BIZMANDU
www.bizmandu.com

घरजग्गा किनबेच एजेन्टमार्फत गर्ने कि नगर्ने? घरजग्गा किन्नुअघि यी कुरामा ध्यान दिनुस्

२०७७ असोज २३

घरजग्गा किनबेच एजेन्टमार्फत गर्ने कि नगर्ने? घरजग्गा किन्नुअघि यी कुरामा ध्यान दिनुस्
घरजग्गा किनबेच एजेन्टमार्फत गर्ने कि नगर्ने? घरजग्गा किन्नुअघि यी कुरामा ध्यान दिनुस्

Tata
GBIME
Nepal Life

आम नेपालीले घरजग्गा खरिद बारम्बार गर्न सक्दैनन्। त्यसमाथि कुनै सम्पत्ति नबेच्ने हो भने वर्षौंको कमाइ तथा बचत बिना र अझ ऋण नकाढी घर जोड्न असम्भव छ। यसकारण पनि सपना सरह मानिने ‘घर’ वा जग्गा किन्दा उपयुक्त माध्यम वा प्रक्रिया अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

घरजग्गा खरिद गर्दा पारदर्शी रूपमा विश्वसनीय सेवा दिने व्यावसायिक एजेन्टमार्फत् जानु नै सबैभन्दा राम्रो विकल्प हो । तर, एजेन्ट वा रियलटर छनोट गर्दा उसको पृष्ठभूमि, ट्रयाक रेकर्ड, सम्भव भए उसका ग्राहकको फीडब्याक इत्यादिबारे मिलेसम्म जानकारी लिएर काम गर्नुपर्छ।

घरजग्गा कारोबारसँग सम्बन्धित सम्पूर्ण कानूनी प्रक्रिया र त्यो कहाँ, कसबाट कसरी गराउने भन्ने लगायतका विषयबारे रियलटर अभ्यस्त हुन्छ, जसले उपभोक्ताको खरिद प्रक्रिया सहज हुन्छ।

यद्यपि, व्यावसायिक रूपमा बनाइएका आवास परियोजना (हाउजिङ कोलोनी तथा आपार्टमेन्ट) का घर नेपालमा सोझै डेभलपरबाटै खरिद गर्न पनि सकिन्छ, जुन अभ्यास रियल इस्टेट कारोबार व्यवस्थित भइसकेका अन्य मुलुकमा बिरलै छ । कयौं देशमा रियलटर वा रियलइस्टेट एजेन्ट (कम्पनी तथा व्यक्ति) मार्फत मात्र घरजग्गा किनबेच हुने गरेको छ।

नेपालमा पनि अनुमति प्राप्त एजेन्ट (दलाल) ले मात्र घरजग्गा कारोबार गराउन पाउने व्यवस्था लागू गर्ने चर्चा अघि बढेको केही वर्षै भइसकेको  छ। घरजग्गा बिक्रेता र खरिदकर्ता दुवै एजेन्टबाट नठगिऊन्, कारोबार तथा कारोबारीको सूचना सरकारको जानकारीमा रहोस् भन्ने उद्देश्यले पनि सरकारले यो व्यवस्था लागू गर्ने सोच बनाएको हो । यसले कारोबारलाई कानूनी दायरामा ल्याउने हुँदा उपाभोक्ताका लागि पनि यो लाभदायक हुनेछ।

यद्यपि, सम्बन्धित सरकारी निकायमा दर्ता भएका एजेन्टमार्फत् मात्र घरजग्गा किनबेच गर्न पाइने व्यवस्था सरकारले अहिलेसम्म लागू गर्न सकेको छैन। तर स्वस्फुर्त रूपमा एजेन्ट कम्पनी दर्ता गरेर रियल इस्टेट कारोबारको व्यवसायिक अभ्यासमा सक्रिय हुने अभ्यास पछिल्ला केही वर्षयता भने बढेको प्रष्ट देखिन्छ।

त्यस्ता कम्पनीमध्ये धेरैजसोले प्रोपर्टी लिस्टिङ तथा खरिद बिक्री सम्बन्धी विविध सूचना अनलाइन र सामाजिक सञ्जालहरूमार्फत पनि उपलब्ध गराइरहेका छन्। यो पेशामा आएका युवा पुस्ताका एजेन्टहरूले कारोबारमा नैतिकता र पारदर्शितालाई अपनाउने अभ्यास गरेको पनि देख्न थालिएको छ।

यसकारण सम्भव भएसम्म सरकारी निकायमा दर्ता भएर अनुमति प्राप्त एजेन्टमार्फत घरजग्गा कारोबार गर्नु उपयुक्त हुन्छ। यद्यपि, हामीकहाँ परम्परागत दलालको बिगबिगी छ । तर, सबै परम्परागत दलाल गलत र अनुमति लिएका सबै सही हुन्छन् भन्ने छैन। अतः उपयुक्त एजेन्ट छनोट गर्नु आफैंमा गाह्रो काम हो। अर्कोतर्फ, एजेन्टबाट काम गर्दा ‘पैसा खाइदिन्छ’ भन्ने आम धारणा छ। यसैले प्रचलित शुल्क वा कमिसन लिएर पारदर्शी र भरपर्दो सेवा दिने एजेन्ट छान्न सक्नु मुख्य चुनौती हो।

उपयुक्त एजेन्ट
प्रविधिको विकाससँगै नेपालमा पनि पछिल्ला केही वर्षयता घरजग्गा किनबेच गर्ने व्यवस्थित माध्यम थुप्रै छन्। खासगरी घरजग्गा कारोबारका मुख्य केन्द्र वा शहरहरू लक्षित गर्दै इन्टरनेट (वेबसाइट) को माध्यमबाट आफ्नो सेवाको जानकारी गराउने रियल इस्टेट एजेन्ट वा एजेन्सीहरू अहिले थुप्रै छन् हामी कहाँ।

तथापि, यीमध्ये कुनै एकलाई अन्धाधुन्द छनोट नगर्नुहोस्। त्यस्तो एजेन्ट रोज्नुहोस्, जसलाई तपाईंले घरजग्गा किन्न खोजिरहेको एरियाकै वा त्यो क्षेत्रबारे राम्रो जानकार होस्।

आफूले किन्न चाहेजस्तो घरजग्गा सजिलै फेला परे हुन्थ्यो वा त्यस्तो घरजग्गा खोज्ने प्रक्रिया सकेसम्म सहज भइदिए हुन्थ्यो भन्ने सबैको आकांक्षा हुन्छ । यसमा सघाउने सबैभन्दा भरपर्दो माध्यम तपाईंले छनोट गर्ने एजेन्ट नै हो, जो बजारसँग अद्यावधिक रहन्छ।

त्यसैले एजेन्टबाट सकेसम्म बिक्रीका लागि उपलब्ध धेरै वटा घरजग्गाको विवरण वा प्रस्ताव माग्नुहोस् त्यसको मूल्यांकन तथा विश्लेषण गरेर सबैभन्दा फाइदाजनक छनोट गर्नु होस्।

यसो गर्नुअघि केही कुरामा भने विचार पुर्‍याउनुपर्ने हुन्छ ।

जस्तै, एजेन्टको सेवा लिनुअघि उसको बारेमा सकेसम्म धेरै जानकारी हासिल गर्नुस्। राम्रो एजेन्टका लागि अन्य व्यक्तिसँग रेफरेन्स माग्नु होस्। परिवार, साथीभाइलाई पनि उनीहरूका लागि काम गरिसकेको कुनै राम्रो एजेन्ट भए त्यो सुझाउन भन्नुहोस्।

तपाईंको आवश्यकताअनुसार सधैं वा आवश्यक परेको बेलामा तुरुन्तै सेवा दिनका लागि ऊ तत्पर हुन्छ हुँदैन भन्ने बुझ्नुहोस्। तपाईंसँग भने अनुसारका सबै प्रतिबद्धताको लिखितमा सम्झौता गरेर सेवा दिन सक्छ सक्दैन सुनिश्चित गर्नुहोस्।

एजेन्टलाई अग्रिम वा पेश्कीमै पैसा नदिनुहोस्। यसमा तपाईंलाई नोक्सान हुन सक्छ, यदि उक्त एजेन्टबाट घरजग्गा कारोबार नगर्ने हुनुभयो भने । सरकारबाट रियलइस्टेट एजेन्सी सेवा सञ्चालनको अनुमति लिएको संस्था हो/होइन भन्ने पनि निर्क्योल गर्नुस् ।

कति दिने कमिसन?
नेपालमा व्यावसायिक रियलटर (एजेन्ट) मार्फत घरजग्गा कारोबार गर्दा उनीहरूले सामान्यतया डिल रकमको ३ देखि ५ प्रतिशतसम्म कमिसन शुल्क लिने गरेको पाइन्छ। यद्यपि, ठूलो परिमाण वा रकमको प्रोपर्टी किनबेचमा यो आपसी समझदारीमा १–२ प्रतिशतमा पनि गर्ने गरेको पाइन्छ।

परम्परागत दलाल (एजेन्ट) मार्फतको कारोबारको हकमा यी दर लागू नहुन पनि सक्छन्। यस किसिमका दलालको कमिसन औसतमा करोबार रकमको ५ प्रतिशत चलेको एजेन्टहरूको भनाइ छ। तर, परम्परागत एजेन्टमार्फतको कारोबारमा लिखित प्रतिबद्धता र पारदर्शिता हुँदैन। यसैले उनीहरूले सहमति बमोजिमको कमिसनभन्दा बढी रकम पनि ग्राहकबाट असुलेको हुन सक्ने सम्भावना नकार्न सकिँदैन।

बिक्रेताले आफ्नो घरजग्गाका लागि राखेको मूल्यभन्दा बढीमा ग्राहकलाई भिडाएर स्वयं बिक्रेतालाई नै सुइँको नदिई एजेन्टले कारोबारबाट अपारदर्शी तरिकाले पैसा खाएको घटना थुप्रै छन्।

यस्तो अवस्थाबाट जोगिन पनि घरजग्गा खरिद–बिक्री गर्दा कम्तीमा कानूनी मान्य हुने लिखित सम्झौता गरी र पारदर्शी रूपमा सेवा दिन तयार एजेन्टमार्फत कारोबार गर्नुपर्छ।