काठमाडौं। स्वावलम्बन विकास केन्द्रले तीन जना लघुवित्त उद्यमी महिला सदस्यहरुलाई पुरस्कृत गरेको छ। केन्द्रले लघुवित्त उद्यमशीलता विकास पुरस्काबाट उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
पुरस्कृत हुनेमा बाँकेको राँझास्थित बंगुरपालन व्यवसाय सञ्चालन गर्दै आएकी मनु थापामगर, दाङको लमहीस्थित पशुपालन तथा तरकारी ब्यवसाय सञ्चालन गर्दै आएकी गीता चौधरी र बाँकेको नेपालगञ्जमा गाईपालन तथा तरकारी व्यवसाय गर्दै आएकी लक्ष्मीदेवी खड्का रहेकी छन्।
पुरस्कृत लघुउद्यमी सदस्य मनु थापामगर युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर बाँके, गीता चौधरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, घोराही दाङ र लक्ष्मीदेवी खड्का उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर बाँकेसँग आबद्ध उद्यमी हुन। पुरस्कृत हुनेले जनही २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र पाउने छन्।
गत बुधबार बसेको केन्द्रको प्रबन्ध समितिको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो। पुरस्कारको लागि छनोट गर्न व्यवसाय वृद्धि, उत्पादन र बिक्री, नाफाको प्रवृत्ति, व्यवसायमा नयाँ कार्यशैलीको प्रयोग, व्यवसायको दिगोपना, समाजमा पुर्याएको योगदान, वातावरणमा पारेको सकारात्मक प्रभाव, प्रविधिको प्रयोग, व्यवसाय अनुसरणको सम्भावना र बजार व्यवस्थापनको स्थिति लगायत १० वटा मापदण्डको आधारमा मूल्यांकन गरिएको थियो।