BIZMANDU
www.bizmandu.com

बन्दाबन्दी खुकुलो भएसँगै बाइक खरिद गर्ने ग्राहकको ओइरो, मागका मोडेल उपलब्ध गराउन चाप


बन्दाबन्दी खुकुलो भएसँगै बाइक खरिद गर्ने ग्राहकको ओइरो, मागका मोडेल उपलब्ध गराउन चाप
बन्दाबन्दी खुकुलो भएसँगै बाइक खरिद गर्ने ग्राहकको ओइरो, मागका मोडेल उपलब्ध गराउन चाप

Tata
GBIME
Nepal Life

काठमाडौं। बन्दाबन्दी खुकुलो भएसँगै मोटरसाइकल खरिद गर्ने ग्राहकको ओइरो लागेको छ। मुलुकमा विभिन्न ब्राण्डका बाइक बिक्री गर्दै आएका बजाज, टिभीएस, हिरो, होण्डा, यामाहा, महिन्द्रा लगायतका नेपालका लागि आधिकारिक बिक्रेताहरूले ग्राहकको माग धेरै आएपछि आपूर्ति गर्नै धौधौ परेको जनाएका छन्।

असोज १ पछि मोटरसाइकल बिक्रेताहरूले बजार सहज भएको मौकामा बिभिन्न अफरहरू ल्याएर ग्राहक लोभ्याएका मात्र छैनन्, धमाधम नयाँ मोडल बजारमा उतारेका छन्। पावरफुल बाइकका नयाँ मोडल सुविधा थपिँदै बजारमा आउँदा प्रयोगकर्ताका लागि छनोटको क्षेत्र पनि फाराकिलो भएको छ।  

कोरोना संक्रमणबाट जोगिनका लागि सामाजिक दुरी कायम गर्नैपर्ने भएकाले मध्यमवर्गीयको रोजाइ र बाध्यताको सवारी साधन मोटरसाइकल बनेको छ। लामो समय आर्थिक गतिविधि ठप्प रहेर बजार पुनः खुल्दा व्यवसायीको अपेक्षाभन्दा राम्रो कारोबार भइरहेको छ।

सरल फाइनान्सिङको सुविधाले पनि ग्राहकलाई सजिलो भएको छ। मोटरसाइकल खरिदमा बढेको चापसँगै मागका धेरै हुने मोडल उपब्ध गराउन कम्पनीहरूलाई चाप परेको छ। केही कम्पनीले लिएको आक्रामक बजार नीतिले पनि कारोबार बढाएको छ।

तीन महिनाको अन्तरालमा १५ हजार वटाभन्दा बढी मोटरसाइकल बिक्री भइसकेको टिभीएस बाइकको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ। जुलाई महिनादेखि बन्दाबन्दी खुकुलो भएसँगै बिक्री व्यवसायले गत वर्षको तुलनामा थप राम्रोसँग गति लिएको कम्पनीका बिक्री महाप्रबन्धक दीपक रौनियारले बताए। 

चाडबाडमा नयाँ साधन जोड्नुका साथै दुई पाङ्ग्रे प्रयोगकर्ताले हालको अवस्थालाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले मोटरसाइकल खरिदमा चासो देखाउँदा बजारमा सकारात्मक प्रभाव परेको उनले बताए। 

'बिक्रीले गत वर्षको तुलनामा राम्रै गति लिएको छ। तर बीचमा यो वर्ष पर्न गएको मलमासका कारण बजार स्लो डाउन भएको थियो। केही गरी पुनः लकडाउन नभएको अवस्थामा अब घटस्थापनादेखि व्यवसायले भिन्न रूपमा अझै राम्रो गति लिन्छ भन्ने आशा छ,' उनले भने। 

टिभएसको बाइक अन्तर्गत अपाचे सिरिज र स्कुटर सेगमेन्ट अन्तर्गत एनटर्कको माग धेरै भएको उनले जानकारी दिए। 'केही दिन अगाडि पनि स्टक सकिएको थियो। भारतमा बाइक तथा स्कुटरमा जडान हुने पार्टपुर्जा विभिन्न उद्योगले उत्पादन गर्दै आएका छन्। अहिले भारतमा कतिपय उद्योगहरु कोभिड कै कारणले सहज तवरले चल्न सकेका छैनन्। ९९ प्रतिशत तयारी भए पनि एउटा रबरकै कमी हुँदाको अवस्थामा पनि यता सप्लाइ हुन ढिलाइ हुन्छ नी,' उनले भने। 

यो समयमा विगतका वर्षमा जस्तै बाइकको माग र बिक्री हुँदै आएको बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ। जुलाईदेखि बजार खुकुलो भएसँगै मलमासमा पनि बिक्री र मागमा असर नपरेको कम्पनीले जनाएको छ। 

'चाडबाडमा जसरी बिक्री हुनुपर्ने हो उही रूपमा बिक्री भइरहेको छ। तर कोभिडका कारण यतिखेर सर्वसाधरणको क्रय शक्ति कम हुँदे गएको छ। अहिलेको आवश्यकतालाई मध्यनजर गर्दे प्राय ग्राहकले डाउनपेमेन्ट गरेरै भए पनि बाइक खरिद गर्दै आउनुभएको छ,' कम्पनीकी उप-महाप्रबन्धक पुनम सिंहले भनिन्। 

बजाजको पल्सर र डिस्कभर लगायत सबै सेगमेन्ट अन्तर्गतका बाइकको माग बराबरी रुपमा हुँदै आएको उनले जानकारी दिइन्। 'हामीले ग्राहकको माग अनुसारको आपूर्ति गर्दै आएका छौं,' उनले भनिन्। 

लकडाउन खुकुलो भएयता बाइक बिक्रीले गति लिन सुरु गरेको हिरो बाइकको आधिकारिक बिक्रेता कम्पनी नेपाल जेनरल मार्केटिङले जनाएको छ। विगतका वर्षमा झैं यो समय बाइक बिक्री उल्लेख्य नरहे पनि क्रमिक रूपमा गति लिएको कम्पनीकी कर्पोरेट मेनेजर मिनरवा बज्राचार्यले बताइन्।

यतिखेर बजार ५० प्रतिशतले तल झरेको जानकारी दिँदै उनले भनिन्,'कोभिडको प्रभावले अहिले सर्वसाधारणको क्रय शक्ति नै कम भएको पाइएको छ। तैपनि अहिलेको आवश्यकताको प्राथमिकता पनि बाइक नै रहेको छ। क्रमिक रूपमा बिक्रीले गति लिँदै जानुका साथै हामीले पनि सेवा दिने मौका पाइरहेका छौं।'  

उनका अनुसार विगतका वर्षमा कम्पनीले एक वर्षमा करिब ३५ हजार थान हिरो बाइक बिक्री गर्दै आएको थियो। 'विगतका वर्षमा नाडा अटो शो हुन्थ्यो। मासमा बाइक बिक्री हुँदै आएको थियो। अहिले त्यस्तो अवस्था छैन,' उनले भनिन्। 

कोभिड-१९का कारण विगतको वर्ष झैँ यो वर्ष बाइक बिक्री अपेक्षित परिमाणमा हुन कठिन देखिएको उनको भनाइ छ। यतिखेर हिरो बाइक अन्तर्गत एक्स पल्स र सक्टर अन्तर्गत डेस्टिनीको माग बढिरहेको उनले बताइन्।

माग बढी भएका बाइकको आपूर्ति गर्न गाह्रै रहेको बताउँदै उनले भनिन्, 'अहिले माग बढी रहेको मोडलका बाइक आउन ढिलाइ भइरहेको छ। ग्राहक सेवालाई मध्यनजर गर्दै हामीले माग अनुसारको आपूर्ति भने गर्दै आएका छौं।' 

गत वर्षको तुलनामा यो वर्ष होण्डा बाइक बिक्री बढेको आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ। पछिल्लो समय ग्राहकको माग अनुसारको सप्लाइ गर्न गाह्रो भइरहेको कम्पनीका बिजनेस डेभलपमेन्ट मेनेजर निजेनलाल श्रेष्ठले जानकारी दिए। 

'गत वर्षको तुलनामा यो वर्ष यही समय बाइकको माग बढेको छ। तर विभिन्न कारणवश सप्लाइ गर्न ढिलाइ भइरहेको अवस्था छ,' उनले भने। 
यतिखेर ग्राहकबाट होण्डाको बाइक अन्तर्गत साइन, स्कुटर अन्तर्गत ग्रजिया र डियोको माग धेरै आइरहेको उनले बताए।

बाइकको बढ्दो मागलाई ध्यानमा राख्दै मंगलबारदेखि जावाका बाइकको पनि बिक्री सुरू भएको छ। रोयल इनफिल्डको बजारलाई उक्त बाइकले टक्कर दिने देखिएको छ। परम्परागतरूपमा चलेका ब्राण्डका तुलनामा मंहगो मूल्य तिरे पनि लामो दुरीका लागि सुविधायुक्त बाइक लिने पारखी बढ्दा बजारमा रोयल इन्फिल्ड र ड्युकसँगै  चिनियाँ तथा कोरियन कम्पनीका उत्पादनको बिक्रीको ग्राफ पनि राम्रै देखिएको छ।

मोटरसाइकल खरिदमा देखिएको फाइदा रिकन्डिसन हाउसहरूले पनि राम्रैसँग उठाइरहेका छन्। गत साउनयता पुराना मोटरसाइकलको खरिदबिक्री पनि बढेको छ। खरिदपछिको सर्भिसलाई पनि ध्यानमा राखेर प्रयोगकर्ताले मोटरसाइकल रोज्ने गरेका छन्।