काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन्।
उनले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकाले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवर्द्धनमार्फत् देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको बताएका हुन्।
सोमबार काठमाडौंमा उनको टीमका पदाधिकारीसहितका उम्मेदवारहरुसँगको अन्तरक्रियामा उनले भने 'कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं र अझै हामीलाई केकस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन। त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाएर राख्न र संरक्षण प्रदान गर्न पनि हामीलाई बलियो काँध चाहिएको छ।'
सोमबार नै वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार किशोर प्रधान समूहले आगामी नेतृत्वका लागि मनोनयन दर्ता गराएको छ। ढकाल समूहले यसअघि नै मनोनयन दर्ता गराइसकेको छ।
महासंघको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा महासंघको गौरवपूर्ण इतिहास र ओज कायमै रहने बताउँदै उनले महासंघको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्नेमा जोड दिए।
आफ्नो समूह अबका सबै चुनौतीको सामना गर्न सक्षम रहेको बताउँदै उनले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति रहेकाले महासंघको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने बताए।
उनले कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्ने व्यक्तिगत पहल मात्रै पर्याप्त नहुने बताउँदै त्यसका लागि महासंघको नेतृत्वमा सही र सक्षम व्यक्तिहरु चयन गर्ने उपयुक्त अवसर आएको बताए।