BIZMANDU
www.bizmandu.com

विद्युत प्राधिकरणले समयमा प्रसारणलाइन निर्माण गर्न सकेन्, खेर जाने भयो ५० मेगावाट बिजुली

२०७७ असोज २६

विद्युत प्राधिकरणले समयमा प्रसारणलाइन निर्माण गर्न सकेन्, खेर जाने भयो ५० मेगावाट बिजुली
विद्युत प्राधिकरणले समयमा प्रसारणलाइन निर्माण गर्न सकेन्, खेर जाने भयो ५० मेगावाट बिजुली

Tata
GBIME
NLIC

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले समयमै प्रसारणलाइन निर्माण नगर्दा  लिबर्टी इनर्जी र सिंगटी हाइड्रोको ५० मेगावाट विद्युत खेर गइरहेको छ।

लमजुङमा निर्माण सम्पन्न भएको २५ मेगावाटको माथिल्लो दोर्दी 'ए' आयोजना विद्युत उत्पादन गर्न सक्षम भए पनि प्रसारणलाइन छैन। प्रसारणलाइन निर्माण नहुँदा आयोजनाले विद्युत उत्पादन गर्न नसकेको आयोजनाको प्रवर्द्धक लिबर्टी इनर्जीले जनाएको छ।

आयोजनाको निर्माण सकिएको छ। तर उत्पादित विद्युत प्रसारण गर्ने लाइन भने निर्माण नहुँदा विद्युत उत्पादनको काम अघि बढ्न नसकेको आयोजनाका एक सञ्चालकले बताए।

त्यस्तै दोलखामा निर्माण सम्पन्न भएको २५ मेगावाटकै सिंगटी जलविद्युत आयोजनाले पनि प्रसारणलाइन निर्माणको अभावमा विद्युत उत्पादन गर्न नसकेको सिंगटी हाइड्रोका कार्यकारी निर्देशक गणेश कार्कीले बताए।

सिंगटीको विद्युत प्रवाह गर्ने प्रसारण लाइनको एउटा मात्रै टावर निर्माण गर्न बाँकी छ। प्राधिकरणले चाहेमा १५ दिनमै काम सक्ने भए पनि कोभिडलाई कारण देखाउँदै काममा ढिलाई गर्दा सिंगटीले पनि मासिक ४ करोड रुपैयाँ बैंक ब्याजको भार बोक्ने गरेको कार्कीले बताए।

दोर्दी करिडोरमै हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको काम पनि लगभग सकिएको छ। तर यो आयोजनाको विद्युत प्रसारण गर्ने दोर्दी करिडोर प्रसारणलाइन नबनेकाले विद्युत उत्पादन मिति भने पर सर्दै आएको आयोजनाले जनाएको छ।

अहिले कोभिडलाई कारण देखाउँदै प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाई भएको भने पनि दोर्दी करिडोर आयोजनाको प्रसारणलाइन निर्माण भने २०७४ सालमै सकिसक्ने सम्झौता गरिएको थियो। समयमै प्रसारण लाइन निर्माण नहुँदा अहिले कोभिड असरले त्यसलाई झन पर सारेको छ।

लिबर्टीले २०७३ सालमा विद्युत उत्पादन गर्ने सम्झौता गर्दा प्राधिकरणले २०७३ मै प्रसारणलाइन निर्माण भइसक्ने दाबी गरेको थियो। तर भूकम्पका कारण आयोजनाको निर्माण अवधि लम्बिएपछि योजनाको विद्युत उत्पादन र प्रसारण लाइन २०७४ सालमा निर्माण हुने नयाँ कार्यतालिका तोकिएको थियो। अहिले २०७७ को आधा वर्ष बितिसक्दा जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ भने प्रसारणलाइनको ५ वटा टावर मात्रै ठडिएका छन्।

दोर्दी करिडोर १३२ केभी प्रसारणलाइन आयोजनाका आयोजना प्रमुख रमेश पौडेल भने सामानहरु सबै आइसकेकाले तीन महिनाभित्र प्रसारणलाइन तयार हुने दाबी गर्छन्। प्रसारणलाइन निर्माण गर्दा सबैभन्दा धेरै समय साइट क्लियर गर्न र सामान ल्याउन लाग्छ। यी दुवै काम सम्पन्न भइसकेकाले टावर जोडेर तार तान्न तीन महिनाभन्दा बढी समय नलाग्ने पौडेलले बताए।

कोभिडका कारण स्थानीयले बाहिरबाट कामदार ल्याउन नदिएकाले प्रसारणलाइनको काम सोचेजति छिटो हुन नसकेको पौडेलले स्वीकारे। दोर्दीको विद्युत जोडिने कीर्तिपुर सवस्टेसन निर्माण सम्पन्न भएर सोमबारदेखि परीक्षणसमेत सुरु गरिएको पनि उनले बताए। आयोजनाको निर्माण र प्रसारण लाइनको निर्माण सँगसँगै सक्ने लक्ष्य अनुसार काम भइरहेको थियो। कोभिड सुरु भएपछि तातोपानी नाका बन्द हुँदा बैशाखमै आएका सामानहरु अहिलेसम्म पनि ल्याउन नसकिएको पौडेलले बताए।

प्रसारणलाइनमा ३७ वटा टावर निर्माण गर्नुपर्नेमा ५ वटा टावर तयार हुँदा ५ वटा टावरको जग नै हालिएको छैन। बाँकी टावरको जग हालिए पनि टावर खडा गर्न सकिएको छैन।