BIZMANDU
www.bizmandu.com

सहुलियत बजारमा खसीबोका किन्न हारालुछ भएपछि खाद्य कम्पनीले थप एक हजार ल्याउने

२०७७ कात्तिक ५

Tata
GBIME
Nepal Life

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पहिलो लटको एक हजार खसीबोकाले माग नधानेपछि थप एक हजार ल्याउने भएको छ। 

कम्पनीले दसैंका लागि सोमबारदेखि उपत्यकामा बिक्री सुरु गरेको थियो। माग उच्च भएपछि थप एक हजार खसीबोका ल्याउने निर्णय भएको कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले बताइन्। 

सहुलियत मूल्यमा खसीबोका पाइने भएपछि किन्न चाहनेको धेरै भीड लाग्यो। पहिलो दिनमै ५ सय ४५ वटा खसीबोका बिक्री भयो। धेरैले किन्न चाहेर पनि पाएनन्। अबको लटमा बिक्रीका लागि ४ सयवटा खसीबोका छन्। त्यसले नपुग्ने भएपछि मंगलबार बैठक बसेर थप्ने निर्णय भएको छ।

दोस्रो लटको खसीबोका बुधबार राजधानी आइपुग्ने सुवेदीले जानकारी दिइन्। कम्पनीले थप खसीबोका हेटौंडा र तुल्सीपुरबाट नै खरिद गर्ने भएको छ।

दुई दिनमा ७ सयवटा खसीबोका बिक्री भएको कम्पनीले जनाएको छ। कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ। बजारमा प्रचलित दरभन्दा यो सस्तो हो। त्यसैले खरिद गर्न चाहनेको धेरै भीड भएको कम्पनीले जनाएको छ।