BIZMANDU
www.bizmandu.com

शुक्रबार मध्यरातबाट रोकिए टिभीमा यी चर्चित च्यानल, कम्तिमा २५% महँगिँदै टिभी हेराइ

२०७७ कात्तिक ७

शुक्रबार मध्यरातबाट रोकिए टिभीमा यी चर्चित च्यानल, कम्तिमा २५% महँगिँदै टिभी हेराइ
शुक्रबार मध्यरातबाट रोकिए टिभीमा यी चर्चित च्यानल, कम्तिमा २५% महँगिँदै टिभी हेराइ


काठमाडौं। सरकारले शुक्रबार राती १२ बजेबाट विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने नियम लागु गरेको छ। यससँगै मध्यरातबाट स्थानीय भाषामा विज्ञापन नबनेसम्म नेपालमा प्रसारण हुने विदेशी च्यानलहरु विज्ञापनरहित हुँदैछन्। 

Tata
GBIME
Nepal Life

यसका लागि सरकारले केबल तथा सेटेलाइट अपरेटरहरुलाई निर्देशन समेत दिइसकेको छ । अक्टोबर २४ (कात्तिक ८) बाट अनिवार्य क्लिन फिड लागु गर्न सरकारले निर्देशन दिएको केबल तथा सेटेलाइट अपरेटरहरुले बताएका छन्। 

सरकारले क्लिनफिड कडाइका साथ लागु गर्दै पालना नगर्नेलाई कारबाहीको संकेत दिएपछि केबल तथा सेटेलाइट टेलिभिजन अपरेटरहरुले क्लिन फिड लागु भएबाहेकका अन्य च्यानलहरुको प्रसारण बन्द गर्ने बताएका छन्। ‘भोलिबाट क्लिन फिड लागु नभएका च्यानल हामीले प्रसारण बन्द गर्दैछौं,’ डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने। 

नेपालमा प्रसारण हुने धेरैजसो विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग छ । तर नेपालमा प्रसारण हुने सीमित विदेशी च्यानलहरु मात्र क्लिन फिडमा उपलब्ध छन् । 

यसैले यो कार्यान्वयनमा आउँदा कात्तिक ७ को मध्यरातपछि भने थुप्रै चर्चित विदेशी च्यानलहरुको प्रसारण रोकिने भएको छ। अर्थात् हामीले टेलिभिजनमा हेर्दै आएका लोकप्रिय च्यानलहरु पनि विज्ञापनरहित भएर नेपाली अपरेटरहरुले प्राप्त नगरेसम्म नेपालमा अब प्रसारण हुने छैन।

यसरी आज मध्यरातबाटै नेपालमा थुप्रै अन्तर्राष्ट्रिय च्यानलहरु नेपालमा नचल्ने निर्णय गर्दै सरकारले कार्यान्वयनमा ल्याएसँगै केबल अपरेटरहरुले भने एकैचोटी भन्दा क्रमबद्ध ढंगले क्लिन फिड लागु हुनुपर्ने माग राख्दै आएका थिए। 

हालसम्म भारतीय टेलिभिजन नेटवर्क 'जी' र 'सोनी'को प्याकेजअन्तर्गतका च्यानलहरु मात्र विज्ञापनरहित कन्टेन्टमा आएको सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले बताए। 'यी दुईको प्याकेजमा भएका बाहेक अन्य कुनै पनि च्यानल अहिलेसम्म विज्ञापनरहित कन्टेन्टमा आएको छैन,' उनले भने ।

सोनीको प्याकेजमा सोनी इन्टरटेनमेन्ट, सोनी सब, सोनी म्याक्स, सोनी सिक्स, सोनी टेन लगायत च्यानल छन्। यस्तै, जी नेटवर्कअन्तर्गत जी टिभी, जी न्यूज, जी सिनेमा,  & पिक्चर्स, जीङ, जी क्याफे, जी क्लासिक, जी एक्सन लगायतका च्यानलहरु छन् । यी दुई टेलिभिजन नेटवर्क अन्तर्गतका सीमित च्यानलहरु मात्र विज्ञापनरहित प्रसारण हुने अवस्थामा रहेको पराजुलीले बताए। 

यस्तै स्टार, डिस्कभरी, बीबीसी, सीएनएन, कलर्सलगायतका नेपालमा चर्चित च्यानलहरु पनि तत्काल विज्ञापनरहित भएर आउने पक्का नभएको डिसहोमका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए। अर्थात् नेपालमा भोलिबाटै तपाईंले टेलिभिजनमा यी च्यानल हेर्न पाउनुहुने छैन। 

यसको अर्थ 'स्टार' को प्याकेज अन्तर्गतका कुनै पनि च्यानल नेपालमा विज्ञापनरहित भएर नआउन्जेल चल्ने छैन। कलर्स, स्टार स्पोर्टस्, स्टार प्लसलगायतका च्यानलहरु क्लिन फिड पालना नगरेका कारण भोलिबाट प्रसारण हुन नपाउने भएका हुन्।

स्टार स्पोर्टस्, स्टार स्पोर्ट सेलेक्ट लगायतका च्यानलसमेत प्रसारण नहुने भएपछि नेपाली दर्शकहरुले इंग्लिस प्रिमियर लिग, इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका फुटबल तथा क्रिकेटका चर्चित लिगहरु भोलिबाटै हेर्न नपाउने भएका हुन्। 

अहिलेसम्म सोनीको प्याकेजका १९ र जीको प्याकेजमा १२ वटा च्यानल मात्रै उपभोक्ताहरुको टेलिभिजनमा विज्ञापनरहित जान तयार भएको पराजुलीले जानकारी दिए। यसबाहेक अन्य च्यानलहरु भारतीय प्रसारण संस्थाहरुबाट नेपाली केबल अपरेटरहरुसम्म विज्ञापनरहित नआएको उनले बताए । 

क्लिन फिडको नियमन तथा अनुगमनका लागि सरकारले विज्ञापन बोर्ड समेत गठन गरिसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराज शर्मालाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको छ। सरकारले भोलिबाट क्लिन फिड पालना भए/नभएको बारे नियमन तथा अनुगमन गर्ने सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ। 

महँगो हुनेछ टिभी हेराइ
भारतीय टेलिभिजन प्रसारण संस्थाहरुबाट विज्ञापनरहित च्यानलहरु खरिद गर्दा तिनै च्यानलको शुल्क अहिलेको भन्दा महँगो तिर्नुपर्ने भएकाले तिहारलगत्तै केबलसहित डाइरेक्ट टु होम (डीटुएच/डीटीएच) प्रविधिबाट टिभी हेर्न नेपालमा मँहगो पर्ने पराजुलीले बताएका छन्। 

'अहिलेसम्म डिल भएको एउटा प्याकेजकै भाउ हेर्दा टेलिभिजन च्यानलको मूल्य न्यूनतम २५ प्रतिशतसम्म बढ्ने देखिएको छ,' उनले भने । कालान्तरमा यो बढेर एक सय प्रतिशत नै पुग्ने दाबी उनको छ।

यसका आधारमा तपाईंले टेलिभिजनमा हेर्दै आएका विदेशी च्यानलका लागि अहिले गर्दै आएको खर्चभन्दा अब कम्तिमा २५ प्रतिशतदेखि दोब्बरसम्म धेरै बजेट छुट्याउनु पर्नेछ।