BIZMANDU
www.bizmandu.com

मुस्ताङबाट हतारमा झारियो स्याउ, व्यवसायी भन्छन् ‘नपाकी पठाइदिँदा बजार बिग्रियो’ 

२०७७ असोज ७

मुस्ताङबाट हतारमा झारियो स्याउ, व्यवसायी भन्छन् ‘नपाकी पठाइदिँदा बजार बिग्रियो’ 
मुस्ताङबाट हतारमा झारियो स्याउ, व्यवसायी भन्छन् ‘नपाकी पठाइदिँदा बजार बिग्रियो’ 


Tata
GBIME
Nepal Life

काठमाडौं। फलफूल पाकेपछि मात्रै खान योग्य हुन्छ। यसपटक मुस्ताङी व्यवसायीले हतार हतारमा स्याउ टिपेर बजारमा झार्दा स्याउमा गुणस्तरीय नभएको गुनासो आउन थालेको छ। 

उत्तरी नाका नखुलेर बजारमा फलफूलको आपूर्ति घटेको मौकामा यसपटक पाक्ने बेलै नभएको स्याउ बजारमा झर्दा उपभोक्ताको गुनासो आउन थालेको व्यवसायीले बताएका छन्। ८० प्रतिशत बजार लिएको चिनियाँ स्याउ भारतीयका तुलनामा सस्तो थियो। आपूर्ति हुन नपाउँदा व्यवसायीको स्टक रित्तिएको छ।

यही मौकामा मुस्ताङबाट स्याउ पोखरा र काठमाडौंका बजारमा ल्याइँदा टिप्न हतार गरेको देखिएको व्यवसायीले बताएका छन्। 'एकपटक किनेर लगेका ग्राहकले फेरि मुस्ताङको स्याउ किन्न हिचकिचाएको व्यवसायीले गुनासो गरिरहेका छन्,' कुलेश्वर फलफूल बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बानियाँले भने, 'टिप्न योग्यमात्रै बजारमा पठाउने गरिदिएँ मुस्ताङको स्याउको साख सुरक्षित हुन्छ।'

फाइदा हुने अनुमान गरेर हतारमा बेलै नभएका स्याउ बजारमा आपूर्ति गर्ने प्रवृत्तिले मुस्ताङी स्याउको साखमा दूरगामी असर पर्ने देखिएको उनले बताए। बर्सेनि भदौ अन्तिम साताबाट म्याग्दीहुँदै झारिने मुस्ताङी स्याउ टिप्न यसपटक हतार गरेको देखिएको छ। 

'अरू फलफूलभन्दा स्याउको डिमाण्ड जहिले पनि उच्च रहिआएको छ। क्वालिटीलाई ध्यानमा राखेर आपूर्ति गरिदिए स्वदेशी उतपादनलाई उपभोक्ताले माया नै गर्छन्,' अध्यक्ष बानियाँले भने, 'अहिले चिनियाँ फुजी स्याउको आपूर्ति ठप्प छ। मुस्ताङी स्याउ बिक्री त भइरहेको छ तर, क्वालिटी नहुँदा गुनासो धेरै छ।' 

बाढीपहिरोले बेनी-जोमसोम सडक बर्सेनि भदौ-असोजमा अवरुद्ध हुने गरेको छ। त्यसले गर्दा स्याउ ढुवानी सहज छैन। छिटो टिप्ने र बाटो बिग्रिएका ठाउँमा भरिया लगाएर वारिपारि गर्ने गरिन्छ। ढुवानीमा दुःख गरेअनुसार राम्रो भाउ लिन गुणस्तरीय स्याउ पठाउनुपर्ने व्यवसायीको भनाइ छ। 
स्याउको मूल्य मुस्ताङमै प्रतिकेजी  १ सय ३० रुपैयाँ  पर्छ। उपत्यका ल्याएर बेच्दा थोकमा  प्रतिकेजी १ सय ७५ देखी २ सय रुपैयाँ पर्ने गरेको छ। उपभोक्ताले प्रतिकेजी २ सय रुपैयाँभन्दा बढीले खरिद गर्ने स्याउको गुणस्तरमा गुनासो गर्नुले मुस्ताङी स्याउकै साखमाथि प्रश्न उठेको  
छ। 

चीनबाट आपूर्ति रोकिँदा बजारमा भारतीय स्याउ आइरहेको छ। चिनियाँका तुलनामा त्यसमा पनि गुणस्तरको प्रश्न उठेकै बेला मुस्ताङी स्याउ भित्रिएको छ। मुस्ताङबाट एक महिनामा करिब  ५० टन स्याउ काठमाडौं भित्रिएको व्यवसायीले बताएका छन्। 

यतिबेला भारतबाट मागका अनुपातमा २५ प्रतिशतमात्र आपूर्ति भइरहेको फुजी स्याउ प्रतिकेजी २ सय ५० देखि २ सय ७५ रुपैयाँ पर्ने गरेको छ। चाडबाडमा हुने फलफूलको माग धान्न व्यवसायीहरू चिनियाँ स्याउ भारत हुँदै ल्याउने तयारीमा छन्। दसैंका लागि करिब ५ लाख  कार्टुन स्याउ ल्याउन लागेका हुन्। तर ढुवानी लागत बढ्दा महंगिने हिसाब भइरहेको व्यवसायीले बताएका छन्।
 
मुस्ताङको स्याउले बजारको माग धेरै दिनलाई धान्दैन। अघिल्लो वर्ष दसैंमा मात्र उपत्यकामा मुस्ताङको स्याउ करिब ४ सय वटा गाडी आइपुगेको थियो। गत वर्षको तुलनामा यसपटक फलफूलको आपूर्ति ४० प्रतिशतले घटेको छ।