BIZMANDU
www.bizmandu.com

एशियाली युवाको सपनामा कोभिडले पुर्याएको बाधा, १५ देखि २४ वर्षसम्मका युवाको भविष्य जोखिममा

२०७७ असोज २२

एशियाली युवाको सपनामा कोभिडले पुर्याएको बाधा, १५ देखि २४ वर्षसम्मका युवाको भविष्य जोखिममा
एशियाली युवाको सपनामा कोभिडले पुर्याएको बाधा, १५ देखि २४ वर्षसम्मका युवाको भविष्य जोखिममा


एशियाको द्रुत गतिमा विकसित अर्थतन्त्रहरुले लामो समयदेखि लाखौं युवाहरुको लागि अवसरको सिर्जना गर्दै आएको थियो। ती युवाहरुका लागि अर्थतन्त्र अभिभावक समान थियो जसले उनीहरुलाई उज्ज्वल भविष्यका लागि उपयुक्त अवसर तथा रोजगारीको मार्ग देखाउँदै आएको थियो। 

Tata
GBIME
Nepal Life

कोरोना भाइरसरका कारण विश्वमा निम्तिएको महामारीले विश्वका १५ देखि २४ वर्षका युवाहरुका लागि हालको समय करियर जोखिमका कारण समस्याग्रस्त बनेको छ। 

यी उमेर समूहका युवाहरु जसले भर्खरै आफ्नो वर्किङ करियर सुरु गर्छन् उनीहरुले हाल पुराना पुस्ताभन्दा धेरै नै छिटो रोजगारी गुमाइरहेका छन्। 

कोभिड १८ महामारीले रिटेल ट्रेड, म्यानुफ्याक्चरिङ, बिजनेस सर्भिस, होटल तथा फुड सर्भिसहरु सबैभन्दा बढी प्रभावित छन्। यसैकारण पनि यी चार आर्थिक क्षेत्र धरापमा पर्दा नवप्रवेशीहरुको करियर सबैभन्दा बढी जोखिमपूर्ण अवस्थामा रहेका छन्। 

रोजगारीको प्रवेश बिन्दूमा रहेका युवाहरु तथा कम उमेरका युवतीहरु करियरको भर्याङ चढ्न नपाउँदै अवसर रोकिएको हालै एशियाली विकास बैंक त था अन्तराष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा समेत उल्लेख छ। 

उक्त प्रतिवेदनमा उनीहरुलाई 'लकडाउन जेनरेसन'का रुपमा लिइएको छ र 'लकडाउन जेनेरेसन' करियरको लागि पुरानो पुस्ताभन्दा धेरै पछि पर्ने चेतावनी दिएको छ। 

बैंकककी २६ वर्षिया पाभिसा केटुपान्या यीनै युवाहरुको प्रतिनिधित्व गर्छिन्। उनीसँग पाइलट लाइसेन्स  छ।  आफ्नो बुवाको बाटो पछ्याउँदै कमर्सियल प्लेन उडाउने सपना उनले देखेकी थिइन् । तर कोरोना महामारीले उनको योजना तुहाइदियो। 

'जब मैले कमर्सियल पाइटका लागि लाइसेन्स लिएँ मैले सोचेकी थिएँ अब यो नै मेरो जीवनभरको लागि रोजगारीको क्षेत्र हुनेछ र मैले यहाँबाट राम्रो कमाउनेछु।'- पाभिसा भन्छिन्। तर उनी यतिबेला आफ्नो पाइलटको लाइसेन्स काखी च्यापेर कमाउनका लागि युवतीहरुको 'आइल्यास एक्सटेन्सन' गर्ने काम गरिरहेकी छिन् जुन यसअघिसम्म उनको सोखको विषयमात्र थियो। 

अवस्थामा सुधार नआउन्जेल उनले आत्मनिर्भरताका लागि यही काममा लाग्ने  बिचार गरेकी छिन्। 'यसबाट हुने कमाई पाइलटको कमाइ भन्दा निकै थोरै हुन्छ तर पनि केही नहुनुभन्दा थोरै हुनु पनि राम्रो हो।'-उनले भनिन्। 

पाभिसाको कथा अब एशिया प्रशान्त क्षेत्रका लाखौं युवाहरुको साझा कथा हो भन्दा फरक पर्दैन। यस क्षेत्रका १३ देशहरुमा सन् २०२० को अवधिमा मात्रै १ करोड ५० लाख टिनेजर तथा युवाहरुले रोजगारी गुमाउने एशियाली विकास बैंक तथा आइएलओको प्रतिवेदनले जनाएको छ। 

हाल विश्वमा युवा बेरोजगारहरुको समस्या ग्लोबल क्राइसिसका रुपमा देखिएको छ। तर एशिया हालैका दशकहरुमा युवा जनसंख्याहरुमाथि अत्यधिक भर परेको अवस्था छ। एशियाली अर्थतन्त्रमा मध्यम बर्गको माग बिस्तारै बढ्दै गएको अवस्थामा कोरोनाले हाल त्यसमा समेत थ्रेट पैदा गरिदिएको छ। 

सन् २०१९ को तथ्यांक हेर्ने हो भने विश्व आर्थिक बृद्धिको दुई तिहाई अंशमा एशियाली प्रशान्त क्षेत्रको योगदान देखिएको थियो। तर सन् २०२० मा कोरोनाका कारण एशियाली प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रहरु सन् १९६० को दशकपछिको सबैभन्दा बढी संकुचन हुने प्रक्षेपण भएको छ। 

यो प्रक्षेपणले नयाँ दिल्लीकी १७ वर्षकी नभिसा अलिलाई कम आशावादी बनाइदिएको छ। उनले बिगत ६ महिनाको समय दिगो रोजगारी खोज्दै बिताएकी छिन्। कोरोना महामारी सुरु भएलगत्तै उनले कपडा फ्याक्ट्रीको सामान्य रोजगारी पनि गुमाउनुपर्यो। पढाइ छोडेर यो काम समातेकी नभिसाको परिवारलाई पाल्नका लागि उनले यही जागिरको भर पर्नुपरेको थियो। 

सडक दुर्घटनामा परेर तीन वर्षदेखि ओछ्यान परेका  बाबुको घरायसी जिम्मेवारी काँधमा बोकेकी नभिसाले कपडा फ्याक्ट्रीबाट मासिक ५५ सय भारु कमाउँदै आएकी थिइन्। यो पैसाबाट उनले चार भाइबहिनी र परिवारको पालनपोषण गर्थिन्। तर अब उनका १६ र १४ वर्षका दुई बहिनीले पनि काम खोज्नका लागि स्कुल छोडिसकेका छन्। 

'उनीहरु अहिले सिलाइ सिक्दैछन्। म पनि उनीहरुलाई फ्याक्ट्रीको काम सिकाइरहेको छु।'- उनले भनिन्। 

कोभिड १९ को महामारीले पूर्वी एशिया तथा प्रशान्त क्षेत्रमा नयाँ बर्ग जन्माएको छ । यो 'नयाँ गरिब बर्ग' अर्थात 'न्यू पोर' समूहमा ३ करोड ८० लाख मानिस जोडिएका छन् । विश्व बैंकको प्रतिवेदनका आधारमा भन्ने हो भने कोरोनाका कारण सिर्जित 'न्यू पोर' समूह हाल गरिबीको रेखामुनि बाँच्न विवश छन्। 

सिंगापुरस्थित नेसनल युनिभर्सिटीको सेन्टर फर फ्यामिली एण्ड पपुलेसन रिसर्चकी संस्थापक निर्देशक वेई जुन जियान इयुङले हाल देखिएको यो जोखिमले नयाँ पुस्ता र पुरानो पुस्ताबीचको सम्बन्धलाई नै असर पार्ने चेतावनी दिएकी छिन्। उनका अनुसार हालको अवस्थाले युवाहरुको मानसिक स्वास्थ्यलाई जोखिममा पारेको छ। यस बेलाको रोजगारी जोखिम अरु बेलाको भन्दा पनि खराब अवस्थामा रहेको उनको तर्क छ। 

'हालको समयमा यसको प्रभाव किन बढी खराब हुन्छ भने कोभिडले बिबिध तनावहरु एकैसाथ सिर्जना गरिदिएको छ'- उनले भनिन्। यो समयको प्रभाव अन्य समयको भन्दा दीर्घकालीन रहने र अझ बढी गहिरिने उनले बताइन्। 

मनिलाका २२ वर्षिय दिमाउनाहान इयुङले भनेजस्तै एक पात्र हुन जो रोजगारीको खोजीमा भौतारिँदा भौतारिँदै अभिभावकको पेन्सनमा भर परिरहेका छन्। समाजशास्त्रमा डिग्री गरेका उनी लामो समयसम्म रोजगारीको खोजीमा रहे तर सफलता हात लागेको छैन। हाल उनी आफ्नो पढाई भन्दा फरक क्षेत्रमा निकै कम तलब लिएर सामान्य कल सेन्टरमा काम गरिरहेका छन्। 

'केही कम्पनीहरुले हाल नयाँ कामदार भर्ना स्थगित गरेका छन्।'- उनले भने- 'म एकदमै तनावमा छु किनभने परिवारमा अब कमाउने कोही पनि छैन र हामी सँधै पेन्सनको पैसामा मात्र दैनिक खर्च धान्न सक्ने अवस्थामा छैनौं।'

दिमाउनाहान जस्ता युवाहरुलाई यो चक्रबाट बाहिर निकाल्न सरकारले तत्काल दिन सक्ने राहत प्याकेजमा भर पर्नु बाहेक अरु कुनै संभावना पनि छैन किनभने रोजगारीको अवसर सिर्जना गर्न सक्ने अन्य क्षेत्रहरुको अवस्थामा पनि कोरोना महामारीले आफ्नो नियन्त्रणमा लिएको छ। 

अबको नयाँ पुस्ताले रोजगारी सिर्जनामा भर पर्ने एक मात्र आशाको क्षेत्र भने प्रविधिको क्षेत्र हो। तर  उच्च क्षमताका ब्यक्तिहरुका लागि भने रोजगारीको अवस्था अझै पनि गम्भीर देखिन्छ। 


हङकङस्थित इस्रि चाइना लिमिटेडका अध्यक्ष विनी टाङका अनुसार उनका ३० प्रतिशतभन्दा बढी कामदार ० वर्षभन्दा कम उमेरका छन्। अमेरिकाको क्यालिफोर्निया बेस्ड सफ्टवेयर कम्पनी इस्रिले जोन हप्किन्स ड्यासबोर्ड प्रयोग गरी भाइरस ट्रयाकिङको काम गर्दै आएको छ। 

हङकङ युनिभर्सिटीको प्रोफेसर समेत रहेकी टाङ भन्छिन्- 'आइटी उद्योग असाध्यै फस्टाएको छ । युवाहरु अझ भनौं युनिभर्सिटी ग्रयाजुयटहरुकै लागि पनि अबको एक दशक अझ त्यो भन्दा पनि बढी समय  थोरै कमाईमा चित्त बुझाउने अवस्था सिर्जना भएको छ।'- कोरोनाले निम्त्याएको कठिन परिस्थितीबारे उनले भनिन्। 

श्रम बजारमा कोरोनाको प्रभाव चौतर्फ देखिएको छ।  भियतनामका २३ वर्षिय ट्रान थि आई भी यो सबै प्रभावबारे जानकार छिन्। डिजिटल मार्केटिङमा डिग्री गरेकी ट्रानले गत अगस्टमा एयरलाइन्सको सेल्स एण्ड मार्केटिङ बिभागको जागिर गुमाइन्। उनले गत फेब्रुअरीमा मात्रै उक्त काम सुरु गरेकी थिइन्। 

ट्रानले रोजगारी गुमाएपछि फेसबुकमार्फत लेखन कक्षा संचालन गर्ने निधो गरिन्। जहाँ उनले हरेक साँझ ५ देखि १० जना विद्यार्थीलाई कम्पनीका लागि फ्रिल्यान्स लेखनबारे सिकाइरहेकी छिन्। तर यो कामबाट उनले एयरलाइन्सको राम्रो कमाईलाई बिर्सेर थोरै आयमा चित्त बुझाउनुपरेको छ। 

हाल उनी आफ्नो बित्तीय तथा ब्यबस्थापन स्किल प्रयोग गर्दै आफ्नै व्यवसाय संचालन गर्ने योजना पनि बनाइरहेकी छिन्। 'संकटसँगै अवसरहरु पनि आउँछ भन्नेमा मलाई विश्वास छ'- उनले भनिन्। यद्दपी नयाँ पुस्ताका अधिकांश युवाहरु हालको अर्थतन्त्रमा फस्टाउन सक्दैनन्। अनौपचारिक कामको कुनै सम्झौतापत्र नहुने तथा त्यसले  थोरै मात्र क्षतिलाई पूर्ति गर्ने भएकाले त्यो रोजगारी वा करियरको बिकल्प बन्न सक्दैन। 

चीनमै पनि सरकारले युवा वर्गमा बेरोजगारी दर निकै बढिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ जबकी चीनको आर्थिक सुधारको दर सबैभन्दा बढी छ। जापानमा पनि कम्पनीहरुले रोजगारी कटौती गरिरहेका छन् र यसको मारमा परेका नयाँ ग्रयाजुयटहरुले दीर्घकालीन रोजगारीको अवसरबाट निकै पछि परेका छन्। 

बेइजिङको बाइटडान्स लिमिटेडबाट आफ्नो इन्टर्नसिप पूरा गरेर जापान फर्किएकी २४ वर्षका झु यूईलाई यतिबेला निकै अफ्ठेरो अवस्था सिर्जना भएको छ। वासेदा युनिभर्सिटीबाट अन्तराष्ट्रिय संस्कृति तथा संचारमा ग्रयाजुयसन गर्ने योजना बनाएर फर्किएकी झुले यसअघि बेइजिङमै अण्डरग्रयाड पढिरहँदा कामको अवसर प्रसस्तै पाएकी थिइन्। 'यतिबेला मलाई असाध्यै गारो भैरहकेको किनभने मैले काम पाइरहेकी छैन।'- उनी कोरोना महामारीले  उत्पन्न गरेको असहजताबारे भन्छिन्- 'पहिलेजस्तो सहज पक्कै हुनेछैन। किनकी यतिबेला समय र विश्व परिस्थिती नै बदलिएको छ।'