BIZMANDU
www.bizmandu.com

खाद्य कम्पनीले दसैंलाई ल्याएन भेडा-च्याङ्ग्रा, २ सय खसी-बोका ल्यायो, सोमबारदेखि बिक्री गर्ने 

२०७७ कात्तिक २

खाद्य कम्पनीले दसैंलाई ल्याएन भेडा-च्याङ्ग्रा, २ सय खसी-बोका ल्यायो, सोमबारदेखि बिक्री गर्ने 
खाद्य कम्पनीले दसैंलाई ल्याएन भेडा-च्याङ्ग्रा, २ सय खसी-बोका ल्यायो, सोमबारदेखि बिक्री गर्ने 

Tata
GBIME
Nepal Life

काठमाडौं। बर्सेनि दसैंमा भेडा-च्याङ्ग्रा र खसी-बोका बेच्दै आएको सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले योपटक च्याङ्ग्रा नबेच्ने भएको छ। चीनबाट भेडा-च्याङ्ग्रा नभित्रिएको र स्वदेशी महंगो भएको भन्दै खसीबोका मात्रै बेच्ने भएको हो।

सहुलियत दरमा बिक्री गर्नका लागि खरिद गरेका एक हजार वटा खसीबोकामध्ये २०५ वटा काठमाडौं आइपुगेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले बताए। उनका अनुसार कम्पनीले सोमबारदेखि खसीबोका बिक्री थाल्ने भएको छ। 

'खसीबोका भित्रिने क्रममा छ। पहिलो लट आइसकेको छ। आजै थप अर्को लट पनि आइरहेको छ,' उनले भने। कम्पनीले मंगलबारसम्ममा एक हजार खसीबोका ल्याउने उनले बताए। राजधानीमा बिक्रीका लागि कम्पनीले हेटौंडा र दाङको तुल्सीपुरबाट खसीबोका खरिद गरेको हो। एकैचोटी धेरै ल्याएर व्यवस्थापन गर्न गाहो हुने भएकाले थोरै थोरै ल्याउँदै बिक्री गरिने कम्पनीले जनाएको छ।

कम्पनीले खसीबोकाको बिक्री सोमबारदेखि थापाथलीस्थित बिक्री कक्षबाट गर्ने टुंगो गरेको छ। मूल्य भने तोक्न बाँकी नै छ। केही खसीबोका आइपुगेको हुनाले मूल्य निर्धारण आइतबार बेलुकासम्म हुने कम्पनीले जनाएको छ। उपभोक्तले कम्पनीबाट खसीबोका खरिद गर्दा १० रुपैयाँ छुट पाउने छन्। 

कम्पनीले बर्सेनि चीनबाट आउने च्याङ्ग्रा बेच्दै आएको थियो। 'चीनबाट नआएपछि स्वदेशी भेडा-च्याङग्रा महंगो भयो,' कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले भनिन्, 'कम्पनीलाई नै खरिद महंगो पर्दा उपभोक्तालाई घाटा खेपेर बिक्री गर्ने कुरा भएन। त्यसैले कम्पनीले यो दशैंका लागि च्याङ्ग्रा खरिद गरेन।'  
गत महिना कम्पनीले दसैंका लागि १४ सय च्याङग्रा ल्याउने निर्णय गरेको थियो। पछि एक हजार वटा च्याङग्राको  ढुवानी टेन्डर गरे पनि दरभाउ नमिलेर किन्न नसकेपछि च्याङ्ग्रा नल्याउने निर्णय गरेको हो।