BIZMANDU
www.bizmandu.com

गरिबी निवारणका लागि माग र रुचिमा आधारित उद्यमशीलता तालिम दिने मन्त्री अर्यालको घोषणा

२०७७ कात्तिक १


काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणका लागि माग र रुचिमा आधारित उद्यमशीलता तालिम दिइने बताएकी छन्। 

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले सो कुरा बताएकी हुन्। जनस्तरमा आधारित रहेर सीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिने उनले बताइन्।

गरिब पहिचानको कार्यक्रम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री अर्यालले सरकारले पहिचान गरेका गरिबहरुको जीवनस्तर उकास्न एकीकृत गरिबी निवारणका कार्यक्रम संचालन गर्ने जानकारी दिइन्।

‘गरिबी निवारणका लागि मागमा आधारित सीपमूलक तालिमहरु सञ्चालन गर्नु पर्छ। उनीहरुलाई चाहिएको के हो ?  रुचि के मा छ ? त्यस्ता कुराहरुको पहिचान गरेर उनीहरुलाई सीप सिकाउने, उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ मन्त्री अर्यालले भनिन्।

अहिले पनि १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै उनले गरीबी निवारणको क्षेत्रमा अझ धेरै प्रयास गर्नुपर्ने आवश्यकता रहेको औंल्याइन्। 

पहिचान भएका गरिबहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नु तीन तहकै सरकार र यी मातहतका सबै निकायहरुको दायित्व भएकाले सामूहिक प्रयास आवश्यक रहेको उनले बताइन्।