BIZMANDU
www.bizmandu.com

बहुप्रतिक्षित आइफोन १२ का चार मोडल सार्वजनिक, मूल्य ६९९ डलरबाट सुरु, अर्को महिनाबाट डेलिभरी

२०७७ असोज २८

बहुप्रतिक्षित आइफोन १२ का चार मोडल सार्वजनिक, मूल्य ६९९ डलरबाट  सुरु, अर्को महिनाबाट डेलिभरी
बहुप्रतिक्षित आइफोन १२ का चार मोडल सार्वजनिक, मूल्य ६९९ डलरबाट सुरु, अर्को महिनाबाट डेलिभरी

टेक कम्पनी एप्पलले आइफोन १२ सिरिज अन्तर्गत मंगलबार राती चार नयाँ मोडल सार्वजनिक गरेको छ। एउटा डिजिटल इभेन्टमार्फत सार्वजनिक यो कार्यक्रम विश्वभरका लाखौं एप्पल फ्यानले हेरेका थिए।

Tata
GBIME
Nepal Life

एप्पलले सार्वजनिक गरेको एप्पल १२ फाइभजी प्रविधिमा आधारित रहेको र यो कम्पनीका लागि नयाँ युगको सुरुवात भएको एप्पल इन्कका प्रमुख कार्यकारी अधिकृत टीम कुकले बताए।

कम्पनीले एप्पल १२ अन्तर्गत आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स गरेर चार नयाँ मोडल सार्वजनिक गरेको हो। यी चार वटै मोडलमा पनि एप्पलले स्टोरेज क्षमताका आधारमा थप तीन/तीन मोडलका मोबाइल सार्वजनिक गरेको छ।

आइफोन १२ र आइफोन १२ मिनी ६४, १२८ र २५६ जीबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछन् भने आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स १२८, २५६ र ५१२ जीबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछन्।

कम्पनीले आइफोन १२ सिरिजमा सबैभन्दा कम ६९९ डलर(८२ हजार नेपाली रुपैयाँ) मूल्य तय गरेको छ भने सबैभन्दा महँगो १३ सय ९९ सय डलर(एक लाख ६५ हजार रुपैयाँ) तय गरेको छ। जस्तो आइफोन १२ मा सबैभन्दा सस्तो आइफोन १२ मिनीको मूल्य ६९९ डलरबाट सुरु हुनेछ।

त्यसैगरी आइफोन १२ को मूल्य ७९९ डलरबाट, आइफोन १२ प्रोको मूल्य ९९९ डलरबाट र आइफोन १२ प्रो म्याक्सको मूल्य १०९९ डलरबाट सुरु हुनेछ। सबैभन्दा महँगो आइफोन १२ प्रो म्याक्सको ५१२ जीबीको १३ सय ९९ डलर पर्नेछ।

भारतमा आइफोन १२ मिनी ६४ जीबीको मूल्य ६९ हजार ९०० भारतीय रुपैयाँबाट सुरु हुनेछ भने सबैभन्दा महँगो ५१२ जीबी क्षमताको आइफोन १२ प्रो म्याक्सलाई एक लाख ५९ हजार ९०० भारतीय रुपैयाँ पर्ने बिबीसीले जानकारी दिएको छ।

आइफोन १२ मिनीको प्रिअर्डर ६ नोभेम्वरबाट सुरु हुनेछ भने १३ नोभेम्वरबाट कम्पनीले डेलिभरी दिन सुरु गर्नेछ। त्यसैगरी आइफोन १२ र आइफोन १२ प्रोको प्रि-अर्डर १६ अक्टुवरबाट सुरु हुनेछ भने त्यसको डेलिभरी २३ अक्टुवरबाट हुने पनि कार्यक्रममा जानकारी दिइयो। त्यसैगरी आइफोन १२ म्याक्सको प्रिअर्डर १३ नोभेम्वरबाट सुरु भएर २० नोभेम्वरबाट बिक्री सुरु हुने बताइएको छ।

भारत र नेपाल लगायतका दक्षिण एशियाली बजारमा आइफोनले आफ्नो नयाँ फ्ल्यागसिप ब्राण्ड कहिलेबाट उपलब्ध गराउँछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी उपलब्ध गराएको छैन।

फाइभजी प्रविधिमा उपलब्ध हुने आइफोनका नयाँ मोडेलमा ओलेड स्क्रिन छन्। एप्पलका सीइओ कुकले नयाँ फोनमा उच्च गुणस्तरमा भिडियोको स्ट्रिमिङ हुने, भिडियो गेम खेल्दा अझ बढी रोमाञ्चकता आउने बताए।

कम्पनीले आइफोन मिनीमा आइफोन १२ मा भएका सबै प्रविधि उपलब्ध हुने तर यसको स्क्रिन साइज भने ५.४ इन्च मात्रै हुने जानकारी दिएको छ। आइफोन १२ को स्क्रिन भने ६.१ इन्चमा उपलब्ध हुने तर यो आइफोन ११ भन्दा पातलो र १६ प्रतिशत हलुका हुने पनि कम्पनीले जानकारी दिएको छ। आइफोन १२ प्रो म्याक्सको स्क्रिन भने पहिलेका आइफोनको तुलनामा केही ठूलो ६.७ इन्च हुनेछ। आइफोन प्रोको स्क्रिन ६.१ इन्च हुनेछ।

नयाँ फोनको स्क्रिन रिजोलुसन धेरै भएको र यसमा सेरामिक सिल्ड प्रयोग गरिएको छ। आइफोन १२ मा पहिलोपटक ए-१४ बायोनिक चिप लगाइएको र पाँच वटा न्यानोमिटर प्रोसेसरमा बनाइएको जानकारी दिइएको छ।

नयाँ फोनमा कम्पनीले १२ मेगापिक्सेलका दुई वटा वाइड एंगल क्यामेरा प्रयोग गरिएको छ। कम्पनीले यसैका कारण कम उज्यालोमा पनि राम्रो तस्बिर खिच्ने दाबी गरेको छ।

त्यसैगरी कम्पनीले नयाँ फोनमा फ्ल्यास नै प्रयोग नगरी नाइटमोड सेल्फी लिन सकिने समेत जानकारी दिएको छ। सामसङले सन् २०१९ को फरवरीमा पहिलोपटक फाइभजी प्रविधिमा आधारित ग्यालेक्सी एस १० सार्वजनिक गरेको थियो। त्यसयता फाइभजी प्रविधिमा हुवावे, वन प्लस र गुगलले आफ्ना फोन सार्वजनिक गरिसकेका छन्।

एप्पलले नयाँ फोनको फाइभजी प्रविधिबाट २० गिगावाइटको कुनै फिल्म ४५ सेकेन्डमा डाउनलोड गर्न सकिने जानकारी दिएको छ। कम्पनीले यसका लागि साढे तीन गिगाबाइट प्रतिसेकेन्डको स्पिडमा आफ्नो प्रविधिको परीक्षण गरेको जानकारी दिएको छ।