काठमाडौं। विभिन्न १५ वटा कम्पनीहरुले साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) को तयारी गरेका छन्। यसका लागि उक्त कम्पनीहरुले निवदेन दर्ता गराएको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जनाएको छ।
आईपीओका लागि आवेदन दिएका कम्पनीहरुमा अधिकांश जलविद्युत क्षेत्रका छन्। सेबोनका अनुसार साधारण सेयर निष्कासनको निवेदन पेश गर्नेमा १० जलविद्युत कम्पनी छन्। अन्यमा बीमा, लघुवित्त र पर्यटन सेवासँग सम्बन्धित छन्।
यी सबै कम्पनीको सेयर निष्कासन तथा बिक्री हुँदा बजारमा कुल चार करोड ४४ लाख ७३ हजार ७ सय ४६ कित्ता सेयर फ्लोट हुनेछ। जलविद्युतको हकमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले समेत गरी सर्वसाधारणले उक्त सेयर खरिद गर्न पाउनेछन्।
आवेदन परेका कम्पनीहरुको वित्तीय अवस्था हेरेर स्वीकृति दिने बोर्डले जनाएको छ। यसैक्रममा बोर्डले हाल चन्द्रागिरि हिल्स र केही जलविद्युतको विवरण अध्ययन अन्तिम चरणमा रहेको समेत जानकारी दिएको छ।
बीमा र लघुवित्त कम्पनीहरुलाई बोर्डले तुलनात्मक रूपमा अन्य भन्दा कम अवधिमा स्वीकृति दिने गरेको छ। जलविद्युतको सेयर जारी अनुमतिमा भने ढिलाई हुने गरेको छ। यसैले बोर्डमा तीन वर्षअघि नै प्राथमिक सेयर जारीका लागि निवेदन दिएका कम्पनीहरु समेत अहिलेसम्म पाइपलाइनमा छन्।
जलविद्युत कम्पनीले सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिनुअघि विद्युत नियमन आयोगबाट समेत स्वीकृत भएर आउनुपर्ने व्यवस्था भएकाले पनि बढी समय लाग्ने गरेको बोर्डका सहप्रवक्ता रुपेश केसी बताउँछन्। पछिल्लो समय आयोगको स्वीकृति नलिई बोर्डमा निवेदन दिएका जलविद्युत कम्पनीहरुको प्रक्रिया आयोगमा नै अड्किएकाले पनि बोर्डले अनुमति दिन ढिलाई भएको उनको भनाइ छ।
मैलुङ खोला र सीईबीडी हाइड्रोपावर २०७४ सालदेखि आईपीओ स्वीकृतिको पखाईमा छन्। यी दुवैले नियमन आयोगबाट स्वीकृति पाइसकेका हुन्। यद्यपि, बोर्डले भने कम्पनीको अवस्थाबारे अध्ययन गर्न बाँकी रहेको जनाएको छ। यसले केही वर्षअघिको वित्तीय विवरण मात्र पेश गरेको छ भने बाढी पहिरोले आयोजनामा पुर्याएको क्षतिबारे यथेष्ट जानकारी नभइसकेकाले पनि अनुमति दिन नसकिएको बोर्डको भनाइ छ।
आईपीओको पाइपलाइनमा रहेका शुभम् पावर, मध्य भोटेकोसी, ग्रीन लाइफ हाइड्रो, सिंगटी हाइड्रोपावर र हिमालयन हाइड्रो लगायतका जलविद्युत कम्पनीहरुले पनि आयोगले स्वीकृति दिइसकेको आयोगका प्रवक्ता रामप्रसाद धितालले जानकारी दिए। यीमध्ये सिंगटी हाइड्रोपावरको भने सेयर प्रत्याभूतिकर्ता (अन्डरराइटर) सँगको विवादका कारण आयोगले स्वीकृति दिन ढिलाइ गरेको थियो।
आईपीओमा आकर्षण बढेपछि डिम्याट खोल्नेको संख्या २० लाख नाघ्यो
पछिल्लो समय लघुवित्त र बीमा कम्पनीहरुको सेयर निष्कासन गर्ने क्रम बढ्दै गएपछि डिम्याट खोल्नेहरुको संख्या पनि थपिने क्रम तीव्र हुँदै गएको छ। गत वैशाखयता नै डिम्याट खाता खोल्नेको संख्या ४ लाख २३ हजारले बढेको छ।
सिडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार असोज २७ सम्म डिम्याट खाता खोल्नेको कुल संख्या २० लाख ८० हजार ३ सय पुगिसकेको छ। यसमा एक लाख २२ हजार हाराहारीका डिम्याट खाता भने दोहोरिएको सिडीएसले जनाएको छ।
गत वैशाखमा डिम्याट खाता खोल्नेहरुको संख्या १६ लाख ५७ हजार हाराहारीमा थियो भने भदौको दोस्रो सातासम्ममा यो १८ लाख ३७ हजार २९३ थियो। नयाँ बीमा कम्पनीहरुको आईपीओ आउने क्रममा रहेकाले डिम्याट खोल्नेको संख्या अझै बढ्दै जाने सिडीएसका प्रवक्ता सुरेश न्यौपाने बताउँछन्।
कोरोना भाइरसको संक्रमण दर बढेयता बैंकसम्म पुगेर लाइन लागेर भीडमा सेयर भर्न खोज्ने घटेका छन् भने अनलाइनबाटै सेयर आवेदन दिनका लागि डिम्याट खाता खोल्ने बढेको न्यौपानेको भनाइ छ।
पछिल्लो समय लघुवित्त र बीमा कम्पनीको आईपीओले पनि डिम्याट खाता खोल्ने खोज्नेहरु बढ्दै गएको बताइएको छ। यस्तै, कोभिड-१९ ले लगानीका विकल्प न्यून हुँदा सेयरबजारमा नयाँ लगानीकर्ताहरु पनि प्रवेश गरेकाले पनि सेयर किनबेचका लागि डिम्याट खाता खोल्ने क्रम अत्यधिक बढेको सीडीएसका प्रवक्ता न्यौपाने बताउँछन्।
अनलाइन आवेदनको क्रम बढेसँगै पछिल्लो समय निष्कासन भएका साधारण सेयरहरुमा ९ लाख जनाको हाराहारीबाट आवेदन परेको आँकडा छ। यसबाट पनि सर्वसाधारणहरुले आईपीओमा आवेदनकै लागि भएपनि डिम्याट खाता खोल्न थालेको बुझिन्छ। किनकि प्राथमिक निष्कासन वा दोस्रो बजारमा पनि सेयर किनबेचका लागि डिम्याट खाता हुनै पर्छ।
साधारण सेयर जारी (आईपीओ) का लागि निवेदन दिएका कम्पनी
कम्पनी |
कित्ता |
बिक्री प्रबन्धक |
हिमालयन हाइडोपावर लिमिटेड |
2250000 |
जनता क्यापिटल |
बिन्धवासिनी हाइडोपावर डे.कम्पनी |
2500000 |
सानिमा क्यापिटल |
रु.रु जलविद्युत परियोजना लि. |
815411 |
एनएमबि क्यापिटल |
डिस होम नेटवर्क लि. |
2385929 |
ग्लोवल आइएमई क्यापिटल |
सुभवम् पावर लि. |
580580 |
सिबिआइएल क्यापिटल |
इमर्जिन लि.नेपाल |
500000 |
एनआइसी एशिया क्यापिटल |
सिइडिबि हाइडोपावर डेभलपमेण्ट |
2518230 |
सन्राइज क्यापिटल |
तेह्रथुम पावर कम्पनी |
1200000 |
एनआइबिएल एस कयपिटल |
सिबिआइएल क्यापिटल |
300000 |
नेपाल एसबिआई मर्चेण्ट |
मैलुन खोला जलविद्युत कम्पनी |
736286 |
सिद्धार्थ क्यापिटल |
ग्रिन लाइफ हाइडा्पावर |
3496400 |
बिओके क्यापिटल |
सिंगटी हाइडो इनर्जी |
4350000 |
मेगा क्यापिटल |
मध्य भोटेकोशी जलविद्युत कम्पनी |
15000000 |
ग्लोवल आइएमई क्यापिटल |
चन्द्रागिरी हिल्स लि. |
1840910 |
ग्लोवल आइएमई क्यापिटल |
प्रभु लाइफ इन्स्योरेन्स |
6000000 |
सिद्धार्थ क्यापिटल |
जम्मा प्रस्तावित आईपीओ कित्ता |
4,44,73,746 |
|