BIZMANDU
www.bizmandu.com

कोभिड बिरामी उद्धारका लागि सिम्रिकले थाल्यो विशेष उडान, भाडाबाहेक अढाई लाख अतिरिक्त लाग्ने

२०७७ असोज २७

कोभिड बिरामी उद्धारका लागि सिम्रिकले थाल्यो विशेष उडान, भाडाबाहेक अढाई लाख अतिरिक्त लाग्ने
कोभिड बिरामी उद्धारका लागि सिम्रिकले थाल्यो विशेष उडान, भाडाबाहेक अढाई लाख अतिरिक्त लाग्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड बिरामी उद्धारका लागि सिम्रिक एयरले सोमबारदेखि विशेष उडान थालेको छ। स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधि र नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि सिम्रिकले उडान थालेको हो।

कम्पनीले चीनबाट संक्रमित बिरामी राख्नका लागि विशेष उपकरण मगाएर सेवा थालेको कम्पनीका प्रबन्धक सुनिल श्रेष्ठले बताए। 'दुई महिना अगाडि हामीले कोभिड संक्रमित बिरामीलाई सेवा दिनका लागि अध्ययन गरेका थियौं। हामीले चीनबाट आवश्यक उपकरणसमेत ल्याएर सेवा दिन थालेका हौं,' श्रेष्ठले बिजमाण्डूसँग भने।

यस्तो छ उडानमा पाइने सुविधा र भाडादर
कम्पनीका अनुसार यो उडानमा क्याप्टेन, दुईजना चिकित्सक र विरामी लगायत चारजना राखिनेछ। बिरामी राख्नका लागि आइसोलेटेड उपकरण प्रयोग गरिनेछ। हेर्दा 'ट्रान्सप्यारेन्ट ब्याग' जस्तै उपकरणमा अक्सिजन सप्लाइ, एयर सप्लाइ लगायत भित्रै जडान गरिएको हुन्छ।

बिरामी ल्याउन गएका चालक र चिकित्सकले पिपिइ, मास्क,फेस सिल्ड प्रयोग गरेका हुन्छन्। संक्रमण जोखिमका कारण यो उडानमा बिरामीको आफन्तलाई राखिँदैन। अस्पतालमा पुर्‍याए लगत्तै बिरामीलाई सिधै आइसियुमा राखेर उपचार थालिन्छ। एकजना बिरामीका लागि प्रयोग गरिएको आइसोलेसन ब्याग पुनः प्रयोगका लागि डिसइन्फेक्ट गरिने कम्पनीले जनाएको छ।

आइसोलेसन ब्याग पोर्टेबल भएकाले सबै हेलिकोप्टरमार्फत यो सेवा दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो उडानमा मेडिसिटी अस्पतालका चिकित्सक टोलीको सहभागिता हुनेछ। सोमबार सिम्रिकले यो उडानमार्फत बुटवलका एक संक्रमितलाई मेडिसिटी ल्याइसकेको छ भने मंगलबार एक संक्रमितलाई बयोधा अस्पताल ल्याउन लहानबाट बुकिङ भइसकेको छ।

यो सेवा लिनका लागि कम्पनीले रोटर आवरका आधारमा लिँदै आएको साबिकको भाडादर सँगै अतिरिक्त दुई लाख ५० हजार रुपैयाँ निर्धारण गरेको चिफ एक्जिक्युटिभ मार्केटिङ अफिसर योगेश सापकोटाले बताए।