BIZMANDU
www.bizmandu.com

अनिललाई जेल जानबाट जोगाउन यसअघि मुकेश अम्बानीले लिएका थिए आरकमको सम्पत्ति

२०७७ असोज २३

अनिललाई जेल जानबाट जोगाउन यसअघि मुकेश अम्बानीले लिएका थिए आरकमको सम्पत्ति
अनिललाई जेल जानबाट जोगाउन यसअघि मुकेश अम्बानीले लिएका थिए आरकमको सम्पत्ति

Tata
GBIME
Nepal Life

एकातिर विश्वकै टप १० धनाढ्यको सूचीमा रहेका दाजु, अर्कातिर अर्बौको ऋणले थिचिएर जेल जानुपर्ने अवस्थामा पुगेका भाई। भारतीय ब्यापारिक घरानाका दुई दाजुभाई मुकेश अम्बानी र अनिल अम्बानीको तनावपूर्ण सम्बन्धको चर्चा बेला बेलामा हुने गरेको छ। हाल चीनका तीन बैंकलाई निकै ठूलो ऋण तिर्नुपर्ने अवस्थाबीच बेलायतको अदालतमा उपस्थित रहेका अनिललाई दाजु मुकेशले वित्तीय रूपमा सहयोग गर्ने गरी सुमधुर सम्बन्ध नरहेको खुलासा भएको छ। 

यसअघि पनि धनाढ्य दाजु अर्बपति मुकेश अम्बानीले आफ्ना भाई अनिल अम्बानीलाई जेल जानबाट जोगाउन कुनै पनि वित्तीय सहायताको पहल नगरेको दाबी गरिएको छ। सन् २०१९ को मार्चमा टुंगिएको इरिक्सनसँगको मुद्दामा पनि दाजु मुकेशले ब्यक्तिगतरूपमा कुनै पनि किसिमको वित्तीय सहयोग नगरेको दाबी बेलायती अदालत समक्ष गरिएको छ। 

स्विडिस कम्पनी इरिक्सनलाई तिर्नुपर्ने रकमका लागि अनिलको समस्याग्रस्त रिलायन्स कम्युनिकेसन्स आरकमले ४६० करोड भारुको बन्दोबस्त गर्न दाजु मुकेशको रिलायन्स इन्डस्ट्रिजलाई आफ्नो कर्पोरेट एसेटहरु लिजमा दिएको सार्वजनिक भएको छ। यस सम्बन्धी वैधानिक कानुनी कागजपत्रहरु बेलायतको अदालतमा हालै अनिल अम्बानीले पेश गरेका छन्। 

चिनियाँ बैंकहरुसँगको वित्तीय विवादमा अदालत पुगेका अनिलले यसअघिको मुद्दामा दाजुबाट ब्यक्तिगत सहयोग नपाएकोबारे कानुनी कागजपत्र पेश गरेका हुन्। 

अनिल अम्बानीका प्रवक्ताले भनेका छन्- 'इरिक्सनको पैसा तिर्न कम्पनीले कर्पोरेट एसेटहरुको माध्यमबाट पैसा उठाएको थियो। कुनै पनि रकम मुकेशको ब्यक्तिगत स्रोतबाट अनिलका लागि प्राप्त भएको होइन न त मुकेशले भाइ अनिललाई कुनै उपहार नै दिएका हुन्।' 

तर उक्त रकमका लागि अनिलको कम्पनीले कुन सम्पत्ति लिजमा दिएको भन्ने बारेमा भने स्पष्ट भएको छैन। 

सन् २०१९ को मार्चमा रिलयान्स कम्युनिकेसन्स आरकमले स्विडिस टेलिकम उपकरण निर्माता इरिक्सनलाई ४५८.७७ करोड भारु तिरेर सबै बिवाद समाधान गरेको थियो। यसपछि मात्र अनिल सम्भावित जेल जानबाट जोगिएका थिए। 

त्यसबेला विज्ञप्ति जारी गर्दै अनिल अम्बानीले भनेका थिए- 'मेरो दाजु मुकेश तथा निताप्रति आभारी छु किनभने मेरो कठिन घडीमा वहाँहरु मेरो साथमा उभिनुभयो र बलियो पारिवारिक मूल्य मान्यता प्रदर्शन गर्दै परिवारको महत्वलाई सार्थक बनाइदिनुभयो। म र मेरो परिवार वहाँहरुको यो सदाशयताप्रति असाध्यै अनुगृहीत छौं र दाजु भाउजुको यो सहायताबाट नतमस्तक भएका छौं।' 

तर त्यसको डेढ वर्षपछि अनिलको रिलायन्स ग्रुपका प्रवक्ताले नै उक्त प्रेस विज्ञप्तिबारे स्पष्टीकरण दिँदै 'त्यो आरकमका अध्यक्ष अनिल अम्बानीले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा निर्देशक मुकेश तथा नितालाई धन्यवाद दिएको' पत्र भएको बताएका छन्। 

दुवै समूहका निकट सूत्रहरुका अनुसार दुई दाजुभाइबीचको सम्बन्ध हार्दिकतापूर्ण छैन। एशियाकै धनाढ्य दाजु मुकेशले ऋणको बोझले थलिएका अनिललाई बाहिर निकाल्न सौहार्दपूर्ण कदम अघि नबढाउनेतर्फ संकेत गरेका छन्। 

अनिलका दुई  कम्पनीहरु आरकम र रिलायन्स नाभल एण्ड इन्जिनियरिङ लिमिटेड हाल टाटा पल्टिएको घोषणाको प्रक्रियामा छन्। आरकमको लिलामी हुने सम्पत्तिको एक हिस्सामा बोली लगाउने एक कम्पनी मुकेश अम्बानीको रिलायन्स जियो पनि हो।  

अनिल कम्पनीको रिलयान्स इन्फ्रास्ट्रक्चर, रिलायन्स पावर तथा रिलायन्स क्यापिटल जस्ता मुख्य कम्पनीहरु ऋणले थलिएका छन्।  स्टक मार्केटमा यी सबै कम्पनीहरुको संयुक्त मूल्य १६०० करोड भारु मात्र रहेको छ। 

हालै एस बैंकले अनिल अम्बानीको केन्द्रीय कार्यालय रहेको सान्टाक्रुजस्थित भवन तथा दक्षिणी मुम्बईका  अन्य दुई कार्यालयहरुलाई पनि आफ्नो कब्जामा लिएर ऋण असुली गर्ने प्रक्रिया अघि बढाइसकेको थियो।  तर दिल्ली उच्च अदालतले अनिल अम्बानीको पक्षमा स्टे अर्डर जारी गरेको छ। 

अदालतको आगामी निर्देशनबिना टाट उल्टिएको प्रक्रियालाई स्थगित गर्न र उनको सम्पत्ति जफतको प्रक्रिया रोक्न अदालतले आदेश दिएपछि अनिललाई केही समयका लागि राहत मिलेको छ। 

कुनै समय ४२ अर्ब डलरका साथ विश्वकै छैटौं धनाढ्य अनिल अम्बानीलाई गत मेमा बेलायती अदालतले चीनको इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक, एक्सपोर्ट इम्पोर्ट बैंक तथा चाइना डेभलपमेन्ट बैंकलाई ७१६ मिलियन डलर तिर्न आदेश दिएको थियो। यसअन्तर्गत ती बैंकहरुको ब्याज तथा कानुनी उपचार खर्चसमेत जोडिएको थियो। 

अनिल अम्बानीले गत सेप्टेम्बरमा लण्डन अदालतसमक्ष आफूले कानुनी उपचार खर्चका लागि सबै गरगहना बेचेको र आफ्नो हालको खर्च पनि परिवार तथा श्रीमतीले ब्यहोरिरहेको बयान दिएका थिए। उनले आफ्नो छोरासँग ऋण मागेर चलिरहको समेत बताएका थिए। 

अनिलसँग निकट सूत्रका अनुसार बेलायती अदालतमा चलिरहेको चिनियाँ बैंकलाई तिर्नुपर्ने रकमको मुद्दा खेपिरहेको आरकम कम्पनी हाल टाट पल्टिएको प्रक्रियामा गएको छ। उनी यो कम्पनी बेचेर चिनियाँ बैंकहरुलाई पैसा तिर्ने योजनामा छन्। 'चिनियाँ सरकारी बैंकहरुबाट सन् २०१२ मा आरकमले लिएको ऋण 'कर्पोरेट लोन' भएको र यो अनिल अम्बानीको ब्यक्तिगत ऋण नभएकाले कम्पनीको सम्पत्ति बेचेर नै तिर्नेछ,' स्रोतले कम्पनीको तयारी बारे भनेको छ।  

अनिलको ब्यापारमा लगानी गरेका केही ऋणदाताहरु भने अझै पनि उनका दाजुले भाइलाई फेरि जेल जानबाट बचाउनेमा विश्वास गर्छन्। 

अनिल तथा उनको परिवार मुकेशको छोरी इशा तथा छोरा आकाशको बिहेमा अग्रस्थानमा र सक्रिय भूमिकामा देखिएकाले पनि दाजुभाईको सम्बन्ध बाहिर सोचेजति चिसो नभएको अनुमान गर्छन्। 

छोरी इशाको बिहेमा पूर्व राष्ट्रपति स्वर्गीय प्रणव मुखर्जीलाई अनिलले नै 'रिसिभ' गरेका थिए। 

पिता धीरुभाई अम्बानीको सन् २००२ मा निधन भएपछि रिलायन्स साम्राज्य दुई भागमा बाँडिएको थियो। पारिवारिक ब्यापार सन् २००५ मा आमा कोकिलाबेन अम्बानीको मध्यस्थतामा दुई भागमा बाँडिएको थियो। 

तर त्यसैबेलादेखि बिभिन्न कानुनी लडाईमा दाजुभाई उत्रिएका थिए। 

रिलयन्स इन्डस्ट्रिजको कृष्णा गोदावरी बेसिनको नेचुरल ग्याससम्बन्धी सम्पत्तिमा कानुनी लडाई नै चल्यो। सन् २००८ मा भाई अनिलको समूहले दाजु मुकेशमाथि चरित्र हत्याको आरोपमा १० हजार करोड भारु जरिवाना माग गर्दै मुद्दा नै दायर गर्यो। आखिरमा सन् २०१० मा उच्च अदालतले ग्यास विवाद टुंग्याउँदै मुकेशकै कम्पनीको हकमा फैसला गर्यो। 
सन् २०११ को मेमा दुई दाजुभाई बीच आफ्ना कम्पनीहरुबीच कायम रहेको अप्रतिस्पर्धा सम्झौता टुंग्याउने सहमति भयो। 

एक अर्काको क्षेत्रमा हात नहाल्ने गरी भएको पूर्व सम्झौताको अवधि सकिएको भन्दै दुवैले एक अर्काको क्षेत्रमा समेत ब्यापार बिस्तार गर्न पाउने अर्को सम्झौता भयो। यसले मुकेशको लागि टेलिकम क्षेत्रमा आउने बाटो खुल्यो, अनि उनले रिलायन्स जियो लञ्च गरे। 

पारिवारिक सम्झौतामा रूपमा रहेको प्रतिस्पर्धामा आउने बुँदालाई सम्झौताबाट हटाउनुअघि दुई दाजुभाईले त्यसलाई वित्तीय रूपमा नै टुंग्याएको चर्चा चलेको थियो। 

सन् २०११ मा दुवै परिवारले पिताको ८० औं जन्मजयन्तीको अवसरमा गुजरातमा भब्य पार्टी पनि आयोजना गरेका थिए ।

त्यसपछि भने दुई दाजुभाई कहिल्यै सार्वजनिक समारोहमा साथै देखिएनन्। मुकेश टेलिकम ब्यापार तथा अन्य ब्यापार बिस्तारमा लागे। 

सन् २०१६ मा फेरि दुई दाजुभाई आफ्नो सन्तानको बिहेमा फेरि एकताबद्ध देखिए। 

अनिल आफ्ना दाजुले जियो ल्याएको मा खुशी भएको भन्दै सन् २०१६ मा उनले आफ्नो टेलिकम कम्पनी रिलयन्स जियोसँग 'भर्चुअल्ली मर्ज' भएको प्रतिक्रिया दिएका थिए। 

'हाम्रो स्पेक्ट्रम बाँडिएको छ, नेटवर्क, फाइबर, टावर त सबै सेयर भएको छ, हाम्रो आवाज पनि एक अर्कासँग जोडिएको छ,' उनले भनेका थिए।  

आरकमको एजिएममा सेयरहोल्डरको प्रश्नको जवाफ दिँदै उनले भनेका थिए। 

जियोको कमर्सियल अपरेसन सुरु भएको केही दिनपछि नै अनिलले यस्तो प्रतिक्रिया दिएका थिए। 

मुकेशले एक अन्तर्वार्ताका क्रममा भनेका थिए – 'उनी धेरै खुशी छन्, पारिवारिक विवादहरु एक तहसम्म समाधन भएको छ र सबै पूर्व विवादहरु समाधान भएका छन्।' तर उनले आफ्नो ब्यापार व्यवसाय भने  फरक भएको बताएका थिए। यो भनाईलाई बृहद् रूपमा बुझ्दै बजारले दाजुभाईको 'री-युनियन' (पुनर्मिलन) का रूपमा लिएको थियो। तर जियोको लञ्चले अनिलको टेलिकम ब्यापार धरासायी भयो। 

सन् २०१७ को जुलाईमा आरकमले जियो नै भारतीय टेलिकम उद्योगको लागि वित्तीय तनावको कारक भएको आरोप सार्वजनिक रूपमै लगायो। 

आरकमले त्यस लगत्तै इरिक्सनको ४५००० करोड ऋणको भुक्तानीमा ढिलाई गर्न थाल्यो। इरिक्सन अदालत गएर अनिल जेल जानेसम्मको अवस्था सिर्जना भएपछि भने मुकेशले आरकमको सम्पत्ति किनिदिएर भाई  अनिललाई सहयोग गरेको हाल आएर खुलेको छ।