BIZMANDU
www.bizmandu.com

कोभिडले बिदापछिको बजार बारे फेरियो विश्लेषण: तिहार अघिसम्म १०० अंकमाथि जाने अनुमान

२०७७ कात्तिक १२

कोभिडले बिदापछिको बजार बारे फेरियो विश्लेषण: तिहार अघिसम्म १०० अंकमाथि जाने अनुमान
कोभिडले बिदापछिको बजार बारे फेरियो विश्लेषण: तिहार अघिसम्म १०० अंकमाथि जाने अनुमान


Tata
GBIME
Nepal Life

काठमाडौं। दसैं बिदापछिको बजारका बारेमा सेयर ब्रोकरहरुको विश्लेषण फेरिएको छ। 

बिदा सकिएर  खुलेको बजार सामान्यतया सुस्त हुने गर्थ्यो। सूचक नघटे पनि धेरै बढ्दैनथ्यो। दसैं खर्चबाट जोगिएको रकम सेयर बजारमा लगानी भएर कारोबार सामान्य बढ्थ्यो भन्ने ब्रोकरहरुको विगतको अनुभव हो।

यसपाली ब्रोकरहरुले सेयर बजारको सूचकमा भन्दा कारोबार रकमका बारेमा विश्लेषण गर्न थालेका छन्। उनीहरुका अनुसार, बिदाअघि बिस्तारै घट्दै गएको कारोबार रकम अब भने बढ्छ। 

दसैं बिदा सुरु हुनु अघिल्लो दिन लगभग २ अर्बको कारोबार भए पनि त्यसअघि निरन्तर घटेर एक अर्बभन्दा तल आइसकेको थियो। अब अन्तिम दिनको लयलाई समातेर बजारमा कारोबार बढ्ने छ।

'यसपाली मान्छेले धेरै खर्च पनि गरेको देखिएन। चाडबाड मान्न टाढा टाढा गएको पनि देखिएन,' एक ब्रोकरले भने, 'खर्च कम भएपछि स्वभाविक रूपमा त्यो पैसा सेयरमै लगानी हुने हो। यसले कारोबार रकम बढाउँछ।'

उनका अनुसार, कारोबार रकम बढ्नुको अर्थ हो, सूचकमा पनि सुधार हुन्छ। उनले अझ प्रस्ट्याउँदै भने, 'दसैं बिदाअघि १६ सय अंकमाथि पुगेको बजार तिहार बिदा सुरु हुनुअघि कम्तिमा पनि १०० अंकले बढेर १७ सय अंकमाथि पुग्ने देखिन्छ।'

अर्का ब्रोकरका अनुसार, बजारमा अनलाइन कारोबारीहरुको बोलबाला निकै बढेको छ। ब्रोकरले पनि अनलाइन मात्र 'इन्टरटेन' गर्ने बताएका छन्। चाडबाड मान्न गएकाहरुले पनि सजिलै कारोबार गर्न सक्छन्। काठमाडौं धाइरहनु पर्दैन। यसले गर्दा पनि कारोबार रकम बढ्ने छ।

पोहोर परार ब्रोकरहरु पनि दसैं मानेर कुनबेला काठमाडौं फर्किने भन्ने चटारोमा हुन्थे। यसपाली त्यस्तो केही छैन। अनलाइनले गर्दा उनीहरु जहाँसुकै बसेर कारोबार गराउन सक्षम भएका छन्।

'म अहिले पोखरामा छु। मेरो शाखा कार्यालय यहाँ पनि छ। पहिले पहिले बजार खुल्ने भएपछि हतारहतार काठमाडौं फर्किनु पर्ने हुन्थ्यो। यसपाली त्यस्तो छैन,' ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले भने, 'अनलाइनबाट कारोबार भइहाल्छ। भुक्तानी पनि त्यसरी नै हुन्छ। त्यसैले हतार गरिएन। यसको अर्थ हो लगानीकर्ता जो जहाँ छन् त्यहीँबाट कारोबार गर्न सक्षम छन्। त्यसैले भोल्युममा कमी आउँदैन जस्तो लाग्छ।'

ब्रोकरको अनुभवमा, पहिले पहिले दसैं बिदा सकिएपछि पनि मान्छे 'फेस्टिभ मुड' मै हुन्थे। काठमाडौं फर्किन समय लगाउन सक्थे। यसपाली धेरैले काठमाडौं छाडेनन्। छाडेर गएकाहरु पनि उतैबाट कारोबार गर्न सक्ने अवस्थामा छन्। 

'कारोबारमा समस्या नहुने भएपछि कारोबार रकम बढ्नु स्वभाविक हो,' रानाभाटले भने, 'सूचक भन्ने कुरा त माग र आपूर्तिले निर्धारण गर्ने कुरा भयो।'

तर, बजार बढ्दो क्रममा रहेकाले सूचक उक्लिनेमा ब्रोकरहरु विश्वस्त देखिन्छन्। किनभने, यसपाली जसरी कोभिडका कारण वासलात बिग्रिन्छ र लाभांश आउँदैन भन्ने थियो, त्यो अवस्था देखिएन। लाभांश केही घटे पनि साधारणसभा घोषणा गरेका अधिकांशले लाभांश दिने भएका छन्। लाभांशमा पनि नगद भन्दा बोनस सेयर दिन चाहेका छन्। अझै धेरै कम्पनीले लाभांश घोषणा गर्न बाँकी छ। 

'यसले गर्दा पनि तिहार बिदाअघि सूचक एक सय अंकमाथि जान्छ भन्ने देखिन्छ,' अर्का एक ब्रोकरले भने, 'अन्य क्षेत्रमा अझै पनि लगानी गर्ने अवस्था छैन। त्यसो हुँदा सेयरमै पैसा आउने भएकाले सूचक माथि जान्छ नै।'