BIZMANDU
www.bizmandu.com

१८ महिनादेखि कोमामा रहेको जेट एयरवेजलाई ब्युँताइदै, यूएईका उद्योगी मुरारीलाल जालानको इन्ट्री

२०७७ कात्तिक ९

Tata
GBIME
Nepal Life

काठमाडौं। १८ महिनादेखि कोमामा रहेको भारतको जायन्ट वायुसेवा कम्पनी जेट एयरवेज पुनः संचालनमा आउने भएको छ। लण्डनको वित्तीय संस्था कालरक क्यापिटल र यूएईका व्यवसायी मुरारीलाल जालानले जेट एयरवेजको स्वामित्व लिएपछि फेरि सेवा सञ्चालन गर्ने अवस्था बनेको हो। 

यस अघि यो वायुसेवा कम्पनी खर्बपति व्यवसायी नरेश गोयल र इतेहाद एरवेजको स्वामित्वमा थियो। भारी ऋण थेक्नै नसकेका कारण यो कम्पनी १८ महिनादेखि बन्द छ। कम्पनी पुनरूत्थानका लागि जालान र फ्लोरियन फ्रिचले पेश गरेको व्यवसायिक रणनीतिलाई सिओसी (कमिटी अफ क्रेडिटर्स) ले पक्का गरिसकेको छ। 

सञ्चालनमा रहँदा जेट एयरवेजसँग १२० वटा विमान थिए। कतिब ६ सय गन्तव्यमा उडान गर्थ्यो । १६ हजार कर्मचारी थिए। आर्थिक संकटमा फसेपछि कम्पनीले बैंकहरूसँग गुहार लगाएको थियो । तर कसैले नपत्याउँदा कम्पनी बन्द भएको थियो। नरेश गोयलले स्थापना गरेको कम्पनीले गुहार लगाएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बैंकहरूलाई सहयोग गर्न आग्रह गरेका थिए। तैपनि ऋण जुटेको थिएन। 

कम्पनीका लागि नयाँ लगानीकर्ताको खोजी भइरहँदा १२ वटा कम्पनीले चासो देखाएका थिए। अन्ततः जालानको कम्पनीसँग सौदाबाजी मिलेको हो। युनाइटेड अरब इमिरेट्सका जालानको साझेदारी समूहले जेट एयरवेजको स्वामित्व लिएको हो। जेट एयरवेजलाई कर्जा दिँदै आएको कमिटी अफ क्रेडिटर्स (सिओसी )ले जालान समूहलाई स्वामित्व लिने पुष्टि गरेको छ। इ-भोटिङका आधारमा जालान र फ्लफरियन फ्रिट्चको रिजोलुसन प्लानलाई गत साता मान्यता दिइएको थियो। १७ अक्टुबरमा योजना स्वीकृत भएपछि जालानको समूह अब जेट एयरवेजलाई पुनः सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ।   

यूएईका उद्योगी जालान एमजे डेभलपर्स कम्पनीका मालिक हुन्। सुरुमा जेके पेपर र बल्लापुर इण्डस्ट्रिजमार्फत कागज आपूर्तिको  व्यवसाय सुरु गरेको उनको व्यवसायिक घरानाले रियल स्टेट, माइनिङ, ट्रेडिङ, कन्स्ट्रक्सन, एमएफसिजी, टुर एण्ड ट्राभल कम्पनी लगायत क्षेत्रमा लगानी गर्दै आएको छ। 

जालानका कम्पनीलेे यूएई, भारत, उज्बेकिस्तान लगायत विभिन्न मुलुकमा लगानी गर्दै आएको छ। यतिखेर उनको कम्पनीले उज्वेकिस्तानमा कमर्सियल प्रोजेक्ट निर्माण गरिरहेको छ। स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेका जालानका लागि उड्डयन क्षेत्र भने विशुद्ध नौलो छ। कलरक क्यापिटलले लण्डनस्थित फाइनेन्सियल एडभाइजरी र अल्टरनेटिभ एसेट मेनेजमेन्टसँग सम्बन्धित कारोबार गर्दै आएको छ।

मुख्यतः रियल इस्टेट र भेन्चर क्यापिटलसँग जोडिएको यो कम्पनीका अनुसार करिब दई दशक अगाडिदेखि अलटनेटिभ एसेट क्लासमाइन्भेष्टर र को-इन्भेष्टरको सिन्डिकेटका रूपमा लगानी गर्दै आएको छ। 

टेस्लाको शुभारम्भदेखि नै जोडिएको कम्पनीले अल माइ होम, वियोण्ड लिमिट्स, बायो टेष्ट, डेलिभरी हिरो लगायत कम्पनीमा पनि लगानी गरेको छ।

जेट एयरवेजमा हालै इन्ट्री मारेका जालानलाई कम्पनी पुनरुत्थानका लागि कोभिड-१९ संकटको प्रभाव नपर्ने कलरक क्यापिटलका बोर्ड मेम्बर मोज मदनानी बताउँछन्। कोभिड नियन्त्रण भएसँगै जेट एयरवेज उड्डयन जगतमै आक्रामक रूपमा प्रस्तुत हुने उनको दाबी छ। 'जेट एयरवेजलाई फुल सर्भिस अन्तर्गत संचालनमा ल्याउनेछौं। सुरुवाती चरणमा आन्तरिक उडान सेवा बाट सुरु गर्नेछौं। स्लट पाए लगत्तै अन्तर्राष्ट्रिय उडान पनि छिटै थाल्ने योजना छ,' मदनानीले भनेका छन्।