BIZMANDU
www.bizmandu.com

कोभिडले रोकेन महिन्द्रा बोलेरोको बिक्री, माग बढेपछि आपूर्ति गर्ननै हम्मेहम्मे


कोभिडले रोकेन महिन्द्रा बोलेरोको बिक्री, माग बढेपछि आपूर्ति गर्ननै हम्मेहम्मे
कोभिडले रोकेन महिन्द्रा बोलेरोको बिक्री, माग बढेपछि आपूर्ति गर्ननै हम्मेहम्मे

Tata
GBIME
Nepal Life

काठमाडौं। असोजमा महिन्द्राको बोलेरो पिकअप ह्वात्तै बढेका कारण आपूर्ति(सप्लाई) गर्न नै हम्मेहम्मे परेको छ।

उपभोक्ताको माग उच्च भएका कारण महिन्द्राको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेडलाई बोलेरो गाडी आपूर्ति गर्न हम्मेहम्मे परेको हो। उच्च मागकै कारण कम्पनीले असोज महिनामा मात्रै तीन सय बोलेरो पिकअप बिक्री गरेको छ भने केही ग्राहकले गाडी किन्न एक महिना नै कुर्नु    परेको छ। नेपालमा पिकअप सेग्मेन्टमा महिन्द्राको बोलेरो अग्रणी छ।

कम्पनीका महाप्रबन्धक वरदान बस्नेतका अनुसार भदौ र असोजको डिमान्ड एकैपटक आउँदा आपूर्तिमा चाप परेको छ। ‘भदौदेखि नयाँ गाडी किन्ने सिजन हो। तर बन्दाबन्दीका कारण भदौमा खरिद गर्न चाहेका उपभोक्ता समेत असोजमा आए। त्यही भएर आपूर्तिमा चाप परेको हो,’ उनले बिजमाण्डूसँग भने।

उनका अनुसार कोभिडपछि वैदेशिक रोजगारीबाट फर्किएकाले किनेकाले समेत माग बढेको हो। ‘कोभिडपछि वैदेशिक रोजगारीबाट फर्किएका स्वरोजगार बन्न चाहनेले किनेकाले माग बढेको हाम्रो अनुमान छ,’ बस्नेतले भने, ‘बैंकले समेत सस्तो ब्याजमा ऋण दिएकाले गाडी किन्न पनि सहज भयो।’ बोलेरोको माग ग्रामीण क्षेत्रमा बढी छ।

अग्निले सेल्स र सर्भिसलाई समेत मजबुत बनाएको छ जसले बिक्री समेत बढ्दो क्रममा छ। नयाँ ट्रयाक खुल्नेबित्तिकै त्यहाँ हुने सामान ढुवानी र यात्रु ओसारपसारका लागि बोलेरो नै प्रयोग हुने गर्छ।

पहाडी क्षेत्रमा जहाँ ठूला बस संचालन हुन सक्दैनन्, ती क्षेत्रमा डबल क्याब पिकअपमा यात्रुसँगै विभिन्न कृषि उपज, दूध लगायतका सामाग्री बोक्न उपयोग गरिन्छ। विशेष गरेर मध्यपहाडी राजमार्गलाई केन्द्रमा राखेर सञ्चालन हुने सहायक सडकमा यस्ता गाडीको माग बढी छ।

ती ठाउँमा पनि यस्ता गाडी स्वरोजगार हुनेले खरिद गर्ने गरेका छन्। पहिले अर्काका बस, जीपको चालकको काम गरेकाहरू अलिकति पैसा कमाए वित्तीय स्रोत जुटाएर आफैं गाडी खरिद गर्छन्। गाडीले आफ्नै घरगोठको काम गर्छ, खेतीकिसानी गर्दा मलदेखि अन्नसम्म ढुवानी गर्ने गरी कृषिमा उपयोग हुन्छ। पहाडमा डबल क्याब पिकअप किन्ने धेरैजसो स्वरोजगार मजदुर छन्।

बन्दाबन्दी खुला भएपछि नेपालमा मात्रै होइन भारतमा समेत माग बढ्न थालेको छ। त्यसका कारण समेत आपूर्तिमा केही समस्या भएको हो। काठमाडौं मात्रै होइन विभिन्न क्षेत्रमा बोलेरो गाडीको बिक्री उच्च छ। अग्निको ओखलढुंगास्थित रुम्जाटार अटोमोबाइलमा दैनिक तीन वटा बोलेरो बिक्री भइरहेको छ। ‘चाडबाडमा गाडीको माग आउनु स्वभाविक हो। तर कोरोनाको यस्तो असहज अवस्थामा समेत हामीले १५ वटा बोलेरो पिकअप बिक्री गर्‍यौं। माग बढ्दै गएकाले आपूर्ति गर्न कठिन भइरहेको छ,’ कम्पनीका प्रबन्ध निर्देशक जन घलेले बताए। उनका अनुसार कतिपय ग्राहकले काठमाडौंनै पुगेर गाडी किनिरहेका छन्।

ओखलढुंगा, दिक्तेल, सोलुखुम्बु लगायत क्षेत्रमा बोलेरो पिकअपको माग सोचे भन्दा बढी छ। 'यो सेगमेन्टको गाडी भनेकै अफरोड प्रयोजनका लागि हो। यसको पावर, भारवहन क्षमता लगायत अफ रोडलाई लक्षित गरेरै बनाइएको हुन्छ। नयाँ ट्रयाक खुले लगत्तै यातायातको माध्यम भनेकै बोलेरो बनेको छ,’ उनले भने। कोभिडपछि गाउँ फर्क अभियानसँगै व्यवसायिक कृषि बढ्न थालेकाले माग बढेको पोखरास्थित महिन्द्राको बिक्रेता बतास ब्रदर्सले जनाएको छ। यो कम्पनीले मात्रै दसैंको बेलामा ६० वटा बोलेरो बेचेको छ।

'कोभिड-१९का कारण कतिपय उद्योगहरुले  ५० प्रतिशत क्षमतामा चलेका छन्। सबैतिर समस्या भइरहेका बेला बोलेरोको माग यसरी आउला भन्ने हामीले सोचेका पनि थिएनौं,' कम्पनीका सहायक बिक्री प्रबन्धक किशोर शर्माले भने।

नयाँ रोड ट्रयाक खुलेसँगै तरकारी ढुवानी, दुग्धजन्य सामाग्री ढुवानी,यात्रु ओसारपसारका लागि उपयोगी मानिएका कारण महिन्द्रा बोलेरो डबल क्याबको माग उल्लेख्य रहेको बताउँदै उनले भने, 'ठाउँ ठाउँमा नयाँ ट्रयाक खुलेका छन्। यसैगरी कृषि क्षेत्रमा लगानी गर्नका लागि सरकारले पनि वित्तीय सहयोग गर्दै आएको छ। नयाँ अफरोड ट्रयाकमा समान ढुवानीदेखि यात्रु ओसारपसारका लागि बोलेरो पिकअप नै उपयोगी मानिएकाले बिक्री बढेको हो।' कम्पनीका अनुसार बोलेरो पिकअपमा १२ सय ५० किलो देखि १५ सय किलोसम्म तौल बोक्ने क्षमता छ।