BIZMANDU
www.bizmandu.com

दसैं असर देखिन थाल्यो सेयर बजारमा, एक सातामा ४३ अ‌ंकले घट्दै सूचक १५५७ विन्दुभन्दा तल

२०७७ कात्तिक २

दसैं असर देखिन थाल्यो सेयर बजारमा, एक सातामा ४३ अ‌ंकले घट्दै सूचक १५५७ विन्दुभन्दा तल
दसैं असर देखिन थाल्यो सेयर बजारमा, एक सातामा ४३ अ‌ंकले घट्दै सूचक १५५७ विन्दुभन्दा तल

Tata
GBIME
Nepal Life

काठमाडौं । दसैं नजिकिँदै गएसँगै सेयर बजारमा यसको प्रभाव निरन्तर देखिन थालेको छ । असोज २२ मा १६०० अंक पार गरेको सेयर बजार त्यसयताका ८ कारोबार दिनमा करीब ४३ अंकले घटिसकेको छ । 

आइतबार यो ५.६६ अ‌ंकले घट्दै १५५७ अंकभन्दा तल आइपुगेको छ । 

नेपालीहरुको सबैभन्दा ठूलो मान्ने चाड दसैं नजिकिएकाले सेयर बजारमा  खरिदकर्ता भन्दा बिक्रेताहरु बढी हाबी हुँदा बजार घटेको सेयर ब्रोकरहरु बताउँछन् । अब दसैंअघि यो साता मात्र सेयर कारोबार हुने भएकाले आइतबार बिक्री चाप अधिक परेको उनीहरुको भनाइ छ ।

दसैं-तिहारमा सेयर कारोबार सुस्त हुँदा बजार घट्ने भएकाले यतिबेला नाफा बुक गरेर बस्न चाहन्छन् लगानीकर्ता । यसबाहेक चाडका लागि चाहिले रकमको जोहो गर्न पनि लगानीकर्ताहरुले सेयर बिक्री गर्ने प्रवृत्ति देखिन्छ । अहिले खासगरी यिनै दुई कारणले बजार प्रभावित गरिरहको स्टक ब्रोकरहरुको भनाई छ ।

आइतबार सेयर बिक्री गरेको पैसा ब्रोकरले चार पाँचदिनमा दिने भएकाले लगानीकर्ताहरु सेयर बिक्रीतर्फ लाग्दा कारोबार रकम र सूचकमा सामान्य करेक्सन भएको ब्रोकरहरु बताउँछन्। आइतवार नेप्से सूचक करीब ६ अंकले घटेर १५५६.८० विन्दुमा बन्द भएको छ ।

विहिबार १५६२.४६ विन्दुमा बन्द भएको नेप्से आइतबारको प्रि-ओपन सेसनपछि नियमित कारोबार समयमा १५६५.९१ विन्दुबाट सुरु भएको थियो । प्रिओपनमा करीब साढे ३ अंकले बजार बढेको भए पनि नियमित सेसनका दौरान दिनभरि घटेर बन्द भएको हो ।

आइतबार व्यापार र निर्जीवन बीमा समूहबाहेक अन्य सबै १० उपसमूहको सूचक घट्यो ।

आइतबार कुल २५ कम्पनीलाई कारबाही गर्दै नेप्सेले कारोबार रोक्का गरिदिएको छ । तीमध्ये दैनिक कारोबार भइरहेका पाँच कम्पनीले समेत वार्षिक नवीकरण शुल्क नतिरेपछि नेप्सेको कारावाहीमा परेर तिनको कारोबार भएन । तीबाहेक आइतबार १८७ कम्पनीको मात्र सेयर कारोबार भएको छ । यसअघि दैनिक १९० भन्दा बढी कम्पनीको सेयर कारोबार हुँदै आएको थियो । 

 

हिमालयनको ८ लाख १५ हजार कित्ता सेयर किनबेच

आइतबार हिमालयन बैंकको संस्थापकतर्फको ८ लाख १५ हजार १७२ कित्ता सेयर किनबेच भएको छ । यो सेयर २४ करोड ४५ लाख ५१ हजार रुपैयाँमा खरिद-बिक्री भएको हो । 

हिमालयन बैंकमा रहेको ज्योति समूह अन्तर्गतको स्याकार कम्पनीको सेयर पूर्ण रुपमा बिक्री भएको छ। पारिवारिक लडाइका बीच स्याकार कम्पनीको सेयर बिक्री भएको हो।

स्याकारको नाममा रहेको हिमालयन बैंकको संस्थापक सेयर कर्मचारी सञ्चय कोष, प्रचण्डमान श्रेष्ठ र इलु शर्माले प्रतिकित्ता ३०० रुपैयाँका दरले खरिद गरेका छन्।  बैंकको सेयर ४३ नम्बर ब्रोकरले बेचेर ४० नम्बर ब्रोकरमार्फत खरिद भएको छ। 

हिमालयनको सहित आइतबार कुल एक अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । तर यो कारोबार रकम यसअघिको कारोबार दिन (विहिबार) को भन्दा करीब १५ लाख रुपैयाँले कम हो ।

पछिल्लोपटक नेप्सेमा सूचीकृत जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य  आइतबार पनि करीब १० प्रतिशत (९.७८ प्रतिशत) बढेर प्रतिकित्ता ४०४ रुपैयाँ पुग्यो । आईसीएफसी फाइनान्सको सेयर मूल्य पनि ५ प्रतिशतले बढेको छ ।

आइतबार जलविद्युत, फाइनान्स र विकास बैंक समूहका कम्पनीका सेयरको मूल्य धेरैले घटेको छ ।