BIZMANDU
www.bizmandu.com

वर्ष दिनअघि बाँडफाँट भएकोे शिवश्रीको सेयर सूचीकरण बल्ल हुँदै, लफडाले लगानीकर्ता बन्धक

२०७७ असोज ३०


काठमाडौं। सेयरधनीहरुलाई सेयर बाँडफाँट गरेको एक वर्षपछि शिवश्री हाइड्रोपावर कम्पनीले सेयर सूचीकरणको प्रक्रिया बल्ल अघि बढाएको छ। हाइड्रोपावर र कम्पनीको सेयर प्रत्याभूतिकर्ता बीच विवाद भएपछि सूचीकरण हुन सकेको थिएन।

Tata
GBIME
Nepal Life

एक वर्षसम्म सूचीकरण नहुँदा सर्वसाधारण लगानीकर्ताहरुले सेयरमा लगाएको पैसा बन्धक भएर बसेको थियो। कम्पनीले २०७६ असोज १६ देखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि सेयर जारी गरेको थियो। कम्पनीले ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो। त्यसमा ७ लाख २० हजार ६ सय ४० कित्ताका लागि मात्र आवेदन परेको थियो।

निष्कासन गरिएको कुल सेयरमध्ये २६ लाख ३० हजार ५ सय  कित्ता बिक्री भएको थिएन। बिक्री नभएको सेयर नियम अनुसार अण्डरराइटरले स्वीकार्नु पर्छ। कम्पनीले अण्डरराइटरका लागि मुक्तिनाथ क्यापिटल र सीबीआइएल क्यापिटललाई नियुक्त गरेको थियो।

प्रारम्भिक निष्कासनमा बिक्री नभएको सेयर प्रत्याभूतकर्ताहरुले सकार्न पर्ने नियमले त्यही क्यापिटलले सकार्ने गरी एक किसिमको सहमति भएको  धितोपत्र बोर्डका सह प्रवक्ता रुपेश केसीले बताउँछन्।

यसबारे बोर्डले कम्पनीलाई र अण्डरराइटरलाई बारम्बार विवाद सुल्झाउन भन्दै आएको थियो । तर अण्डरराइटरले सेयर नै नस्वीकार्ने भनेपछि बोर्डले दुई क्यापिटललाई एक साता अघि बोलाएर समस्या बारे छलफल गरेको थियो। त्यसपछि अण्डरराइटरले सेयर स्वीकार्न मानेको बोर्डको भनाइ छ। 

बोर्डले सूचीकरणका लागि कागजात तयार पार्न भनेपछि हाल त्यही काममा लागिपरेको शिवश्री जलविद्युतको सेयर विभाग अधिकृत रूपा बस्नेत बताउँछिन्। दसैं अघिसम्म सबै काम सकेर बोर्डमा सूचीकरणका लागि पठाउने उनले बताइन। उनका अनुसार अण्डरराइटरले स्वीकार्न नखोजेको सेयर बोर्डको निर्देशनपछि स्वीकार्न मानेको हो। दुवै क्यापिटलले ती सेयर पछि अरुलाई बिक्री गर्न पनि मिल्ने भएकाले स्वीकार्न मानेको उनको भनाइ छ।  

मुक्तिनाथ क्यापिटलका सिइओ कवीन्द्र जोशीले बोर्ड र कम्पनी बीच सहमति भइसकेका कारण आफूले सेयर स्वीकार्ने सहमतिमा गएको बताए। 'अब केही दिनमा यसबारे सूचना आउँछ उनले भने। प्रत्याभूतकर्ता कम्पनीहरुले सेयर निष्कासन गर्नु पूर्व बाढीले आयोजनामा पुर्‍याएको नोक्सानीबारे कुनै जानकारी नदिएको भन्दै सेयर स्वीकार्न मानेका थिएनन्।  

बिक्री नभएको सेयर प्रत्याभूतिकर्ताले नसकार्ने भनेपछि हाइड्रोपावरको आइपीओ बाँडफाँटमा अन्योलमा थियो। तर, विवाद नमिले पनि धितोपत्र बोर्डले आइपीओ बाँडफाँट गर्न निर्देशन दिएपछि कम्पनीको गतिरोधमा सहजीकरण भएको थियो। गत वर्षको मंसिर २४ मा कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सेयर बाँडफाँट गरेको  थियो।