BIZMANDU
www.bizmandu.com

नेप्सेले गर्‍यो २५ कम्पनीको सेयर कारोबार रोक्का, कुन कुनको सेयर किनबेचमा पर्‍यो असर ?

२०७७ कात्तिक २

नेप्सेले गर्‍यो २५ कम्पनीको सेयर कारोबार रोक्का, कुन कुनको सेयर किनबेचमा पर्‍यो असर ?
नेप्सेले गर्‍यो २५ कम्पनीको सेयर कारोबार रोक्का, कुन कुनको सेयर किनबेचमा पर्‍यो असर ?

Tata
GBIME
Nepal Life

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबारबाट २५ कम्पनीको सेयर कारोबारमा  रोक लगाएको छ। 

नेप्सेमा सूचीकृत कम्पनीले वार्षिक रूपमा तिर्नुपर्ने नवीकरण शुल्क नबुझाएपछि तिनको सेयर कारोबार रोक्का गरिएको हो।

यसमा दोस्रो बजारमा सेयर कारोबार भइरहेका मल्टिपर्पोज फाइनान्स, हिमाल दोलखा हाइड्रो, जोशी हाइड्रो, नेपाल हाइड्रो, हिमालयन डिष्टिलरी लगायतका कम्पनीहरू छन्। यीबाहेक नेप्सेमा सूचीकृत भएर पनि लामो समयदेखि कारोबार नभएका धेरै कम्पनीहरुको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

नवीकरण शुल्क नबुझाउनेमा अधिंकाश लामो समयदेखि दोस्रो बजारमा कारोबार नभएका कम्पनीहरु छन्। जसमा अरुण वनस्पति, विराट सुज लिमिटेड, बुटवल स्पिनिङ मिल्स, फ्युलर हिमालयन, गोरखाली रबर, हरिसिद्धि इँटा तथा टायल, ज्योति स्पिनिङ मिल्स, नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग, रघुपति जुट मिल्स, नेपाल वेयलफेयर कम्पनी, नेपाल ट्रेडिङ, नेपाल फिल्म डेभलपमेन्ट कम्पनी, श्री राम सुगर मिल्स लगायतका लामो समयदेखि दोस्रो बजारमा कारोबार नभएका कम्पनी रहेका छन्।  

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार उक्त कम्पनीहरुको सूचीकरण तथा कारोबार स्थगित गरेको जनाएको छ। कारोबार रोक्का हुनेमा धेरैजसो उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरु छन्।  

नियमअनुसार, आर्थिक वर्ष समाप्त भएको तीन महिनासम्ममा सूचीकरणको नवीकरण शुल्क नबुझाउने कम्पनीको सेयर कारोबार रोक्का हुन्छ। यद्यपि, कारोबार रोक्का भएका कम्पनीले सूचीकरण नविकरण शुल्क बुझाउनेबित्तिकै कारोबार खुला हुनेछ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार ५० करोड रुपैयाँ बराबरको सेयर सूचीकरण भएको कम्पनीले वार्षिक रूपमा नवीकरण शुल्क वापत ५० हजार रुपैयाँ र त्यसभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ ।