BIZMANDU
www.bizmandu.com

विश्व बजारमा खुद्रा लगानीकर्ताको ओइरो, के विज्ञले भनेजस्तै यो लगानी जोखिमपूर्ण छ?

२०७७ असोज २०

विश्व बजारमा खुद्रा लगानीकर्ताको ओइरो, के विज्ञले भनेजस्तै यो लगानी जोखिमपूर्ण छ?
विश्व बजारमा खुद्रा लगानीकर्ताको ओइरो, के विज्ञले भनेजस्तै यो लगानी जोखिमपूर्ण छ?

Tata
GBIME
Nepal Life

कोरोना भाइरस महामारीका कारण विश्व सेयर बजारका दीर्घकालीन लगानीकर्ताहरु नराम्ररी थला परेका छन्। उनीहरुलाई लागेको चोटबाट अझै बाहिर निस्कन सकिरहेका छैनन्। तर यो समयले खुद्रा तथा साना लगानीकर्ताहरुका लागि सेयर बजारमा राम्रो अवसर पनि सिर्जना गरिदिएको छ। तथापि विज्ञहरु हालको समयलाई 'जुवा खेल्नुजस्तै जोखिमपूर्ण' रहेको चेतावनी दिइरहेका छन्।

गत मार्चदेखि विश्वका धेरै देशका नागरिकले  हजारौं डलर सेयर बजारमा लगानी गरिसकेका छन्। खासगरी  न्यून ब्याजदर भएका कारण तथा लगानीका आकर्षक विकल्प नपाएका कारण सेयर बजारमा मानिसहरुले आफ्नो बचत खन्याइरहेका हुन्।

गत मार्च यता भारतमा मात्रै ५० प्रतिशत लगानीकर्ता पहिलोपटक सेयर बजार छिरेको देखिएको वित्तीय विश्लेषक आदित्य जोशी बताउँछन्। 'कुनै पनि पूर्व अनुभव नभएका गृहणीहरुले पनि यो अवधिमा ट्रेडिङमा आएका छन्,' उनले भने।

भारतको अर्थतन्त्र सुस्त अवस्थामा छ भने जिडिपीमा पहिलो त्रैमासबाट दोस्रो त्रैमासमा आउँदासम्म २४ प्रतिशतको गिरावट देखिएको छ।

भारतको केन्द्रीय बैंक आरबिआईले वास्तविक अवस्था निकै जोखिमपूर्ण रहेको चेतावनी समेत दिइसकेको छ ।

बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ- 'सापेक्षिक रूपमा विश्व वित्तीय बजारहरु आर्थिक आधारहरुसँग बिच्छेद भएको अवस्था त छँदैछ। यसमा पनि वित्तीय स्थिरतामा जोखिम समेत देखिएको छ। विशेष गरी उदाउँदो बजार अर्थतन्त्रहरुमा यो जोखिम उच्च देखिएको छ।'

बुर्सा मलेसियाले खुद्रा लगानीकर्ताहरुलाई हल्लाको पछि नलाग्न र सोसल मिडियामा चर्चामा आउने 'अवैधानिक इन्भेष्टमेन्ट सेलिब्रेटी'हरुको कुरा नसुन्न चेतावनी दिइसकेको छ। उसले सेयर बजारमा लगानी गर्नुअघि परम्परागत सल्लाहलाई पछ्याउन भनेको छ- 'पहिले आफूले लगानी गर्न चाहेको कम्पनीबारे आधारभूत जानकारी हासिल गरेर मात्र लगानी गर।'

फ्रान्समा वित्तीय बजारको वाचडग मानिने एएमएफले ७ लाख नयाँ खुद्रा लगानीकर्ता प्रवेश गरेको जनाएको छ।  गत वर्षको नोभेम्बर महिनादेखि हालसम्म ७ लाख नयाँ लगानीकर्ता बजार पसेका हुन्।

अनलाइन बैंक बोरसोरामाका अनुसार मार्केट ट्रेडिङ प्लाटफर्म प्रयोगकर्ताको संख्या तेब्बर बढिसकेको छ। यस्तै खरिद बिक्रीको अर्डर पनि यसअघिको समयमा भन्दा चार गुनाले उच्च भएको छ। नयाँ लगानीकर्ताले औसतमा ५ हजार यूरो लगानी गरेको भन्दै कम्पनीले उसका लागि सन् २०२० उल्लेखनीय वर्ष रहेको बताएको छ।

पेरिस डिजिटल स्ट्रयाटेजी कन्सल्ट्यान्ट अलेक्जेन्डर यस्ता लगानीकर्ता हुन्, जसले आफ्नो स्टकहरु दिनको दुई पटकसम्म जाँच्ने गर्छन्।

गत मार्चदेखि उनको ६ हजार यूरोको पोर्टफोलियो १५ प्रतिशतले बढिसकेको उनले बताए। परम्परागत बचत खाता वा सरकारी बण्डमा लगानी गरेको भन्दा यसबाट बढी पैसा कमाएको उनी बताउँछन्। 'म यस्तो बेलामा पनि कमाइरहेको छु जुन अपवाद हो र मलाई यो प्रष्टसँग थाहा छ,' उनी भन्छन्।

उनले हवाइजहाज उत्पादक एयर बस तथा  वर्ल्डलाइन तथा इन्गेनिको जस्ता अनलाइन पेमेन्टसँग सम्बन्धित दुई फर्महरुमा लगानी गरेका थिए। उनी 'एकैदिनमा सबै सम्पत्ति स्वाहा हुन पनि सक्छ' भन्नेमा पूर्ण सचेत भएरै लगानी गरेको बताउँछन्।

फ्रेन्च डिजाइनर ग्राबियल कोन्टासोटले गत मार्च १७ देखि लगानी गर्न थालेका थिए। उनले लगानी गर्नु ठीक एक दिन अघि डाओ जोन्सको औद्योगिक औसत गत ३३ वर्ष यताकै सबैभन्दा तल्लोस्तरमा झरेको समय थियो । 'मैले भने यो समयलाई सेलको मौसमको जस्तै रूपमा लिएँ,' उनी ठट्टा गर्दै भन्छन्।  

उनको १८ हजार अमेरिकी डलरको पोर्टफोलियो महामारीको बेला 'विनर' कहलिएका अलिबाबा, अमेजन, टेस्ला र जुम जस्ता कम्पनीहरुका कारण बलियो बन्यो। यस बीचमा उनले थप ६ हजार अमेरिकी डलर कमाएको बताए।

अमेरिकामा रहेका धेरै नयाँ रिटेल इन्भेष्टरजस्तै ग्राबियल पनि मोबाइलको एप प्रयोग गरी सेयर किनबेच गरिरहेका छन्। उनका लागि यो सबैभन्दा उत्तम तरिका हो, जसमा न कुनै शुल्क वा कमिसन तिर्नुपर्छ र यी एपहरु प्रयोगकर्तामैत्री पनि छ।

भारतमा जेरोधा र पेटिएम मनी जस्ता चर्चित एपहरुलाई मानिसहरुले 'भर्चुअल ट्रेडर'को डेस्कसम्म पुर्‍याइरहेको छ। एशियाका धेरै देशका खुद्रा लगानीकर्ताहरुको अवस्था भारतसँग समान देखिन्छ। उनीहरु कुनै न कुनै रूपमा अनलाइनबाट लगानीतर्फ आकर्षित भइरहेका छन्।

सिंगापुरमा लिस्टेड कम्पनीहरुले  गत जनवरी १ देखि सेप्टेम्बर २२ को अवधिमा रिटेल इन्भेष्टरहरुबाट मात्रै ९.६ अर्ब डलर लगानी भित्र्याउन सफल भयो।

दक्षिण कोरियाको मुख्य सेयर बजारमा गत वर्षको भन्दा ६ गुनाले कारोबार बढेको छ। गत वर्षको समान अवधिमा ६.४ अर्ब डलरको कारोबार भएकोमा हाल ३७.७ अर्बको खरिद बिक्री भएको देखिन्छ।

जापानमा पनि गत मार्चको रिटेल ट्रेडिङ गत वर्षको समान अवधिको भन्दा ७२ प्रतिशतले बढेको छ।

तर जसरी हाल रिटेल इन्भेष्टमेन्टको प्रवाह सेयर बजारमा देखिएको छ। यसको अवस्था सधैं सुखद नै  रहिरहन्छ भनेर कल्पना गर्नु भने बुद्धिमतापूर्ण हुँदैन।  

'मलाई सेयर बजारमा कसरी कारोबार गर्ने भन्ने बारेमा खासै जानकारी छैन,' गत जुन र अगष्ट बीचको समयमा इ-टोरो प्लाटफर्ममार्फत ३ हजार यूरो धुवाँमा उडाइसकेका यमन दासौलीले भने।

हालको अवस्थामा विश्वभरका खुद्रा लगानीकर्ताहरु सेयर बजारमा देखिएको स्थितिबाट रोमाञ्चित देखिएका छन्। उनीहरु यस्तै अवस्था सधैं रहिरहने छ भन्नेमा पनि आशावादी छन्।

'इमानदारीपूर्वक भन्नुपर्दा म यो कोरोना महामारीको समयमा पनि सेयर बजारमा धेरै नै अवसरहरु देखिरहेको छु,' ४७ वर्षका मलेसियन रिटेल इन्भेष्टर डेनिस चोङ भन्छन्, 'हाम्रा लागि अहिले त पार्टी टाइम हो !'