BIZMANDU
www.bizmandu.com

कोभिड-१९ले रुग्ण बनेका उद्योग पहिल्याउन सरकारको पहल, १५ दिनभित्र आवेदन दिन आब्हान

२०७७ असोज १

कोभिड-१९ले रुग्ण बनेका उद्योग पहिल्याउन सरकारको पहल, १५ दिनभित्र आवेदन दिन आब्हान
कोभिड-१९ले रुग्ण बनेका उद्योग पहिल्याउन सरकारको पहल, १५ दिनभित्र आवेदन दिन आब्हान

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले स्थापना गरेको उच्च स्तरीय समितिले कोभिड-१९ र अन्य कारणले संकटमा परेका उद्योग पहिल्याउन १५ दिनभित्र आवेदन दिन आब्हान गरेको छ।

 कोभिडका कारण रुग्ण अवस्थामा पुगेका उद्योगले १५ दिनभित्र समितिमा निवेदन दिनुपर्नेछ। समितिका संयोजक दीपक सुवेदीले १५ दिनको समय राखेर आवेदन दिने सूचना निकालिएको बताउँदै निवेदनका आधारमा रुग्ण उद्योगको पहिचान गरिने बताए। केही महिना अघि मात्रै संचार सचिवबाट निवृत भएका सुवेदी लामो समय वाणिज्य मन्त्रालयमा सहसचिव भएर काम गरेका थिए।

‘हामीले कोभिड लगायतका अन्य कारणबाट रुग्ण भएका उद्योगको पहिचान गर्नेछौं। त्यो आधारमा ती उद्योगका लागि आवश्यक सहुलियत लगायतका बारेमा निर्णय हुनेछ,’ उनले बिजमाण्डूसँग भने। डेढ महिना अघि गठन भएको यो समितिले निषेधाज्ञाका कारणले धेरै काम गर्न पाएको थिएन्। समितिले यसअघि रुग्ण उद्योगका लागि सिफारिस गरिएका कम्पनीहरुका बारेमा अध्ययन गरेको थियो। समितिको कार्यालय त्रिपुरेश्वरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा रहेको छ। यी उद्योगहरु संघीय सरकारको अधिकार कार्यक्षेत्रभित्र रहेको हुनु पर्नेछ।

यसरी निवेदन दिदा उद्योग ५ वर्षदेखी निरन्तर सञ्चालनमा रहेको हुनु पर्नेछ। यसअघि मन्त्रालयले सरकारी रुग्ण उद्योग सञ्चालन, निजी क्षेत्रका रुग्ण उद्योग पहचान लगायत विषयमा उच्च स्तरिय समिति गठन गरेको थियो।

समितिलाई औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार सार्वजनिक तथा निजी क्षेत्रका उद्योगको भौतिक, वित्तीय, प्रविधिगत, बजार प्रणाली, व्यवस्थापकीय लगायतका पक्षको विश्लेषण गरी रुग्ण उद्योगहरुको पहिचान गर्ने अधिकार दिइएको छ।

ती उद्योगहरुको रुग्ण अवस्थाको छुट्टाछुट्टै अध्ययन गरी सोको कारण र यस प्रकृतिका उद्योगको पुनरुत्थान, सुदृढीकरण, सञ्चालन एवं व्यवस्थापन गर्न अपनाउनुपर्ने मोडालिटी समेत यो समितिले तयार पार्ने सुवेदीले बताए।

निजी क्षेत्रका बन्द, रुग्ण र रुग्ण उन्मुख उद्योगहरुमध्ये सम्भाव्य त्यस्ता उद्योगहरुलाई पुनरुत्थान, पुनःनिर्माण र व्यवस्थापन गर्ने सम्बन्धमा सम्बन्धित उद्योग र सरकारले लिनु पर्ने पहलकदमीसहितको प्रतिवेदन तयार गरी मन्त्रालयमा पेस गरिने उनले बताए।  यो समितिलाई उद्योगको वास्तविक स्थितिको पहिचान गर्न स्थलगत अध्ययन गर्ने, आवश्यक कागजात तथा विवरण सम्बन्धित उद्योग तथा अन्य सम्बन्धित निकायहरुबाट लिन सक्ने अधिकार दिइएको छ।

यस्तै रुग्ण उद्योगले पाउने अन्य छुट, सुविधा वा सहुलियत सम्वन्धी नीतिगत,कानुनी एवं व्यवस्थापकीय गर्नुपर्ने सुधारको सिफारिस समेत गर्ने सुवेदीले बताए। समितिले कोभिडका कारणबाट उत्पन्न विषम परिस्थितिमा रोजगारी, उद्यमशीलता, लगानी प्रवर्द्धन क्षेत्रमा थपिएका चुनौती व्यवस्थापन गर्न गर्नुपर्ने कार्यहरुको समेत सुझाव पेश गर्नु पर्नेछ।

समितिका सदस्यमा जीवराज कोइराला, गोपालप्रसाद भट्ट र कृष्णप्रसाद आचार्य छन्। यस्तै  मन्त्रालयका औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख र औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख छन्।