BIZMANDU
www.bizmandu.com

बारा-पर्साका प्रहरी चौकीले उद्योगबाट ‘दसैं खर्च’ उठाउन थालेको आरोप, उजुरी आए कारवाही गर्ने

२०७७ कात्तिक ४

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंज-पथलैया औद्योगिक करिडोरस्थित जनताको सेवाका लागि खटिएका प्रहरी युनिटले पदीय आचरणविपरीत कार्य गरिरहेको आरोप लागेको छ।

विगत सात महिनादेखि कोरोना महामारी र लकडाउनले थलिएको बारा, पर्सा औद्योगिक करिडोरमा अहिले ‘दसैं खर्च’को नाममा प्रहरी आतंक बढेको उद्योगीको गुनासो छ।

प्रहरी चौकीहरूले पर्सा, बाराको विभिन्न औद्योगिक प्रतिष्ठानबाट दसैं खर्चको नाममा नजराना बुझ्ने काम गरिरहेको व्यवसायीहरुले बताएका छन्। व्यवसायीहरुका अनुसार प्रहरीले मोटरसाइकल, जीप, भ्यानबाट आफ्नो घुमुवा तथा पोसाकमै सुरक्षाकर्मी पठाएर उद्योगमा दसैं खर्चको लागि दबाब दिने गरेको बताएका छन्।

वडा प्रहरी कार्यालय श्रीपुर, प्रहरी चौकी परवानीपुर, अस्थायी प्रहरी पोस्ट गण्डक, इलाका प्रहरी कार्यालय जीतपुर, इप्रका सिमरालगायतका टोलीले बारा, पर्साको विभिन्न उद्योगबाट अहिलेको समयमा दसैं खर्च असुल्ने गरेको एक उद्योगीले बताए। विभिन्न उद्योगबाट दसैंमा मदिरा र कोसेली स्वरूप खामबन्दी पैसाको लागि प्रहरीले दबाब दिइरहेको उद्योगीहरुको आरोप छ।

यस बारेमा जिल्ला प्रहरी कार्यालय पर्सा र बाराले प्रहरी आचरणविपरीत काम गरेका सुरक्षाकर्मीको हकमा प्रमाणसहितको जानकारी वा उजुरी आएको खण्डमा कानुन बमोजिम कारबाही गर्ने आश्वासन दिएको छ।