BIZMANDU
www.bizmandu.com

४० मध्ये ९ आइएसपीले मात्रै सुरु गरे टोल फ्री नम्बर, सुरु नगर्नेलाई प्राधिकरणको कारबाही तयारी

२०७७ असोज २८

Tata
GBIME
Nepal Life

काठमाडौं। उपभोक्ताको गुनासो सम्बोधन गर्न शुल्क नलाग्ने टोल फ्री नम्बर सुरु नगर्ने आइएसपी माथि दूरसञ्चार प्राधिकरणले कारवाही गर्ने चेतावनी दिएको छ। 

प्राधिकरणले तीन महिनाअघि आइएसपीहरुले दिने सेवा सम्बन्धमा उपभोक्ताहरुको गुनासो साथै आवश्यक सहयोग र मर्मत (सपोर्ट एण्ड मेन्टेनेन्स्) का लागि टोल फ्री नम्बर सुरु गर्ने निर्देशन दिएको थियो। तर, तीन महिना बितिसक्दा पनि सरकारी स्वामित्वको नेपाल टेलिकमसहित वर्ल्डलिंक, सुबिसुसहित अन्य ६ वटा आइएसपीहरुले मात्रै सेवा सुरु गरेको प्राधिकरणले जनाएको छ।

अहिलेसम्म जम्मा नौ वटा आइएसपीहरुले मात्रै सेवा सुरु गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए। आफ्ना ग्राहकले सेवा सम्बन्धी कुनै पनि समस्या वा जिज्ञासा हुँदा ग्राहकले फोन गर्दा टोल फ्रीमा उनीहरूलाई शुल्क लाग्दैन। कम्पनीहरूले आफ्नो सेवाको गुणस्तर राम्रो बनाइरहन ग्राहकलाई दिनै पर्ने सुविधामा यो पर्छ।

कस-कसले राखे टोल फ्री

आइएसपी

टोल फ्री नम्बर

नेपाल टेलिकम

१४९८, १९८

वर्ल्ड लिंक

१६६००१-५५०५०

सुबिसु

१६६००१-५९९९९

ब्रोडब्याण्ड नेपाल

१६६००१-५२००४

टेकमाइन्ड्स नेपाल

१६६०५६-५१२२२ (एनटीसी प्रयोगकर्ताका लागि)

९८०१५७५६६६ (एनसेल प्रयोगकर्ताका लागि)

इस्ट लिंक टेक्नोलोजी

१६६००१-९५९८५

स्काइ ब्रोडब्याण्ड

१६६००१-५८८८७

एरोनेट

१६६००१-४२२२२

मेट्रोलिंक बिजनेस

१६६०७१-५६२२२

प्राधिकरणको निर्देशन पालना नगर्ने आइएसपीहरुलाई दूरसञ्चार ऐन, २०५३ बमोजिमा कारवाही गर्ने जनाएको छ।  ‘टोल फ्री नम्बर सुरु नगर्ने आइएसपी माथि कारवाही प्रक्रिया अघि बढ्छ, तुरुन्तै सेवा सुरु गर्न निर्देशन दिएका छौं,’ अर्यालले भने।

प्राधिकरणले अनुमतिपत्रको सर्त अनुसार उपभोक्तासँग लिइने सेवा शुल्क सम्बन्धी विवरणहरु समेत आइएसपीहरुले निःशुल्क उपलब्ध गराउनुपर्ने गरी निर्देशन जारी गरेको थियो। प्राधिकरणले मासिक रूपमा निकाल्ने पछिल्लो एमआइएस रिपोर्टलाई आधार मान्दा देशभर करिब ४० वटा आइएसपीहरुले सक्रिय रूपमा इन्टरनेट सेवा दिइरहेको देखिन्छ।