BIZMANDU
www.bizmandu.com

ठमेलमा रात्रीकालीन बजार खोलिदिन व्यवसायीको माग, ‘दिनमा भन्दा रातमै ब्यापार हुन्छ’

२०७७ असोज ५

Tata
GBIME
Nepal Life

काठमाडौं । लामो समयदेखि बन्द रहेको ठमेल क्षेत्रमा चहलपहल सुरु हुन थालेपनि 'नाइट लाइफ' खुल्न नसक्दा व्यवसाय फस्टाउन सकेको छैन। ठमेलमा रात्रीकालीन व्यवसाय पनि संचालन गर्न  पाउनुपर्ने भन्दै ठमेल विकास परिषद्ले 'नाइट लाइफ' चलायमान बनाउन माग गरेको छ।

ठमेलमा दिउँसोको समयमा भन्दा रात्रीकालीन समयमा व्यापार हुने भएकोले राती बजार खोल्नका लागि सरकारसँग माग गरिरहेको परिषद्का महासचिव धुव्र अधिकारीले बताए । 

गत बिहीबारदेखि पूर्ण रुपमा व्यवसायी संचालन गर्ने व्यवस्था भएपछि ठमेलका सटरहरु खुल्न थालेको उनले जानकारी दिए ।

ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकका कारण हुने गरेको छ । करिब ६ महिनादेखिको लकडाउनका कारण बन्द भएको ठमेलमा यति बेला चहलपहल देखिन थालेपनि नाइट लाइफ भने सोचेजस्तो हुन सकेको छैन। 

रात्रीकालीन ब्यापार खोल्न सके ठमेल क्षेत्र विस्तारै रिकभर हुने उनको भनाइ छ । 

ठमेलमा रातको समयमा सबै भन्दा धेरै क्लब तथा बारहरु संचालन हुने गरेको छ। यतिबेला अन्य व्यवसाय संचालन भएपनि राम्रो व्यापार हुन नसकेपछि क्लबहरु खुला गर्न ठमेल विकास परिषदले पहल गरिरहेको हो।

सरकारले रातीको समयमा हुने व्यापार व्यवसाय कोभिडको सुरक्षा मापदण्ड पूरा गरेर संचालन गर्न दिनुपर्ने ठमेलाका व्यवसायीहरुले माग गरेका छन् । ठमेलका क्लबहरुमा १ सय देखि १ सय ५० जनासम्म ग्राहक राखी पूर्ण सुरक्षित वातावरणमा संचालन गर्न सकिने अधिकारीले सुझाव दिए।

कोरोना महामारीकै बीच बिदेशमा पनि रात्रीकालीन क्लब तथा बारहरु संचालनमा आएको भन्दै उनले सुरक्षाको ग्यारेन्टी गरेर चलाउन दिनुपर्ने आग्रह गरे।  'यसबाट बाह्र पर्यटक नआएको अवस्थामा पनि स्थानीय तथा आन्तरिक पर्यटकहरुबाट व्यापार व्यवसायले विस्तारै गति लिन सक्छ'-उनले भने ।

हाल आन्तरिक हवाइ सेवा समेत संचालन भैसकेको अवस्थामा पर्यटकीय क्षेत्रमा गतिशिलता आएको भन्दै ठमेलका व्यवसायीहरुले रात्रीकालीन व्यापार खुला गर्न माग गरेका हुन्।

अघिल्लो बर्ष यति खेर चार्डवाड नजिकिँदै गर्दा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बाक्लिदै जान्थो ।  कोरोनाले गर्दा यति बेला ठमेलका होटलहरु क्वारेन्टाइनमा बदलिएका छन् । 

कोरोनाका कारण लामो समय ठप्प रहेको ठमेलमा  ब्यापार हुनै छोडेपछि व्यवसायीहरुले धमाधम सटर खाली गरेका थिए। हाल भने बजारमा १० प्रतिशत मात्र सटर खाली रहेको विकास परिषदले जानकारी दिएको छ।