BIZMANDU
www.bizmandu.com

नेपाली आलु सस्तिएन, बजारमा ८५% भारतीय आलु, आयातित धेरै भए पनि किन घट्दैन भाउ?

२०७७ कात्तिक १

नेपाली आलु सस्तिएन, बजारमा ८५% भारतीय आलु, आयातित धेरै भए पनि किन घट्दैन भाउ?
नेपाली आलु सस्तिएन, बजारमा ८५% भारतीय आलु, आयातित धेरै भए पनि किन घट्दैन भाउ?

Tata
GBIME
Nepal Life

काठमाडौं। बजारमा आलुको माग स्वदेशी उत्पादनले धान्दैन। बजारमा यतिबेला ८५ प्रतिशत भारतीय आलु छ। जिब्रोमा स्वाद बसेकाले स्वदेशी नै किन्छु भन्नेका लागि नयाँ आलु महंगो मात्रै होइन, सजिलै किन्नै नपाइने अवस्था छ।

बजारमा नयाँ आलु भित्रिन थालेपछि मूल्य बढेर ढकको ६ सय रुपैयाँसम्म परिरहेको छ। स्वदेशी उत्पादन कम र माग बढी भएकाले मूल्य उच्च भएको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताए। 'स्वदेशी आलु गाउँमै महंगो छ, बजारसम्म आइपुग्दा ढुवानी भाडाले अझ महंगो बनाएको हो,' उनले भने, 'नयाँ निस्किएर पर्याप्त आउन थालेपछि मात्रै भाउ घट्ने देखिन्छ।'   

कालिमाटीको थोक बजारमा यतिबेला ८५ प्रतिशत भारतीय र १५ प्रतिशत स्वदेशी आलु छ। भारतीय आलु बजारमा सजिलै पाइने भए पनि उपभोक्ताले नयाँ आलु नै खोज्ने गरेका छन्। नयाँ आलु स्वदेशी उब्जनी हो। थोक कारोबारीले नै स्वदेशी आलु पर्याप्त खरिद गर्न पाएका छैनन्। निकै कम परिमाणमा आएकै कारण पनि स्वदेशी आलु महंगिएको व्यवसायी बताउँछन्। 

भारतीय आलुको मूल्य पनि पहिलेभन्दा महंगो भएको छ। 'अफ सिजन' भएकाले  भारतबाटै भाउ बढेर आएको व्यवसायीको भनाइ छ। उनीहरूका अनुसार कोल्ड स्टोरमा राखिनु र ढुवानी लागतले बढेको खर्च जोडिएर आलुको मूल्यमा परेको छ। 

उपभोक्ताहरू महंगो तिरेर नयाँ आलु खान रुचाइरहेका छन्। यसको फाइदा खुद्रा बिक्रेताले उठाएका छन्। नयाँ आलुको बजार आउने परिमाण बढ्न सकेको छैन। यसले गर्दा खुद्रा किन्नेलाई प्रतिकेजी एक सय रुपैयाँभन्दा बढी परिरहेको श्रेष्ठले बताए। उपभोक्ताले केही समय भारतीय आलु प्रयोग गरे नयाँ आलुको मूल्य घट्न सक्ने उनको भनाइ छ।

'बजारमा जे कम छ उपभोक्ताले त्यही खोज्ने गरेका छन्। यसले गर्दा  मूल्य बढ्छ,' उनले भने। नयाँ आलु बजारमा आउने सिजन सुरु हुन लागेकाले अबको केही समयमा मूल्य घट्न सक्ने व्यवसायीको आकलन छ।  हाल थोक बजारमा नयाँ आलु प्रतिकेजी ९४ रुपैयाँ र भारतीय आलु प्रतिकेजी ६१ रुपैया छ। खुद्रामा पुग्दा मूल्य निकै उच्च हुने गरेको छ।

तरकारी उत्पादन हुने सिजन सुरु भएसगै बजारमा तरकारीको मूल्यमा उतारचढाव भइरहेको छ। तरकारी आपूर्ति बढी भए मूल्य घट्ने र कम हुँदा मूल्य बढ्ने गरेको छ। स्वदेशी उत्पादन अपेक्षित परिमाणमा खरिद गर्न नपाउँदा व्यवसायीले भारतबाट भित्रयाउने परिमाण बढाएका छन्।यतिबेला थोक बजारमा दैनिक भारतबाट प्याज, आलु ,कागती, करेला, लौका र घिरौला आइरहेको छ।

गत साताभन्दा तरकारीको मूल्य प्रतिकेजी ४० रुपैयाँसम्म घट्न थालेको व्यवसायीको दाबी छ।