BIZMANDU
www.bizmandu.com

खपत कम हुन थालेपछि सस्तियो कुखुराको मासु, किलोको २ सय रुपैयाँमै भैरहेछ किनबेच!

२०७७ असोज २२

Tata
GBIME
Nepal Life

काठमाडौं। उत्पादन धेरै र खपत कम हुन थालेपछि कुखुराको मासुको पुनः ओह्रालो लागेको छ। मूल्य प्रतिकेजी ३५ रुपैयाँले घटेको हो।

दसैंमा बिक्री हुने भन्दै व्यवसायीले खोरमा धेरै कुखुरा तयार पारेर बजारमा पठाउन थाल्दा मागभन्दा आपूर्ति बढी भएर मासुको मूल्य पुनः घट्न थालेको हो। पोल्ट्री संघले बजारमा लागू हुनेगरी कुखुराको मासुमा किलोको ३५ रुपैयाँ कम गरेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए। बजार बिग्रिने अवस्थामा मूल्यमा सन्तुलन मिलाउने प्रयास संघले गर्ने गरेको छ।

हाल बजारमा जिउँदो कुखुराको किसान मूल्य प्रतिकेजी एक सय ५० रुपैयाँ  र मासु उपभोक्ता मूल्य दुई सय २० रुपैयाँ कायम गरिएको छ।  मासु खपत कम हुँदा कतिपय खुद्रा ब्यापारीहरुले किलोको २ सय रुपैयाँमै मासु बेच्न थालेका छन्। गत साता जिउँदो कुखुरा प्रतिकेजी एक सय ६० रुपैयाँ र मासु प्रतिकेजी दुई सय ५५ रुपैयाँसम्म पुगेको थियो।

यतिबेला कुखुरापालक किसान र ब्यवसायीहरुले उत्पादन गरेका कुखुरा बजारमा आउन थालेपछि जिउँदो कुखुरा र मासुको मूल्य घट्न थालेको जानकारी दिए ।

'खपत कम हुँदै गएको छ। होटलहरु राम्रोसँग खुल्न नसक्दा मासुको खपत बढ्न सकेको छैन। यस्तै भइरहे भाउ अझै घट्छ,' अध्यक्ष बीसीले भने। 

गत भदौमा कुखुरा उत्पादन बढी हुन थालेपछि मूल्य घटेर बजारमा प्रतिकेजी एक सय ९० रुपैयाँका दरले उपभोक्ताले किनेका थिए। त्यसपछि पुनः भाउ बढ्न थालेको थियो। मागभन्दा उत्पादन कम हुन थाल्दा दुई साताअघि बजारमा भाउ प्रतिकेजी २ सय ७० रुपैयाँसम्म पुगेको थियो।

साउन महिना कुखुरा उत्पादन कम हुँदा जिउँदो कुखुरा र मासुको मूल्य आकासिएको थियो। प्रतिकेजी २ सय ६० रुपैयाँ जिउँदो कुखुरा र प्रतिकेजी ३ सय ९० रुपैयाँ सम्म कुखुराको मासुको मूल्य पुगेको  थियो।  

खोरमा हालेका चल्ला बिक्रीका लागि तयार भएर बजारमा कुखुरा आउन ४५ देखि ४८ दिन लाग्छ। अवधि पुगेर तयार भइसकेका कुखुरा धेरै दिनसम्म खोरमै राख्न मिल्दैन। बजारमा मासुको खपत कम हुनेबितिकै मासुको मूल्य घट्ने गरेको छ। मूल्य घट्न थालेपछि लागत मूल्य पनि नउठ्ने भन्दै सस्तोमा बेच्न नचाहनेहरूले खोरमा चल्ला हाल्न घटाउँछन्। त्यसको असर कुखुरा तयार भएर आइपुग्नुपर्ने मितिमा पर्छ। केही समयमा बजारमा कुखुराको अभाव हुँदा मूल्य पुन: बढ्ने गर्छ ।

मूल्य बढ्न थालेपछि बजार भाउ राम्रो पाउने आशमा उत्पादन गर्ने  किसान र व्यवसायीलाई फेरि पनि पुरानै समस्या दोहोरिन थालेको छ। कुखुराको मासुको मूल्य घट्दा उपभोक्ताले सस्तो मूल्यमा पाउने भएपनि यसको प्रत्यक्ष मार किसानलाई परिरहेको छ।