BIZMANDU
www.bizmandu.com

स्थिर ब्याज दर निर्धारण गरे बैंक तथा वित्तीय संस्थाले, घर, गाडीको स्थिर, कुन बैंक सस्तो छ?

२०७७ असोज ३०

स्थिर ब्याज दर निर्धारण गरे बैंक तथा वित्तीय संस्थाले, घर, गाडीको स्थिर, कुन बैंक सस्तो छ?
स्थिर ब्याज दर निर्धारण गरे बैंक तथा वित्तीय संस्थाले, घर, गाडीको स्थिर, कुन बैंक सस्तो छ?

Tata
GBIME
Nepal Life

काठमाडौं। भोलिबाट औपचारिका रूपमा कार्यान्वयन हुने स्थिर ब्याज दर बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेका छन्। नेपाल राष्ट्र बैंकले एक वर्षमाथिका ब्यक्तिगत आवधिक ऋणको ब्याज दर स्थिर (फिक्स) गर्न बैंक तथा वित्तीय संस्थालाई एक महिनाअघि निर्देशन दिएको थियो।

राष्ट्र बैंकको निर्देशन तत्काल कार्यान्वयन गर्न कठिन हुने भन्दै बैंकहरुले समय माग गरेका थिए। त्यही भएर राष्ट्र बैंकले १५ दिन समय थपिदिएर कात्तिक १ गते पुर्‍याइदिएको थियो।

कतिपय बैंकले यसअघिबाटै स्थिर ब्याज दर कार्यान्वयन गरिसकेका छन्। अधिकांशले भने भोलिबाट कार्यान्वयन गर्न ब्याज दर सार्वजनिक गरेका छन्। स्थिर ब्याज दर चलनचल्तीको भन्दा केही महँगो देखिएको छ।

शुक्रबार दर्जन हाराहारी बैंकले ब्याज दर सार्वजनिक गरेका छन्। 

चार्टर्ड

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले स्थिर ब्याज सार्वजनिक गर्दै समय अवधि अनुसार ब्याज १०.७५ देखि १३.७५ प्रतिशतसम्म लिने घोषणा गरेको छ। बैंकको असारको आधार दर ७ प्रतिशत छ। फ्लोटिङ (तलमाथि हुन सक्ने) दर राख्दा बैंकले आधारमा साढे २ देखि साढे चार प्रतिशतसम्म प्रिमियम लिने जनाएको छ। यसो हुँदा ग्राहकलाई साढे दुई प्रतिशत नै प्रिमियम लियो भने पनि ब्याज साढे नौ प्रतिशत पर्छ।

तर स्थिर भएकाले बैंकले केही माथि ब्याज राखेको छ। ५ बर्षसम्मको सवारी र घर ऋणको ब्याज १०.७५ प्रतिशत छ। सात वर्षसम्मको सवारीको ऋण ११.७५ प्रतिशत छ। १० वर्षमाथिको घरको ऋणको ब्याज १३.७५ प्रतिशत कायम गरेको छ।

माछापुच्छ्रे बैंक

बैंकले समय अवधि अनुसार स्थिर ब्याज दर निर्धारण गरेको छ। जस्तो १० वर्षमाथिको घर कर्जाको ब्याज ११.८९ प्रतिशत निर्धारण गरेको छ। १० वर्ष अवधिको सवारी साधन कर्जा १०.९९ प्रतिशतमा दिने घोषणा गरेको छ। अन्य खालको खुद्रा ऋणको ब्याज दर १२.२४ प्रतिशतसम्म निर्धारण गरेको छ।

बैंकको ५ वर्षसम्मको घर कर्जा ९.८९ प्रतिशत ब्याजमै पाइन्छ। सवारी साधन ९.९९ प्रतिशत ब्याजमै उपलब्ध हुने बैंकले जनाएको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंक

इन्भेष्टमेन्ट बैंकले ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले सात वर्ष अवधिको सवारी साधन किन्न १०.७५ प्रतिशत ब्याजमा पैसा दिन्छ।

घर कर्जा समय अनुसार फरक छ। जस्तो १० वर्षसम्मको घरु कर्जाको ब्याज साढे १२ प्रतिशत पर्छ।

एनएमबि

एनएमबि बैंकले ५, १०, १५ र त्यसभन्दा माथिका लागि ब्याज निर्धारण गरेको छ। बैंकले समय अवधि हेरेर ९.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याज लिने जनाएको छ। बैंकले आफ्नो मू्ख्य ग्राहक, आफ्नो स्ट्यान्डर्ड रेट र अन्य रेट भनेर तीन खालको ब्याज सार्वजनिक गरेको छ।

बैंकसँग १५ वर्षसम्मको घर कर्जा लिने हो भने सवा १२ प्रतिशतसम्म ब्याजमा पैसा पाइन्छ। यदि तीन वर्षभन्दा माथिका लागि सवारी कर्जा लिने हो भने ब्याज १० प्रतिशत हाराहारीमै पाइन्छ। विद्युतीय कार किन्नु पर्दा त साढे ९ प्रतिशतमै पाइन्छ।

राष्ट्रिय वाणिज्य बैंक

सरकारी स्वामित्व राष्ट्रिय वाणिज्य बैंकले साढे ९ देखि ११ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। १५ वर्षसम्मको घर कर्जा ११ प्रतिशत ब्याजमा पाइन्छ। सात वर्षसम्मको गाडी कर्जा साढे नौ प्रतिशतमा पाइन्छ।

नेपाल बैंक

नेपाल बैंकले ९.३५ देखि १३.९३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। ६.९९ प्रतिशत आधार दर रहेको बैंकले घर कर्जा कम्तिमा ९.८५ प्रतिशत ब्याजमा मात्र दिन्छ। सवारी साधन  कर्जा १०.८५ प्रतिशत लिन्छ।

ग्लोबल आइएमइ बैंक

यो बैंकले ७.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याज दर निर्धारण गरेको छ। १५ वर्षमाथिको घर कर्जाको ब्याज ११.९९ प्रतिशत निर्धारण गरेको छ। ५ वर्षमाथिको अटो लोनको ब्याज ११.९९ प्रतिशत छ।

नेपाल एसबीआइ बैंक

एसबीआइ बैंकको स्थिर ब्याज केही महँगो छ। बैंकको ५ देखि १० वर्ष अवधिको साढे १४ प्रतिशत पर्छ। १० वर्षसम्मको सवारी कर्जा लिँदा ब्याज १४ प्रतिशत पर्छ। जबकी बैंकले फ्लोटिङ रेट आधार दरमा बढीमा ५ प्रतिशत निर्धारण गरेको छ। जस्तो अहिले बैंकको आधार दर ८.३९ प्रतिशत छ। बैंकले ५ प्रतिशत नै प्रिमियम लिएछ भने पनि ब्याज १३.४९ प्रतिशत पुग्छ।

सनराइज बैंक

सनराइज बैंकले समय अवधि हेरेर ब्याज दर साढे १० प्रतिशतदेखि साढे १३ प्रतिशतसम्म निर्धारण गरेको छ। जस्तो १५ वर्षसम्मको घर कर्जा लियो भने ब्याज साढे ११ प्रतिशत पर्छ। ८ वर्षसम्मको सवारी कर्जा लिए ब्याज साढे ११ प्रतिशत पर्छ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले ९.४९ देखि १२.९८ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। ५ वर्षसम्मको शिक्षा ऋण लिनु परे साढे ९ प्रतिशत पर्छ। १५ वर्षसम्मको हाउजिङ ऋण लिनु परे ११.९८ प्रतिशत छ। सवारी कर्जा लिनु परे साढे ११ प्रतिशतसम्म ब्याज पर्छ। 

सिद्धार्थ बैंक

बैंकले ८.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। जस्तो बैंकले ५ वर्षमाथिको सवारी कर्जा १०.९९ प्रतिशतमा दिन्छ। १० वर्षमाथिको घर कर्जाको ब्याज १०.७५ प्रतिशतसम्म पुग्छ। 

सेञ्चुरी बैंक

बैंकले ११.४९ देखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले १० बर्षमाथिको घर कर्जा १२.७४ प्रतिशतमै दिन्छ। सात वर्षसम्मको निजी सवारी साधन ऋण १२.२४ प्रतिशतमै उपलब्ध गराउने छ। 

सानिमा

सानिमाले ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज लिने जनाएको छ। ३ वर्षमाथिको ऋणको ब्याज १३ प्रतिशत पर्ने छ। 

कृषि विकास बैंक

बैंकले ९.७५ देखि साढे १२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। अटो लोन साढे १० प्रतिशत पर्छ भने १० वर्षमाथिको घर कर्जाको ब्याज ११.२५ प्रतिशत पर्न आउँछ।

प्राइम कमर्सियल बैंक

प्राइमले साढे १० देखि साढे १२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। 

नेपाल बंगलादेश बैंक

बैंकले ९.९९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। ५ वर्षभन्दा माथिको अटो लोनको ब्याज १०.९९ प्रतिशत छ भने २० वर्षसम्मको घर कर्जाको ११.४९ प्रतिशत ब्याज निर्धारण गरेको छ।

नबिल बैंक

नबिल बैंकले एक वर्षसम्मको स्पेसल अफर बाहेक त्योभन्दा माथि अवधिको ब्याज दर निर्धारण गरेको छ। बैंकले १५ वर्षसम्को घर कर्जा ११ प्रतिशतमा दिनेछ।