BIZMANDU
www.bizmandu.com

सोल्टीले पोखरामा पनि वातावरणमैत्री होटल बनाउने, नेपालगञ्जको वेष्टेण्ड प्रिमियरलाई सम्मान

२०७७ असोज १५

Tata
GBIME
Nepal Life

 

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  वातावारणमैत्री प्रविधि प्रयोग गर्दै आएको नेपालगञ्जस्थित सोल्टी वेष्टेण्ड प्रिमियर होटललाई सम्मान गरेको छ।

सोल्टी वेष्टेण्ड प्रिमियर होटल काठमाडौंस्थित पाँच तारे होटल सोल्टी ब्राण्ड अन्तर्गत संचालित छ। विश्व पर्यटन दिवसको अवसरमा मन्त्रालयले होटललाई वातावारणमैत्री प्रविधि प्रयोग गरेर सुविधा सम्पन्न होटलमार्फत वातावरण र दिगो विकासमा उल्लेख्य योदान पुर्‍याएको भन्दै सम्मान गरेको हो।

आफ्नो भावी विस्तारमा पनि अत्याधुनिक वातावरणमैत्री प्रविधि नै प्रयोग गर्ने योजना रहेको होटलका अध्यक्ष दिनेश विष्टले बताए। पोखरामा नयाँ पाँच तारे होटल निर्माणका लागि २८ रोपनी जग्गा खरिद गरिसकेको उनले जानकारी दिए।

'हाम्रा नयाँ प्रोजेक्टमा वातावरण मैत्री प्रविधि प्रयोग गर्ने योजना बनाएका छौं। जग्गा खरिद गरिसकेका छौं। अहिले महामारीका कारण यो प्रोजेक्ट अघि बढाउन सकिएको छैन। अवस्था सामान्य भए लगत्तै पोखरामा सोल्टी अन्तर्गत पाँचतारे स्तरको होटल निर्माण कार्य अगाडि बढाउनेछौं,' अध्यक्ष विष्टले बिजमाण्डूसँग भने।        

सरकारले दिएको सम्मानले कम्पनीलाई निकट भविष्यमा वातावारण र पर्यावरणमैत्री योजना विस्तार गर्न थप प्रोत्साहन मिलेको कम्पनी अन्तर्गत संचालित सिंक रिम होटल्स एण्ड रिसोर्टका संचालक सुदर्शन चापागाईले बताए।

'सरकारले गरेको सम्मानले हामीलाई वातावरणमैत्री प्रविधि प्रयोग गरेर आफ्नो सेवा विस्तार गर्न थप उत्साह र प्रोत्साहन मिलेको छ,' उनले भने। ५ नम्बर प्रदेशमा रहेको सोल्टी वेष्टेण्ड प्रिमियर होटल नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरीय वातावारणमैत्री ग्रीन होटल हो। पर्यावरण तथा वातावरणमा पर्ने असरलाई न्यूनीकरण गर्दै होटलले वरपर रहेको होटललाई पनि वातावारणमैत्री बन्न उत्प्रेरित गर्दै सकारात्मक प्रेरणा दिँदै आएको जनाएको छ।

यो होटल संयुक्त राज्य अमेरिकाको वासिङटनस्थित स्वतन्त्र र गैर नाफामूलक संस्था युएस ग्रीन बिल्डीङ काउन्सिलबाट पर्यावरणमैत्री ग्रीन होटल लिड 'लिडरसिप इन इनर्जी एण्ड इन्भारेमेन्टल डिजाइन' बाट प्रमाणित भएको नेपालको पहिलो पर्यावरणमैत्री होटल रहेको छ।

कम्पनीका अनुसार होटललाई युएस ग्रीन बिल्डीङ काउन्सिलले सम्पूर्ण प्राविधिक जाँच र मूल्यांकनपछि सिल्भर श्रेणीको प्रमाणीकरण दिएको हो।  होटलले रेडियन टेक्नोलोजी, फोहोर व्यवस्थापन प्रविधि, वायु प्रशोधन गरी पुनर्प्रवाह, भौमजल पुनर्भरण व्यवस्था, पानी शुद्धीकरण संयन्त्र, ध्वनि प्रदूषण नियन्त्रण, रिजेन प्रविधियुक्त लिफ्ट, सौर्य उर्जा, स्वचालित कम्प्युटर प्रविधियुक्त भवन व्यवस्थापन प्रणालीलगायत वातावरण मैत्री प्रविधि प्रयोग गर्दै आएको जनाएको छ।

सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट्स प्राइभेट  लिमिटेडको स्वामित्वमा रहेको यो होटलमा दिइने सेवाहरुको उत्कृष्टता, उच्च गुणस्तर, अन्तर्राष्ट्रिय मापदण्ड तथा अनुगमन गरी दक्ष व्यवस्थापनबाट संचालित रहेको कम्पनीले जनाएको छ।

८१ वटा कोठा क्षमता रहेको होटलमा परिसरभित्रै पर्यटनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति तयार गर्नका लागि हस्पिटालिटी भोकेसनल ट्रेनिङ सेन्टर समेत छुट्टै भवनमा संचालन गर्दै आएको छ। यसको संचालन भने सिल्भर माउन्टेन कम्पनी अन्तर्गत द होटल स्कुल नेपालले संचालन र व्यवस्थापन गर्दै आएको छ।

स्विमीङ पुल, वेलनेस सेन्टर, साना ठूला सभाहल, ब्याङ्केट सँगै क्यासिनो सुविधा दिँदै आएको होटलले निकट भविष्यमा क्यासिनो सेवाको लागि छुट्टै भवन निर्माण गर्ने योजना रहेको जनाएको छ। यस अघि यो होटलले 'बेस्ट डेबुट ग्रीन होटल' र 'नेपालको पहिलो ग्रीन होटल' लगायत सम्मान पाइसकेको छ।