BIZMANDU
www.bizmandu.com

पाँचथर मालपोत जहाँबाट हुन्छ २५ मिनेटमा सेवाग्राहीको काम, दसैंपछि सबै सेवाग्राहीलाई चिया

२०७७ असोज २९

पाँचथर मालपोत जहाँबाट हुन्छ २५ मिनेटमा सेवाग्राहीको काम, दसैंपछि सबै सेवाग्राहीलाई चिया
पाँचथर मालपोत जहाँबाट हुन्छ २५ मिनेटमा सेवाग्राहीको काम, दसैंपछि सबै सेवाग्राहीलाई चिया

Tata
GBIME
Nepal Life

काठमाडौं। मालपोत कार्यालय भन्नेवित्तिकै प्रायः को मस्तिष्कमा सेवाग्राहीको भीडले भरिएको अस्तव्यस्त कार्यालयको तस्विर आउँछ । अझ प्रणाली पछ्याएर काम हुन्छ भन्ने त सायदै कसैले सोच्छ ।

तर पछिल्लो समयमा यस्ता नमुना मालपोत कार्यालय पनि बनेका छन्, जहाँ सेवाग्राही गइसकेपछि अलिक बेर कार्यालयमै बसेर जाउँ भन्ने सोच पलाउँछ।

मालपोत कार्यालय पाँचथर यिनै नमुना कार्यालयमध्येको एक हो जहाँ सेवाग्राहीको सन्तुष्टीलाई पहिलो प्राथामिकतामा राखेर काम गर्ने दाबी गरिएको छ ।

सेवा चुस्त बनाउन अनलाइन प्राणली लागु भएको पाँचथर कार्यालयमा भू-सेवा केन्द्र पनि लागु भएको छ। सेवाग्राहीले आफूले गर्नुपर्ने कामको फाइल भूसेवा केन्द्रबाटै तयार पारेका हुन्छन्। मालपोत कार्यालयमा त्यसलाई रुजु गरेर सही गर्ने काम मात्रै बाँकी हुन्छ। त्यसकारण पनि कार्यालयले २० देखि २५ मिनेटभित्रै सेवाग्राहीको काम फत्ते गरिदिन्छ।

हातले ढड्डामा पनि लेख्नुपर्ने दोहोरो प्रणाली नभइदिएको भए बैंकमा एउटा चेक साट्न जति समय लाग्छ, त्यति समयमा लिखत नै पारित गर्न सकिने मालपोत कार्यालय पाँचथरका प्रमुख मालपोत अधिकृत बाबुराम पोखरेल बताउँछन् ।

अनलाइन प्रणाली लागु भएपनि अहिले हातले पनि ढड्डामा लेख्नैपर्ने बाध्यता छ। त्यसकारण २० देखि ३० मिनेटसम्म समय लाग्ने गरेको छ। ढड्डा प्रणाली अन्त्य भएको दिन १० मिनेटभित्रै घरजग्गाको लिखत पारित गर्न सकिने पोखरेलको भनाइ छ ।

बैंकजस्तै मालपोत कार्यालय
पाँचथर मालपोत कार्यालय बाहिरदेखि नै 'वेलकमिङ' देखिन्छ । कार्यलयभित्र छिर्नुअघि नै अगाडि र वरपर ग्रीनरीका लागि विभिन्न फूलहरु र हरिया बिरुवा लगाएको छ । 

यसबाहेक भित्रको वातावरण पनि आम सरकारी कार्यालयभन्दा भिन्न छ । कार्यालयभित्र पहिलोपटक छिर्ने सेवाग्राही त मालपोत कार्यालय हैन की भनेर दोधारमा पर्छन्। 

चिटिक्कसँग मिलाइएका ढड्डा श्रेष्ता, सेवाग्राही बस्ने सुविधायुक्त फर्निचर, एसी, वाइफाइ, टिभी लगायतका सेवा यस मालपोत कार्यालयमा छन् । यसकारण पनि यहाँ पहिलोपटक जाने सेवाग्राही अरु कुनै निजी कम्पनीको कार्यालयमा आइएछ कि भनेर दोहोर्याएर पनि सोध्ने गरेको यहाँका कर्मचारीहरुको अनुभव छ । 

कार्यालयमा गएपछि सेवाका लागि लाम लागेर वा अस्तव्यस्त भीड हुनेगरी सेवाग्राही उभिएर बस्नु पर्दैन । 

रोक्का, फुकवा, राजिनामा लगायत के कामका लागि गइएको हो सोहीअनुसारको कुपनका लागि गत माघ १ देखि नै बैंकहरुमा जस्तै टच स्क्रिन टोकन मेसिनको लिने व्यवस्था गरिएको छ । यसबाट टोकन लिएपछि क्यु डिस्प्ले स्क्रिनमा आफ्नो पालो आएको र सम्बन्धित काउन्टरको विवरण देखिने छ । सोपछि सम्बन्धित काउन्टरमा गएर आफ्नो काम गराउन सकिनेछ । 

त्यतिन्जेल सेवाग्राही एसी जडित रुपमा आरामले बसेर वाइफाइ जोडेर इन्टरनेट चलाउने वा टिभी हेरेर मनोरन्जन गर्न सक्नेछन् ।

९५ प्रतिशत सेवाग्राही सन्तुष्ट
मालपोत कार्यालय पाँचथरले सेवा लिइसकेपछि सेवाग्राहीको प्रतिक्रियाका लागि पुस्तिकाको प्रबन्ध गरेको छ, जसमा सेवाग्राहीले आफ्नो सन्तुष्टी वा असन्तुष्टी लेख्न पाउने छन्।

उक्त पुस्तिकामा महिनाभर सेवा लिएका सेवाग्राहीले उल्लेख गरेको प्रतिक्रियाका आधारमा ९० देखि ९५ प्रतिशतसम्म सेवाग्राही सन्तुष्ट रहेको देखिएको पोखरेलले बताए।

'कहिलेकाहीँ इन्टरनेटमा समस्या आउँदा सेवाग्राहीको काम तोकिएको समयमा हुन सक्दैन। त्यसैले नेगेटिभ कमेन्ट पनि आउने गरेको हो । अन्यथा प्रायः सेवाग्राही सन्तुष्ट हुनुहुन्छ,' उनले भने।

सबै सेवाग्राहीलाई निःशुल्क चिया
दसैंपछि यस मालपोत कार्यालयले सबै सेवाग्राहीलाई निःशुल्क चिया खुवाउने योजनासहित चिया बनाउने मेसिन खरिदको प्रकिया सुरु गरिसकेको पोखरेलले बताए।

'मालपोत कार्यालयमा आउने सेवाग्राहीले कम्तिमा एक सय रुपैयाँ राजस्व तिरेर जान्छ। हामीलाई सय रुपैयाँ राजस्व तिर्ने सेवाग्राहीलाई हामी १० रुपैयाँको चिया खुवाउन त सक्छौं नि भन्ने लागेर चिया बनाउने मेसिन राख्ने योजना बनाएका हौं,' उनले भने।

भीआरएस पनि लागु
कार्यालयले केही समयअघिदेखि नै भीआरएस सेवा पनि सुरु गरेको छ । सेवाग्राहीले कुन सेवा लिन के-के कागजपत्र चाहिने, कहाँ-कहाँ सम्पर्क गर्ने लगायतका कुरा भीआरएसबाट थाहा पाउनेछन् । 
यो सेवामा सेवाग्राहीले कार्यालयको प्रणालीअन्तर्गतको टेलिफोनबाट १, २, ३ लगायतका नम्बर डायल गरेर सोझै सम्बन्धित विभाग वा कर्मचारीसँग सम्पर्क गरेर आफ्नो कामसँग सम्‍बन्धित जानकारी लिन सक्ने बनाउन लागिएको पनि पोखरेलले जानकारी दिए ।
'१ डायल गरेर कर्मचारीसँग कुरा गर्न सक्ने, रोक्काबारे बुझ्न २, फुकुवाबारे बुझ्न ३ डायल गरेर जानकारी लिन सक्ने जस्ता विकल्पसहित सेवा छिट्टै पुनः सुरु गरिनेछ,' प्राविधिक समस्याका कारण तत्काल भने रोकिएको भीआरएसबारे पोखरेल भन्छन् ।

सेवा सुधारका लागि आफैंमा प्रतिस्पर्धा
पछिल्लो समय मालपोत कार्यालयहरुबीच कसरी राम्रो सेवा दिने भन्ने विषयमा प्रतिस्पर्धासमेत हुन थालेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन् । 


त्यही क्रमलाई पछ्याउँदा पाँचथर, इलाम, स्याङ्जा, महेन्द्रनगर लगायत ठाउँका मालपोत कार्यालयहरु पछिल्लो समय सुशासनमा अब्बल देखिएको उनले बताए।

अहिले देशभर रहेका १३१ वटा मालपोत कार्यालयमध्ये १२६ वटा मात्रै सञ्चालनमा छन्। तीमध्ये १०८ वटा कार्यालयमा अनलाइन प्रणाली लागु भइसकेको छ।