BIZMANDU
www.bizmandu.com

डीडीसीको स्पष्टीकरण: ‘बटर एक वर्षसम्म अन्य उत्पादनका लागि प्रयोग गर्न सकिन्छ’

२०७७ असोज २९


काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) ले स्पष्टीकरण दिँदै बटर एक वर्षसम्म अन्य उत्पादनका लागि प्रयोग गर्ने सकिने दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं महानगरपालिकाको कृषि विभागले गरेको अनुगमनमा संस्थानको दुग्ध वितरण आयोजना बालाजुमा १ लाख ९४ हजार ९ सय ७५ केजी बटर (मख्खन) म्याद नाघेको फेला परेको थियो। बुधबार विज्ञप्ति जारी गर्दै संस्थानको भण्डारण सुविधा (डिप रेफ्रिजेरेसन) र प्रोटोकल अनुसार मखन एक वर्षसम्म अन्य उत्पादनका लागि  प्रयोग गर्न सकिने वैज्ञानिक आधार रहेको दाबी गरेको छ।

'दुग्ध पदार्थको भण्डारण आयु कति हुने भन्ने कुरा उक्त पदार्थको बनावट, गुणस्तर र भण्डारण सुविधामा निर्भर हुने गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'मौज्दातमा रहेको मखन सोझै उपभोक्तालाई बिक्री प्रयोजनका लागि नभइ विभिन्न दुग्धजन्य उत्पादनहरु बनाउनका लागि कच्चा पदार्थका रूपमा संरक्षण गरिराखेको हो।' 

संस्थानको डिप रेफ्रिजेरेसन तापक्रममा भण्डारण भएका मखनको रंग, बास्ना, फ्री फ्याक्ट्री एसिड र्‍यान्सिडेटी,पेरोक्साइड भ्यालु लगायतका विशेषताहरु समय समयमा परीक्षण गर्ने गरिन्छ। उल्लेखित मख्खनको परीक्षण नतिजा सन्तोषजनक रहेकाले संरचना तथा गुणस्तरमा कुनै ह्रास नआएको दाबी गरिएको छ।

डीडीसीले  देशैभरिका कृषकबाट उत्पादित दूधलाई प्रशोधन गरि दूध तथा दुग्धजन्य पदार्थहरुको बजारीकरण गर्दै आएको छ। बजार मागभन्दा बढी संकलित दूधलाई कन्भर्सन गरि धुलो र मख्खन बनाउने गर्छ।

कोरोना महामारी फैलन रोक्न जारी गरिएको बन्दाबन्दीको समयमा एकातिर दूध र दुग्धजन्य पदार्थको बजार खपत न्यून भएको थियो। अर्कातर्फ स्थानीय दुग्ध उत्पादक कृषकहरुबाट संस्थानलाई नियमित खपत क्षमताभन्दा बढी  कच्चा दूध संकलन गर्ने  परिस्थिति सृजना हुने अवस्था भएको डीडीसीले जनाएको छ।

बन्दाबन्दीको समयमा संस्थानको आफ्नो कारखानाको प्रशोधन क्षमताभन्दा बढी दूध संकलन भएको र त्यसलाई  तत्काल प्रशोधन नगरेमा भण्डारण र गुणस्तरमा समस्या आउने अवस्था भएको थियो। सोही कारण  निजी क्षेत्रबाट संचालित सुजल डेरी प्रालिबाट  संचालित उद्योगबाट संस्थानले संकलन गरेको दूधलाइ प्रशोधन गरी धूलो र मख्खन उत्पादन गरेको हो। जसलाइ संस्थानको भण्डारण कक्षमा भण्डारण गरिएको विज्ञप्तिमा उल्लेख छ।

डीडीसीका उत्पादनका  विषयमा उजुरी र गुनासाहरु आएपछि महानगरको टोली अनुगमनका लागि पुगेको थियो। काठमाडौंका बजारमा डीडीसीका उत्पादनको ठूलो हिस्सा रहेकाले गुणस्तरमा प्रश्न उठेपछि अनुगमन गरिएको हो। सोही क्रममा करिब १६ करोड रुपैयाँ बराबरको १ लाख ९४ हजार ९ सय ७५ केजी मख्खन म्याद नाघेको फेला परेको हो।  

मख्खन उत्पादन गरेको ८ महिनाभित्र प्रयोग गरिसक्नुपर्छ। मख्खन राखिएका २५ केजीका बाकसमा अगष्टसम्म उपभोग्य मिति राखेको पाइएको थियो। हातैले जथाभावी मिति लेखिएको पनि पाइएको थियो।