BIZMANDU
www.bizmandu.com

रेष्टुरेन्टहरुमा चहलपहल देखिन थालेपछि व्यवसायीलाई राहत, सौराहामा ‘डे भिजिट’ बढ्यो


Tata
GBIME
Nepal Life

काठमाडौं।  कोरोना महामारी नियन्त्रणका लागि  लगाइएको लकडाउन खुकुलो हुँदै गर्दा ६ महिनादेखि थलिएका रेष्टुरेण्टहरु बिस्तारै पुरानो लयमा फर्किन लागेका छन्।

पर्यटनसँग सम्बद्ध सबै क्षेत्र स्वास्थ्य सुरक्षा निर्देशिका अवलम्बन गर्दै संचालनमा आउन थालेपछि यतिखेर घर बाहिर गएर खाने तथा अनलाइन अर्डर गर्नेहरु बढ्दै गएका छन्। हाल रेष्टुरेन्टहरु यसअघिको सामान्य अवस्थाभन्दा आधामात्र  क्षमता अर्थात ५०% क्षमतामा चल्न थालेको रेष्टुरेन्ट एण्ड बार एसोसिएसनले जनाएको छ।

रेष्टुरेण्टको सेवा लिने ग्राहक बढ्दै जाँदा व्यवसायमा केही हदसम्म राहत पुगेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीले बताए।

कोभिड-१९ का कारण क्यास फ्लो नै कम भएका कारण रेष्टुरेण्ट क्षेत्रले ग्राहक लक्षित आकर्षक प्याकेज निकाल्न असम्भव रहेको उनको भनाई छ।

'महिनौंसम्म संचालनमा ल्याउन नसकिएको कारण रेष्टुरेण्ट व्यवसायीले पहिलाको जस्तो विशेष अवसरमा आकर्षक योजना ल्याउने सम्भावना छैन। यतिखेर स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै सेवाग्राहीलाई स्वस्थकर खाना दिनुनै मुख्य उद्देश्य हो,' अध्यक्ष राजभण्डारीले भने।

सौराहामा रहेका रेष्टुरेण्टमा  'डे भिजीट'मा आउने सर्वसाधरणको चहलपहल बढेको क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसिएसनले जनाएको छ। कुनै बहानामा पुनः लकडाउन जारी नभए सौराहाको रेष्टुरेण्ट व्यवसायले गति लिनेमा अध्यक्ष दीपेन्द्र खतिवडा आशावादी छन्।

'कोभिड-१९ संक्रमित संख्या धेरै बढेमा पुनः लकडाउन गरिने हल्ला सुनिएको छ। यदि कुनै बहानामा पुनः लकडाउन भइदिएन भने दसैंदेखि व्यवसायले गति लिनेमा निश्चिन्त छौं। अहिलेको सिनारियो हेर्दा व्यवसायीमा एउटा आशा पलाएको छ,' उनले भने।

उनका अनुसार सौराहामा दैनिक काठमाडौं, पोखरा, वीरगन्ज लगायत अन्तर-जिल्लाबाट घुम्न आउने तथा रेष्टुरेण्ट सेवा लिनेको संख्या तीन सयको हाराहारीमा छ।

पछिल्लो एक सातादेखि पोखरामा पनि आन्तरिक पर्यटकको चहलपहल बढेको छ। तर सामान्य अवस्थामा झैम इभेन्ट आयोजना गर्न नपाउँदा भने व्यवसायीहरु निराश सुनिन्छन्।

'आठ बजेपछि म्युजिक सिस्टम बजाउन पाइँदैन। पर्यटकहरुले दिनभरी भ्रमण गरेपछि रात्रीकालीन समयमा पहिलाको जस्तै सांगीतिक वातावरणमा खानपिनको सेवा लिन सकेका छैनन्। अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षा अवलम्बनको कुरामा कुनै कम्प्रमाइज गर्नु हुँदैन। तर पनि  हेल्थ प्रोटोकल अपनाएर पहिले झैं इभेन्ट गर्न पाए अझ राम्रो हुन्थ्यो,' क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एसोसिएसनका सेकेण्ड भाइस प्रेसिडेन्ट योगेश भट्टराईले भने।

करिब सात महिनादेखि बन्द भएको व्यवसाय, कामदारको जीविकोपार्जनसँगै आन्तरिक पर्यटन प्रवर्द्धनलाई मध्यनजर गर्दै व्यवसाय गर्ने वातावरण सिर्जना हुन आवश्यक रहेको उनले बताए।