BIZMANDU
www.bizmandu.com

हिमालयको सेल्फ ग्राउण्ड ह्याण्डलिङ ६ महिनापछि मात्रै, प्राधिकरण भन्छ ‘प्रक्रिया अझै बाँकी छ’

२०७७ असोज १२

Tata
GBIME
Nepal Life

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणबाट विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ अनुमति पाएको हिमालय एयरलाइन्सले ६ महिनापछि मात्रै काम गर्न पाउने भएको छ। 

हिमालयलाई अनुमति दिँदा सरकारी कम्पनी नेपाल वायुसेवा निगमको आम्दानी खोसिने भन्दै विरोध भएको थियो। ग्राउण्ड ह्याण्डलिङ सेवाबाट निगमले वार्षिक साढे चार अर्ब रुपैयाँसम्म आम्दानी गर्दै आएको थियो। सरकारले अन्य कम्पनीलाई पनि उक्त काम बाँड्दा निगमको आम्दानी स्वतः घट्छ।

ग्राउण्ड ह्याण्डलिङ सेवा अन्तर्गत कम्पनीले यात्रुको बोर्डिङ, चेक-इन, ब्यागेज, कार्गो ट्रली, र्‍याम्प  बस  लगायत सेवा दिनुपर्छ। हिमालयलाई दिइएको अनुमति फिर्ता गर्न सरकारलाई दबाब परेको चर्चा चले पनि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरू यो बारे मौन छन्।

प्राधिकरणले भने सेल्फ ग्राउण्ड ह्याण्डलिङका लागि हिमालयलाई पूर्व तयारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको सम्झौता हुन बाँकी नै रहेकाले अलि ढिला गरि काम गर्न पाउने जनाएको छ। 

अनुमति पाए पनि कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता भएपछि मात्र काम गर्न पाउने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। 'यो सेवाको लागि कम्पनीको तयारी, विमानस्थलसँगको सम्झौता लगायत विभिन्न प्रक्रिया पूरा गर्न समय लाग्नेछ। अनुमति पाएलगत्तै उसको ग्राउण्ड ह्याण्डलिङ सेवा तत्काल सुचारु भइहाल्ने भन्ने होइन,' उनले बिजमाण्डूसँग भने, 'सम्झौता प्रक्रियादेखि कम्पनीकै तयारीका लागि पनि ६/७ महिना लाग्छ।' 

मन्त्रालय स्रोतका अनुसार हिमालयलाई अनुमति दिएको विषयमा विरोध हुन थालेपछि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिँदै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको अवस्था र व्यवस्थापनका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गत आइतबार प्राधिकरणका पधाधिकारीहरूसँग छलफल गरेका थिए। हाल थाइ एयर र एयर इन्डिया लगायतका दुई अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा प्रवाह गर्दै आएका छन्। 

हिमालयको सेल्फ ग्राउण्ड ह्याडलिङ अनुमति फिर्ता लिन निर्देशन दिएको/नदिएको बारे मन्त्रालयका अधिकारीहरू बोल्न चाहेनन्। गत साता मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न हिमालयलाई दिइएको अनुमति खारेज गर्ने विषयमा चर्चा चलेको थियो। 

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने यो विषयमा मन्त्रालय र प्राधिकरणबाट कुनै पनि आधिकारिक पत्र नआएको बताएका छन्। 'विदेशमा दर्ता भएका वायुसेवा कम्पनीले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा सुचारु गर्दै आएका छन्। प्राधिकरणको नियममा रहेर स्वदेशमै दर्ता भएको अन्तर्राष्ट्रिय निजी वायुसेवा कम्पनी भएको आधारमा यो सेवा प्रवाह गर्नु हाम्रो उद्देश्य हो,' उनले भने। 

यो सेवा दिनका लागि अनुमति पाइसके पनि आवश्यक उपकरण, प्राधिकरणसँगको थप प्रक्रिया बाँकी नै रहेको उनले बताए।