BIZMANDU
www.bizmandu.com

मोटरसाइकलको बिक्रीमा लागेन कोभिडको तगारो, तीन महीनामै बिक्री भए ७५ हजार १८० नयाँ बाइक-स्कुटर

२०७७ कात्तिक १

मोटरसाइकलको बिक्रीमा लागेन कोभिडको तगारो, तीन महीनामै बिक्री भए ७५ हजार १८० नयाँ बाइक-स्कुटर
मोटरसाइकलको बिक्रीमा लागेन कोभिडको तगारो, तीन महीनामै बिक्री भए ७५ हजार १८० नयाँ बाइक-स्कुटर

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ का कारण व्यापार व्यवसायमा प्रभाव परिरहेका बेला मोटरसाइकलको बिक्री भने उच्च भएको छ। यातायात व्यवस्था विभागको रेकर्डमा देखिएको नयाँ दर्ताको संख्याले यसको पुष्टि गरेको हो।

विभागको गुर्जुधारास्थित सवारी दर्ता कार्यालयले तयार पारेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्ष २०७७/७८ सुरु भए यता हालसम्म पौने एक लाख नयाँ मोटरसाइकल दर्ता भएका छन्। विभिन्न कम्पनीका ७५ हजार १ सय ८० वटा  नयाँ मोटरसाइकल दर्ता भएको हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामै भएको दर्ता गत वर्षका तुलनामा निकै उच्च हो।

आर्थिक वर्ष २०७६/७७ का १२ महिनामा २ लाख २१ हजार थान नयाँ मोटरसाइकल दर्ता भएका थिए। विभागका अधिकारीहरूका अनुसार चालु वर्षको तीन महिनामै नयाँ मोटरसाइकलको दर्ता बितेका वर्षका तुलनामा उच्च देखिएको छ। नयाँ दर्ता हुनेमा १२५ सीसी र त्योभन्दा बढी क्षमताका बाइक र स्कुटरको संख्या धेरै छ।

कोरोना संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने सतर्कतालाई ध्यानमा राख्दै मोटरसाइकल खरिदमा सर्वसाधारणको ध्यान जाँदा बिक्री बढेको हो। लकडाउन खुकुलो भएसँगै मोटरसाइकल बिक्रेता कम्पनीहरूले यो अवस्थाको आकलन गरिसकेका थिए। त्यसैले खरिद गर्न चाहनेका लागि बिभिन्न अफर ल्याएर लोभ्याएका पनि छन्। खरिदमा फाइनान्सिङको प्रक्रिया पनि सरल पारिएको छ।

बन्दाबन्दी खुकुलो भएसँगै गत जुलाईदेखि सवारीसाधन बिक्रीले गति लिन सुरु गरेको टिभीएस, बजाज, हिरो, होन्डा र यामाहा लगायतका विभिन्न ब्राण्डका नेपालस्थित आधिकारिक बिक्रेता कम्पनीका प्रतिनिधिहरूले जनाएका छन्। कोभिड संक्रमण जोखिम न्यूनीकरणका लागि पछिल्लो चार महिनायता सर्वसाधारणले बाइक खरिदमा देखाएको चासोअनुसारका मोडल उपलब्ध गराउन पनि चाप परेको छ।

बजारको मागलाई ध्यानमा राख्दै बजाज र टिभीएसले नेपालमै एसेम्बल प्लान्ट पनि राखिसकेका छन्। बजारमा उपस्थिति बलियो बनाउन हिरो, होन्डा र यामाहाले पनि आयात बढाएका छन्। नेपालमा रोयल इनफिल्डको बढ्दो बिक्रीलाई चुनौती दिँदै यसै साता अग्निले जावा बाइक भित्र्याएको छ। 

बन्दाबन्दीका कारण थलिएको व्यवसायलाई पुनः गति दिनका लागि कम्पनीले आकर्षक अफरहरू पनि सार्वजनिक गर्दै आएका छन्। यो वर्ष नाडा अटो शो नभए पनि ग्राहक सेवासँगै व्यवसायलाई गति दिनका लागि बिक्रेता कम्पनीले 'ब्याक टु ब्याक' धमाकेदार अफर सार्वजनिक गर्दै आएका हुन्। 

यही अवधिमा केही नयाँ कम्पनीका बाइक पनि नेपाली बजारमा थपिएका छन् भने चलेका कम्पनीहरूले नयाँ मोडलको बिक्री थालेका छन्।जगदम्बा मोटर्स, हंसराज हुलासचन्द एण्ड कम्पनी, नेपाल जेनरल मार्केटिङ, स्याकार ट्रेडिङ लगायत बिक्रेता कम्पनीले ग्राहकको माग बढेसँगै यतिखेर धमाधम बाइक बिक्री भइरहेको जनाएका छन्। 

कतिपय कम्पनीले कोभिड-१९ का कारण सप्लाइ चेनमै प्रभाव परेका कारण ग्राहकले अर्डर गरे बमोजिमको समयमा ढुवानी गर्न केही समय लाग्दै आएको जनाएका छन्। मोटरसाइकल खरिदमा देखिएको फाइदा रिकन्डिसन हाउसहरूले पनि राम्रैसँग उठाइरहेका छन्।

गत साउनयता पुराना मोटरसाइकलको खरिद-बिक्री पनि निकै बढेको छ। खरिदपछिको सर्भिसलाई पनि ध्यानमा राखेर प्रयोगकर्ताले मोटरसाइकल रोज्ने गरेका छन्। यातायात व्यवस्था विभागका अनुसार नयाँ सवारीको दर्ता नियमित भए पनि धेरै भीड हुने र कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुँदा केही कार्यालयका काम प्रभावित भएका छन्।

सवारी दर्ताको काम नियमित भए पनि लाइसेन्सको फारम लिने र परीक्षा गराउने काम भने विभागले हालका लागि स्थगन गरेको छ।