Bizmandu
www.bizmandu.com

विराटनगरको चर्चित व्यापारिक घराना डुब्यो ऋणमा, पैसा उठाउन बैंकले थाल्यो प्रक्रिया

विराटनगरको चर्चित व्यापारिक घराना डुब्यो ऋणमा, पैसा उठाउन बैंकले थाल्यो प्रक्रिया


काठमाडौं। लकडाउन पूर्ण रुपमा खुलेकै दिन राष्ट्रिय वाणिज्य बैंकले पहिलेदेखि डुबेको एउटा ऋण उठाउने प्रक्रिया अगाडि बढाएको छ। सरकारी स्वामित्वको बैंकले विराटनगरको एक व्यवसायिक घरानासँग करिब अर्ब रुपैयाँ हाराहारी ऋण उठाउने प्रक्रिया थालेको हो।

बैंकले मंगतुराम समूहअन्तर्गत रहेका ऋणहरु उठाउने पहल थालेको हो। बैंकले बिहीबार सार्वजनिक सूचना जारी गर्दै समूहलाई ऋण तिर्न आउन भनेको छ। साथै चुक्ता नगरेमा धितो रहेको सम्पत्ति लिलाम बिक्री गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको छ।

TaTa
TVS

समूहले ९ वटा कम्पनीका लागि एओसी, टीएल, विल्स पर्चेज, हाइपोथिकेशन, औद्योगिक लगायत शीर्षकमा ऋण लगेको थियो। समूहअन्तर्गत अन्नपूर्ण सोप एण्ड केमिकल्स, नारायण भेजिटेरियन, गणेश प्लास्टिक, जयकाली बिस्कुट, दन्तकाली प्याकेजिङ, लक्ष्मी फूटवेयर, अन्नपूर्ण आइरन, घटस्थापना इन्टरप्राइजेज र फूलपाती  इन्टरप्राइजेज कम्पनीहरु छन्। 

बैंकले समूहलाई ३५ दिनभित्र ८३ करोड, ४८ लाख ६० हजार रुपैयाँ ऋण तिर्न भनेको छ। 

***

दुई दशकअघिसम्म मंगतुराम समूह विराटनगरको ठूला औद्योगिक घरानामा गनिन्थ्यो।

विराटनगरको महेन्द्र मोरङ कलेजको स्थापना हुँदा सबैभन्दा पहिलो एडमिसन गरेर रोल नम्बर १ पाएका मंगतुराम अग्रवाल आफैंमा पनि शिक्षितमात्रै थिएनन्, ३० को दशकमै कोलकाताबाट एलएलबी गरेका उनी मारवाडी समुदायका उद्योगीमा 'धेरै जान्ने बुझ्ने' मा पर्थे।

मंगतुराम समूहको साझेदारी २०४० को दशकको मध्यसम्म सुशील धनावतसँग थियो। दुवै मिलेर आयात निर्यातको काम र हिमालय सोप इन्डस्ट्रिज नामको साबुन उद्योग चलाउँथे। 

उच्च नाफा गरिरहेको कम्पनीको कमाइ एकलौटी खान मंगतुरामले २०४५ पछि धनावतसितको साझेदारी अन्त्य गरेर भतिजा शंकरलालसँग हात मिलाए। उनीहरु मिलेर सुनसरीको सोनापुरमा पशुपति सोप नामको साबुन कारखाना खोले। 

यो साझेदारी पनि धेरै चलेन। दुई वर्षमै शंकरलाल र मंगतुराम छुट्टिए। मंगतुरामले २०४७ मा अर्को साबुन कारखाना सोनापुरमै खोले- अन्नपूर्ण सोप एन्ड केमिकल इन्डस्ट्रिज प्रालि। 

यति बेलासम्म मंगतुरामका पाँचै भाइ छोरा हुर्किसकेका थिए। उनीहरूलाई कामको खाँचो पर्न थालेको थियो। सबै जना बुवा मंगतुरामले चलाएको व्यापारमा नै सक्रिय हुन थाले। 

पुराना साझेदारलाई छाडेपछि मंगतुरामले आफ्नो छुट्टै व्यापारिक समूह बनाए- मंगतुराम समुह। उनका जेठा छोरा सुवोधकुमार अग्रवालले अन्नपूर्ण सोप एण्ड केमिकल इण्डष्ट्रिज प्रालि अघि बढाए। यसमा परिवारका अन्य सदस्यहरू पनि सेयरधनी थिए।

अन्नपूर्ण खोल्नुअघि मंगतुराम समूहको आर्थिक अवस्था सामान्य थियो। अन्नपूर्णले उच्च नाफा गर्न थाल्यो। बैंकले पनि राम्रै पत्याउन थालिसकेको थियो।

त्यसपछि मंगतुराम समूहले अन्य क्षेत्रमा हात हाल्न थाल्यो। भटाभट नयाँ नयाँ व्यापार सुरु हुन थाल्यो। 

नारायण भेजिटेवल इण्डष्ट्रिज, गणेश प्लास्टिक इण्डस्ट्रिज, जयकाली बिस्कुट एण्ड कन्फेक्सनरी, दन्तकाली प्याकेजिङ इण्डस्ट्रिज, लक्ष्मी फुटवेयर इण्डस्ट्रिज, अन्नपूर्ण आइरन इण्डस्ट्रिज, घटस्थापना इण्टरप्राइजेज र फूलपाती इण्टरप्राइजेजजस्ता दर्जनौं उद्योग र व्यापारिक प्रतिष्ठानहरु खुल्न थाले।

२०५३ सालसम्म मंगुतराम अग्रवाल समूहको व्यापारमा एकछत्र बर्चस्व बनिसकेको थियो। उनीहरुले उत्पादन गर्ने साबुनसँग प्रतिस्पर्धा गर्ने अर्को कुनै कम्पनी आउन सकेको थिएन। आइरन कम्पनी पनि सोचेभन्दा राम्रो चल्यो।

प्रहरी, प्रशासन र राजनीतिज्ञसँगको बाक्लो संगतका कारण समूहले राष्ट्रिय वाणिज्य बैंकसँग सस्तोमै ठूलो ऋण सजिलै पाइरहेको थियो। ब्यापार राम्रो चलिरहेको थियो।

पाम आयलबाट उल्टो यात्रा
२०५७ सालदेखि भने समूहको उल्टो यात्रा सुरु भयो।

अहिलेको चर्चित पाम आयलको राम्रै आयात र निर्यातकर्ता थियो- मंगतुराम समूह। 

समूहले मगाएको पाम आयलमा ‘एनिमल फ्याट’ मिसाइएको भेटियो। कोलकाता बन्दरगाहले छाड्न मानेन। त्यसमा २० करोड रुपैयाँ समूहको फसेको थियो। पाम आयल इन्डोनेसियाबाट आएको थियो। इन्डोनेसियाको सप्लायरले धोका दियो। पाम आयल फिर्ता लग्यो, तर मंगतुराम समूहको रकम फिर्ता गरेन।

त्यसबेलाको २० करोड रुपैयाँ फसेपछि समूह ठूलो आर्थिक संकटमा पर्‍यो। मुद्दामामिला पर्‍यो। तर केही सीप चलेन। मुद्दा हार्दै गए। मुद्दामामिला मिलाउन पनि ठूलो पैसा खर्च भयो।

२०६० को दशकसम्म आइपुग्दा यो समूहले बैंकको अत्यधिक ऋणले थिचिइसकेको थियो। समूह आर्थिक संकटमा थियो, तर पनि व्यापार रोकिएको थिएन।

यसैबीच राजस्व अपचलन, भन्सार छली र ऋण तिर्न नसकेको अभियोगमा २०६३ सालमा मंगतुरामका जेठा र माहिला छोरा सुबोध र सुरेश पक्राउ परे। दुवै जनाले करिब चार वर्ष काठमाडौंमा जेलजीवन बिताए।

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो पैसा उठाउन समूहको सबै सम्पत्ति आफ्नो नाममा ल्यायो।

सुवोध र सुरेश जेलबाट छुटे। छुटेपछि सुवोध सपरिवार सुटुक्क भारततर्फ पसे। उनी र उनको परिवार कहाँ छ, कसैलाई थाहा छैन। उनका सहोदर भाइ सुरेश पनि भन्न चाहँदैनन्।

माहिला सुरेश कार्टुन र प्लास्टिकको उद्योग चलाइरहेका छन्। मोरङको बुढीगंगामा रहेको यो उनको पुरानो उद्योग नै हो। साइला किसन अग्रवाल कोलकातामा सानो जागिर खाएर बसेका छन्।

काइँला दामोदर भारतको पश्चिम बंगाल राज्यको सिलिगुडीस्थित सेबोक रोडको सन्नी टावरमा फ्ल्याट लिएर बसेका छन्। दामोदरसित बाबु मंगतुराम पनि सँगै छन्। त्यहाँ दामोदरकी श्रीमतीले बुटिक चलाएकी छन्।

सिलिगुडीमा सन्नी टावरको फ्ल्याट मंगतुराम समूहले ४० को दशकमै खरिद गरेको थियो। 

कान्छा नारायण भारतको विहार राज्यको राजधानी पटनामा सानो पसल गरेर बसेका छन्।

लामो समयदेखि ऋण तिर्न सकेपछि गत फागुन २९ गते राष्ट्रिय वाणिज्य बैंकले उनीहरुको सबै सम्पत्ति लिलाम गर्ने सार्वजनिक सूचना जारी गरेको थियो। लगत्तै चैत ११ बाट लकडाउन सुरु भएपछि प्रक्रिया रोकिएको थियो। अहिले अवस्था केही सामान्य भएपछि बैंकले फेरि प्रक्रिया अगाडि बढाएको हो। 

बैंकलाई मंगतुराम अग्रवाल समूहको सबै सम्पत्तिको लेखाजोखा गर्न, हाल साबिक गर्न करिब दुई वर्ष लागेको थियो। 'सबै लेखाजोखा गरेपछि हामी बल्ल लिलाम गर्ने अवस्थामा पुगेका हौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिजमाण्डूसँग भने, 'सबै धितो बिक्री गर्न सकियो भने बैंकको पैसा उठ्छ।'

उनीहरुलाई ऋण तिर्न नसकेपछि बैंकले २०६२ साल असार १६ गते कर्जा सूचना केन्द्रको कालोसूचीमा राखेको थियो। 

'सामान्य व्यापारबाट उठेर ठूलो एम्पायर खडा गरेका थिए। तर जसरी उनीहरु ठूलो भए त्यो अनुसार वित्तीय अनुशासन कायम गर्न सकेनन्,' सुवोधलाई नजिकबाट चिनेका एक व्यवसायीले भने, 'आफ्नो कम्पनीमा के भइरहेको छ ? कसले कस्तो काम गरिरहेको छ भन्नेसम्म उनीहरु हिसाब राख्दैनथे।' 

अहिले यो घरमा मंगुतरामका छोरा सुरेशको परिवार बस्छन्। बाँकी भाडामा लगाइएको छ।

---

उनका अनुसार, मंगतुराम समूहमा काम गर्ने कर्मचारीहरुले समेत राम्रो कमाए, तर उनीहरुले कसरी कमाइरहेका छन् भन्नेसम्म हेर्ने फुर्सद मंगतुराम समूहका सदस्यहरुलाई मतलब हुँदैनथ्यो।

अहिले बैंकले समूहअन्तर्गत रहेको लक्ष्मी फुटवेयर, गणेश प्लास्टिक, हनुमान स्पिनिङ एण्ड विभिङ इण्डस्ट्रिज, शान्ति फुटवेयर र अन्नपूर्ण आइरनको विराटनगरको टंकिसिनुवारीको ३५ करोड ६७ लाख रुपैयाँ बराबरको सम्पत्ति लिलामीमा राखेको छ।

दुहबीमा रहेको अन्नपूर्ण सोपको १८ करोड ४९ लाखको सम्पत्ति पनि लिलामीमा राखिएको छ भने भाइ कृष्णकुमारको दुहबीको ३ करोड ७५ लाख र अर्का भाइ दामोदरप्रसादको दुहबीकै ३ करोड ९० लाखको सम्पत्ति पनि लिलामीमा चढाइएको छ।

जयकाली बिस्कुटको ५ लाख ७० हजारको सम्पत्ति पनि लिलाममा चढेको छ। यसबाहेक सुबोध, सुमन र नारायण अग्रवाल र शान्तिदेवी अग्रवालको विराटनगरमा रहेको ९ करोड ३९ लाखको सम्पत्ति पनि बैंकले लिलाम गर्ने भएको छ। सुवोधकै विराटनगरस्थित अर्को ४ करोड १५ लाखको सम्पत्ति पनि लिलामीमा चढेको छ। 

बैंकले मंगतुराम अग्रवाल, सुरेश र दामोदरको नाममा रहेको ९ करोड ७० लाखको सम्पत्ति पनि लिलामीमा चढाएको छ भने मंगतुरामको एकल स्वामित्वमा रहेको विराटनगरकै अर्को ६७ लाख २९ हजार जाने सम्पत्ति पनि लिलामीमा चढाएको छ। 

समुहलाई नजिकबाट चिन्ने एक व्यवसायी भन्छन्, ‘मंगतुरामको नेतृत्वमा रहुन्जेल समूहको व्यवसाय राम्ररी चलेको थियो। तर उनले सबै काम छोराहरूलाई जिम्मा लगाएपछि उनीहरूले व्यवस्थापन गर्न सकेनन्।’

छोराहरूले व्यवसायमा अगुवाइ गर्न थालेपछि मंगतुरामले सबै व्यवसायको नेतृत्व जेठा छोरा सुवोधलाई दिएका थिए। छिटो लाभ आर्जन गरेर उदयोग व्यापारिक प्रतिष्ठान लगातार थप्दै लगेको मंगतुराम समूह विराटनगरका व्यापारीमाझ कुनै बेला उदाहरणीय थिए। ओरालो लागेको समयदेखि भने उद्योगीहरू मंगतुरामसँगका सम्बन्धबारे बोल्न मान्दैनन्।