BIZMANDU
www.bizmandu.com

लक्जरी सेग्मेन्टको जर्मन गाडी बिएमडब्लु नेपाल भित्रियो, सार्वजनिक नहुँदै ६ वटा गाडी बिक्री

२०७७ असोज ३०

लक्जरी सेग्मेन्टको जर्मन गाडी बिएमडब्लु नेपाल भित्रियो, सार्वजनिक नहुँदै ६ वटा गाडी बिक्री
लक्जरी सेग्मेन्टको जर्मन गाडी बिएमडब्लु नेपाल भित्रियो, सार्वजनिक नहुँदै ६ वटा गाडी बिक्री


काठमाडौं।  दुई करोड रुपैयाँ मूल्य माथिका जर्मन गाडी बिएमडब्लु नेपाल भित्रिएको छ। लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले बिएमडब्लु भित्र्याएको हो। 

Tata
GBIME

कोरियाली कम्पनी हुण्डाई गाडीको समेत अधिकृत बिक्रेता रहेको लक्ष्मीले बिएमडब्लुका लागि अत्याधुनिक शोरुमसहित सर्भिस सेन्टर समेत तयार पारिसकेको छ। लक्ष्मी समूहका निर्देशक निराकार श्रेष्ठले बिएमडब्लुका विभिन्न सिरिजका गाडी आइसकेको बताउँदै ६ वटा बिक्रीसमेत भइसकेको जानकारी दिए। 

उनका अनुसार दुई करोड मूल्यका ६ वटा गाडी बिक्री भइसकेको छ। श्रेष्ठले लक्जरी सेग्मेन्टको गाडीको नेपालमा बजार हिस्सा बढ्दै गएको बताउँदै त्यही बजार देखेर विश्व प्रसिद्ध ब्राण्ड ल्याएको बताए। नेपालमा लक्जरी सेग्मेन्टका विभिन्न गाडी बिक्री भए पनि शोरुमदेखि सर्भिस सेन्टरको व्यवस्था राम्रो छैन। अझ कतिपय कम्पनीले आधिकारिक बिक्रेताको रूपमा नभई सब डिलरमार्फत किनेर यहाँ गाडी बिक्री गरिरहेका छन्। 

'गाडीको ब्राण्ड उपभोग र अनरसिप मात्र नभइ प्राप्ति पछिको सेवालाई मुख्य प्राथमिकता दिएका छौं। बिएमडब्लुका ग्राहकलाई सन्तुष्ट बनाउने उद्देश्यसहित सर्भिस सेन्टरमा समेत राम्रो लगानीमा तयार पारिरहेका छौं,' संचालक श्रेष्ठले भने। 

बिएमडब्लु बिक्रीका लागि कम्पनीले तीनकुनेस्थित सेल्स, सर्भिस, स्पेयर पार्ट्स 'थ्री एस' शोरुम तयार गरिसकेको उनले जानकारी दिए। बिएमडब्लु विक्रीका लागि कम्पनीले हाललाई तीनकुनेस्थित आधिकारिक बिक्री केन्द्र मात्र प्रयोग गर्ने उनले बताए। 'अहिले हामीले तीनकुनेको शोरुमबाट बिएमडब्लुको बिक्री गर्नेछौं। निकट भविष्यमा ग्राहकको मागलाई मध्यनजर गर्दै आधिकारिक बिक्री केन्द्र विस्तार गर्नेछौं,' श्रेष्ठले भने। 

कम्पनीले सुरुमा एक्स वन, एक्स टु, एक्स थ्री, एक्स फाइभ लगायत चार भेरियन्टको बिएमडब्लु बिक्री गर्ने उनले जानकारी दिए। नेपाली बजारमा यी चारैवटा गाडीको मूल्य करिब दुई करोडदेखि चार करोड रुपैयाँसम्म पर्नेछ।

कम्पनीले चारवटा सेग्मेन्टका १२ वटा गाडी भित्र्याइसकेको छ। कम्पनीका अनुसार गाडीमा ग्राहकको इच्छा अनुसारको फिचर जडान गर्न मिल्छ। 'इन्टेरियर, एक्स्टेरियर ग्राहकको इच्छा अनुसार समावेश गर्नका लागि हामीले कम्पनीलाई अर्डर दिन्छौं। अर्डर गरेको चारदेखि पाँच महिनामा ग्राहकको इच्छा अनुसारको रङ, डिजाइन लगायत समावेश गरी गाडी उपलब्ध गराउन सकिनेछ,' उनले भने।