BIZMANDU
www.bizmandu.com

एन्टको वर्ल्ड रेकर्ड आईपीओअघि ज्याक मालाई नियामकको चेतावनी,के होला ३७ अर्ब डलरको आईपीओ ?

२०७७ कात्तिक १८

एन्टको वर्ल्ड रेकर्ड आईपीओअघि ज्याक मालाई नियामकको चेतावनी,के होला ३७ अर्ब डलरको आईपीओ ?
एन्टको वर्ल्ड रेकर्ड आईपीओअघि ज्याक मालाई नियामकको चेतावनी,के होला ३७ अर्ब डलरको आईपीओ ?

चिनियाँ फिनटेक जायन्ट एन्ट ग्रूप ३७ अर्ब अमेरिकी डलर बराबरको विश्वकै सबैभन्दा ठूलो प्राथमिक सेयर निष्कासन गरेर आउँदो बिहीबारदेखि त्यसको कारोबार थाल्ने तयारीमा छ । 

Tata
GBIME
Nepal Life

हङकङ र शाङहाई दुवै स्टक एक्सचेन्जमा एकसाथ सूचीकृत गरेर उक्त सेयरको कारोबार सुरु गर्ने योजनामा रहेको एन्ट ग्रुपमाथि मुख्य नियन्त्रण राख्ने ज्याक मालाई त्यसअघि नै चिनियाँ नियामक निकायहरुले सोधपुछका लागि बेइजिङ बोलाएका छन् । 

पिपुल्स बैंक अफ चाइना (पीबीओसी) र अन्य तीन चिनियाँ नियामकहरुले मासहित कम्पनीका अन्य दुई कार्यकारी ओहदामा रहेका व्यक्तिहरुलाई बोलाएको जनाएका हुन् ।

पीबीओसी, चाइना बैंकिङ एन्ड इन्स्योरेन्स रेगुलेटरी कमिशन, सेक्युरिटिज रेगुलेटरी कमिशन र स्टेट एडमिनिष्ट्रेशन अफ फरेन एक्सचेन्जले सोमबार जारी गरेको संक्षिप्त वक्तव्यमा 'एन्ट ग्रुपका वास्तविक नियन्त्रक ज्याक मा, अध्यक्ष इरिक जिङ र प्रमुख कार्यकारी सिमोन हुसँग नियमनसम्बन्धी अन्तर्वार्ता गरेको' बताएका छन् ।

उक्त चार नियामकहरुले यस विषयमा थप विवरण उपलब्ध गराएका छैनन् । तर यसलाई नियामक अधिकारीहरुले एन्टका कार्यकारीहरुसँग कडा प्रष्टिकरणका लागि गरेको प्रश्नोत्तरका रूपमा बताएका छन् । 

एन्टको तीव्र विस्तारको  महत्त्वाका‌ंक्षाले नियमनकारी जोखिम बढाएकाले यसमाथि चिनियाँ फिनटेक जायन्टले नियामकको नियन्त्रणका साथै केही प्रतिबन्धको सामान गर्नुपर्ने अवस्था आउने  चेतावनी मासहितका उच्च कार्यकारीलाई दिइएको जानकारहरुको हवाला दिँदै ब्लुमबर्गले लेखेको छ । 

'कम्पनीले विस्तार प्रतिबन्ध र बैंकसरह पुँजी र लाभमा अ‌ंकुशको सामना गर्नुपर्ने हुनसक्नेमा एन्टको नेतृत्व टिमलाई नियामकहरुले सचेत गराएका छन्,' स्रोतलाई उद्दृत गर्दै ब्लुमबर्गले लेखेको छ ।

एन्टले गत गृष्ममा सार्वजनिक निष्कासनमा जाने निर्णय गरेलगत्तै कम्पनीका दुई सिनियर अधिकारीहरुले पीबीओसीबाट यसका लागि नियमनकारी मुद्दामा कुनै पनि किसिमको समस्या नहुने आश्वासन पाइसकेको बताएका थिए । 

तर यो गत महिना ज्याक माले शाङहाईमा नियामकहरुको आलोचना गर्दै भाषण दिनुभन्दा अघिको कुरा थियो । यसैले अहिले नियामकहरुले मा र उनको टिमका कार्यकारी दुई व्यक्तिलाई बोलाएर सोधपुछ गर्नुलाई ३७ अर्ब डलरको आईपीओसँग जोडेर अर्थपूर्ण तरिकाले हेरिएको छ ।

एन्टको आईपीओको मूल्य बढाएर निर्धारण गरेसँगै विवाद उत्पन्न भएपछि शाङहाईमा एक महिनाअघि माले चीन र बाहिर (अन्य मुलुक) का समेत नियामकहरुको आलोचना गर्नुका साथै चिनियाँ बैंकरहरुप्रति पनि कडा प्रतिक्रिया दिएका थिए ।

'चीनमा कुनैपनि किसिमको प्रणालीगत वित्तीय जोखिम (समस्या) छैन, चीनको वित्त व्यवस्थामा आधारभूत रूपमा जोखिम छैन, बरु जोखिम त प्रणालीको अभावका कारण छ,' माले भनेका थिए, 'आज पनि बैंकहरु सुदखोर पसल जस्तो मानसिकताबाट संचालन भइरहेका छन्, धितो र जमानत खोज्नु भनेको परम्परागत साहुको पसलजस्तै हो…चीनको वित्तीय सुदखोर मानसिकता सबैभन्दा गम्भीर छ ।'

हालैका वर्षहरुमा वित्तीय जोखिममाथि चीनका नियामकहरुको कारबाहीले एन्टलाई कयौंपटक आफ्नो बिजनेस मोडेल परिवर्तन गर्न बाध्य पारेको थियो ।

यसको प्रभुत्वका लागि पछिल्लो चुनौती केन्द्रीय बैंकले डिजिटल मुद्राका सम्बन्धमा ल्याएको नयाँ नियम हो, जुन पीबीओसीले बैंकहरु र एन्ट तथा टेनसेन्टबीच प्रतिस्पर्धाको समान तह बनाउनका लागि गरेको प्रयास भएको यससँग जानकारहरुले बताएका छन् ।

'सुपेरिवेक्षण र नियमन दुई फरक विषय हुन्,' माले भाषणका दौरान थप भनेका थिए, 'के भइरहेको छ भन्ने हेर्ने र त्यसबाट हुने विकासक्रममा ध्यान पुर्‍याउने सुपरिवेक्षण हो, जबकि नियमन भनेको जहाँ समस्या उत्पन्न हुन्छ त्यसलाई व्यवस्थापन गर्ने हो । अहिले हामी नियमनमा बलियो छौं तर सुपरिवेक्षण क्षमता कमजोर छ ।' 

एन्टका एक प्रवक्ताले भने- ''आज (सोमबार), एन्ट ग्रुपका प्रमुख सेयररधनी, कार्यकारी अध्यक्ष र सीईओले यसका नियामक निकायहरुसँग मुख्य एउटा सुपरभाइजरी मिटिङमा भाग लिए । मिटिङका निचोडहरुलाई एन्ट ग्रुपले गहिरोसँग पालना गर्नेछ र हाम्रो समावेशी सेवाको क्षमतामा सुधार र अर्थतन्त्र र जनताको जीविकाको विकासमा सहायताका लागि 'स्थिर नवप्रवर्तन, सुपेरिवेक्षणको पालना, वास्तविक अर्थतन्त्रका लागि सेवा दिने र सामुहिक हितका लागि खुलापन' को दिशानिर्देश पछ्याउने क्रम जारी राख्नेछ ।''

एन्टले आईपीओको मूल्य निर्धारका क्रममा शाङ्हाई र हङकङ दुवै स्टक एक्सचेन्जमा गरी कुल ३४.४६ अर्ब अमेरिकी डलरको प्राथमिक सेयर बिक्री गर्ने योजना बनाएको थियो । तर यसको आईपीओको अत्याधिक माग भएपछि मासहित कम्पनीका मुख्य लगानीकर्ताहरुले थप साढे दुई अर्ब डलर हाराहारीको गरी कुल ३७ अर्ब डलरको सेयर जारीका लागि सहमति जनाइसकेका छन् । 

गत बिहीबार कम्पनीका बैंकरहरुले रिटेल बिडपश्चात मूल्य बढाएपछि भएको डिलले एन्ट ग्रुपको मूल्यांकन करीब ३१६ अर्ब डलर भएको छ । यसअघि आईपीओको सुरुआती मूल्य तय हुँदा कम्पनीको मूल्यांकन ३१३ अर्ब डलर रहेको थियो ।