BIZMANDU
www.bizmandu.com

सात महिनापछि सेयर बजारले १५७० अंक पार गर्‍यो, होटल र हाइड्रोमा झुम्मिए लगानीकर्ता

२०७७ असोज १

Tata
GBIME
Nepal Life

काठमाडौं। साताको अन्तिम दिन बिहीबार सेयर बजार सूचकांक ३०.७८ अंक बढेर १५७२.१८ विन्दुमा पुगेको छ ।

गत वर्षको फागुन १८ गते  नेप्से सूचक १५९१ अंकमा थियो । कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेपछि त्यसको प्रभावले सेयर बजार सूचक घटेर ११८८ विन्दुसम्म ओर्लियो। सात महिनापछि बिहीबार पुन: नेप्से सूचक १५७० विन्दुमाथि पुगेको हो।

कोरोना भाइरसको संक्रमण बढेसँगै घटेको सेयर बजार कोरोनाले अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नभएपछि फेरि लगानीकर्ताहरु यसतर्फ झुम्मिएका हुन्। 

बिहीबार १५५५.८६ विन्दुबाट कारोबार  सुरु भएको सेयर बजारमा सूचक १५ मिनेटमै घटेर १५ सय ४७ विन्दुमा ओर्लिएको थियो भने पछि होटल, जलविद्युत, बैंक, विकास बैंक र फाइनान्सको सूचक बढ्दै गएपछि सेयर बजारमा त्यसको सकारात्मक असर देखियो । 

असोज महिनाको पहिलो दिन १ गतेदेखि होटल व्यवसाय संचालनमा आएसँगै लगानीकर्ताहरु होटल कम्पनीका सेयरमा बढी आकर्षित भएका छन् ।

लकडाउनका कारण चैतदेखि संचालनमा आउन नसकेका होटलहरु ६ महिनापछि संचालनमा आएका छन् । लामो समय सेयर बजारमा सूचीकृत होटलहरुको सेयर मूल्य पनि घटेर तल आएको थियो । मूल्य तल आएको बेलामा राम्रो लाभांश दिने कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेको जानकारहरु बताउँछन् ।

जलविद्युत, फाइनान्स र विकास बैंकको सेयर मूल्य लामो समयदेखि बढ्न नसकी तल्लो मूल्यमा आइसकेका कारण लगानीकर्ताहरु ती कम्पनीहरुको सेयरमा लागेको लगानीकर्ता बताउछन् ।  

बिहीबार कारोबार भएका कम्पनीमध्ये १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको मात्र घटेको छ । साथै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको कारोबारमा चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

हिमाल दोलखा हाइडोपावर, रिलायन्स लाइफ इन्स्योरेन्स, तारागाँउ रिजेन्सी होटल तथा सोल्टी होटलको सेयर मूल्य १० प्रतिशत बढेको छ । धेरैजसो जलविद्युत र होटल कम्पनीको सेयर मूल्य बढेको छ । लघुवित्त र बीमामा भने लगानीकर्ताहरुको आकर्षण कम देखिन्छ ।  

बिहीबार १ करोड १८ लाख ३ सय ४  कित्ता सेयरको  ३ अर्ब ३१ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकम दोब्बरले बढेको छ । बुधबार १ अर्ब ८४ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको थियो । 

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी १३ करोड २३ लाखको सेयर कारोबार भएको छ भने नेपाल बैंकको १२ करोड १८ लाख २१ हजारको सेयर कारोबार भएको छ ।