी गरेको पन्चकन्या ज्वेलर्सका संचालक सुजन श्रेष्ठले बताए। 'हामीले हेर्ने प्रि-अर्डर हो, योपल्ट पहिल्यै अर्डर गर्ने ग्राहक निकै कम छन्,' उनले भने, 'हामीले पोहोर परारसम्म तिहारमा बढीमा २० केजीसम्म चाँदीका सामान बेच्दै आएको अनुभव छ। योपल्ट धेरै कारोबार नहोला की जस्तो लागेको छ।'

धनतेरसलाई लक्ष्य गर्दै योपटक विशेष तयारी नभएको ओम गोल्ड हाउसकी कर्मचारी सिर्जना तामाङले बताइन। 'पहिले भन्दा ३० प्रतिशतमात्र कारोबार भइरहेको छ,' उनले भनिन्, 'पोहोर जस्तो ग्राहकको अर्डर आएको छैन।' यो समयमा चाँदीको बिक्री बढी हुने गरेको उनले बताइन।

कारोबार हुन्छ भन्ने अनुमानले कम तयारी गरेको पन्चकन्या ज्वर्लसका संचालक पारस अग्रवालले बताए। 'यो वर्ष अर्डर त्यति नभएकाले के होला भन्ने कुनै अनुमान छैन,' उनले भने। आनन्द ज्वेलर्सको पनि उस्तै अवस्था छ।

धनत्रयोदशीमा धातुको सामान किन किनिन्छ?

धनत्रयोदशीमा द्रब्य जोडेमा लक्ष्मी प्रसन्न हुने धार्मिक विश्वासका कारण आर्थिक संकटका बेला पनि सुनचाँदी पसलमा सर्वसाधारणको भीड लागेको हो। कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात् धनत्रयोदशीमा द्रब्य जोड्नुलाई 'शुभ' मानिन्छ।

धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न धनतेरस (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ। यही जनविश्वासका कारण सुनचाँदी कारोबार राम्रो हुन्छ।

धनत्रयोदशीका लागि गच्छे अनुसारको काँशको भाडाकुँडा किन्छन्। परापूर्व कालदेखि चल्दै आएको मान्यतालाई पच्छ्याउँदै उनीहरुले धातुका सामान भित्र्याएका हुन्। समुन्द्र मन्थनका बेला निस्किएको अमृत धनवन्तरीले बोकेका थिए। त्यो अमृत थाप्नका लागि भाडाकुँडा लिएर जाने चलन चलेको धार्मिक मान्यता छ।

धनत्रयोदशीका दिन धातुका सामान किन्ने चलन छ। इलेक्ट्रोनिक्स र भान्साका लागि चाहिएका धातुका सामान पनि धेरैले यही दिन पारेर घरमा भित्र्याउँछन्। धनत्रयोदशीको पूजा साँझ सुर्यास्तबाट सुरु हुन्छ।