BIZMANDU
www.bizmandu.com

जीएसएम भ्वाइस सेवामा एनटीसी अघि, फोरजीमा एनसेलको दबदबा कायमै, यस्तो छ तथ्यांक

२०७७ असोज २९

https://bizmandu.com/assets/upload/images/ZxWYP7Y4VB5V(1).jpgकाठमाडौं। जीएसएम मोबाइल (भ्वाइस) सेवा सब्स्क्राइब गर्ने उपभोक्ताको संख्या घटेको छ। दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआइएस रिपोर्ट अनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमबाहेक दुवै निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्टको जीएसएम मोबाइल (भ्वाइस) सब्स्क्राइब गर्ने ग्राहक संख्या घटेको देखिएको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले गत महिना प्रकाशित रिपोर्टमा गत असारसम्मको र पछिल्लो रिपोर्टमा साउन २०७७ सम्मको तथ्यांक समावेश गरेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमको मात्रै जिएसएम भ्वाइस सेवा लिने ग्राहक संख्या बढेको देखिन्छ। गत महिना प्रकाशित रिपोर्टमा एनटीसीको जीएसएम भ्वाइस सेवा लिने एक करोड ७४ लाख ८० हजार नौ सय ६४ थिए भने अहिले त्यो बढेर १ करोड ७५ लाख १५ हजार १९ पुगेको प्राधिकरणले जनाएको छ। एक महिनाको अन्तरालमा एनटीसीको जीएसएम मोबाइल (भ्वाइस) लिने ३४ हजारले बढेका छन्।

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलको जिएसएम भ्वाइस सेवा लिनेको संख्या घटेको देखिन्छ। गत महिना प्रकाशित रिपोर्टअनुसार एक करोड ५७ लाख ६१ हजार नौ सय तीन उपभोक्ताले एनसेलको जिएसएम भ्वाइस सेवा लिएकोमा साउनमा यो संख्यामा एक लाख २२ हजार तीन सय ३२ घटेर एक करोड ५६ लाख ३९ हजार पाँच सय ७१ पुगेको प्राधिकरणले जनाएको छ। यस्तै, निजी क्षेत्रको अर्को दूरसञ्चार सेवा प्रदायक स्मार्टको भ्वाइस सेवा लिने पनि घटेको देखिन्छ।

असारमा २१ लाख ४७ हजार ८० जनाले भ्वाइस सेवा प्रयोग गरेकोमा यसमा १७ सय ४१ घटेर २१ लाख ४५ हजार तीन सय ३९ पुगेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ।

योसँगै नेपालमा गत साउनसम्म जीएसएम मोबाइल सेवा (भ्वाइस) प्रयोग गर्ने तीन करोड ५२ लाख ९९ हजार नौ सय २९ छ। यो गत असारको तुलनामा ९० हजारले कम हो। अन्य दूरसञ्चार सेवा प्रदायकहरुले भ्वाइसका लागि जीएसएम मोबाइल सेवा मात्रै दिइरहे पनि एनटीसीले पीएसटीएन, डब्लूएलएल, भिएसएटी र सीडीएमए सेवा दिइरहेको छ। यी सेवा अन्तर्गत एनटीसीका २४ लाख ६० हजारभन्दा बढी ग्राहक रहेको प्राधिकरणले जनाएको छ।

केबल र फाइबर इन्टरनेट प्रयोगकर्ता ३७ हजारले बढे
एक महिनाको अन्तरालमा केबल र फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या झण्डै ३७ हजारले बढेको छ।

साउनसम्म केबल र फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या ४५ लाख ७१ हजार ६ सय ३७ पुगेको प्राधिकरणको तथ्यांकले देखाउँछ। गत असारमा यो संख्या ४५ लाख ३४ हजार हाराहारी थियो।

एनटीसीको फाइबर प्रयोगकर्ता गत असारमा एक लाख ८१ हजार २ सय ३४ रहेकोमा साउनमा साढे ३२ हजारले बढेर झण्डै २ लाख १४ हजार पुगेका छन्। यस्तै, अन्य इन्टरनेट सेवा प्रदायकहरुको केबल र फाइबर इन्टरनेट चलाउनेको संख्या एक महिनामा जम्मा चार हजारले मात्रै बढेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ। असारमा ४३ लाख ५३ हजार रहेकोमा साउनमा बढेर ४३ लाख ५७ हजार पुगेको देखिन्छ।

यस्तै, एनटीसीको एडीएसएल सेवा लिनेको संख्या घट्दै गएको देखिन्छ। साउनमा झण्डै २२ हजार एडीएसएल प्रयोगकर्ता घटेर ९ लाख २४ हजारले मात्रै सो सेवा लिइरहेको प्राधिकरणले जनाएको छ।

फोरजी सेवामा एनसेलको दबदबा कायमै
एनसेल आजियटाको फोरजी सेवा प्रयोग गर्ने ग्राहक ३७ लाख ६२ हजार नाघेका छन्। एनटीसीभन्दा साढे दुई गुणा बढी ग्राहक एनसेलको रहेको प्राधिकरणको तथ्यांकले देखाउँछ।

एनसेलको आक्रामक बजार रणनीति र गुणस्तरका कारण ग्राहकको पहिलो रोजाइमा परेको छ। चार अर्ब रुपैयाँमा टूजी र थ्रीजीलाई स्तरोन्नति गर्ने प्रस्तावलाई लत्याउँदै एनटीसीले महँगो थ्रीजी प्रणालीलाई अपग्रेड गरेको थियो। टेलिकमको भन्दा निकै कम लगानीमै एनसेलले छोटो समयमा एनटीसीभन्दा दोब्बर ग्राहक बनाइसकेको छ।

साउनसम्म एनटीसीको फोरजी सेवा लिने १५ लाख ५१ हजार भन्दा बढी पुगेको छ। असारको तुलनामा एनटीसीले साउनमा झण्डै दोब्बरले वृद्धि गरेको देखिन्छ। असारमा आठ लाख ४३ हजार नौ सय ६९ रहेको ग्राहक संख्या साउनमा सात लाख थपिएको छ । एनसेलभन्दा पाँच महिना अगाडि फोरजी सेवा सुरु गरेको एनटीसीको फोरजी ग्राहक १५ लाख ५१ हजार आठ सय ७३ पुगेको प्राधिकरणले जनाएको छ।

स्मार्टको फोरजी प्रयोगकर्ता पनि बढेको देखिन्छ। एक महिनामा साढे २० हजारभन्दा बढी ग्राहक थपेको स्मार्टको फोरजी प्रयोगकर्ता संख्या दुई लाख नाघेको छ। साउनसम्म एनटीसीको थ्रीजी प्रयोगकर्ता ८६ लाख ६६ हजार ८ सय ६१ रहेको छ भने एनसेलको २८ लाख ८४ हजार ८ सय २ रहेको प्राधिकरणले जनाएको छ। स्मार्टको थ्रीजी प्रयोगकर्ता संख्या शून्य छ।