BIZMANDU
www.bizmandu.com

लामो दुरीका बस भोलिदेखि चल्ने, दसैंलाई अग्रिम बुकिङ असोज दोस्रो साताबाट खुलाउने तयारी

२०७७ भदौ ३१

लामो दुरीका बस भोलिदेखि चल्ने, दसैंलाई अग्रिम बुकिङ असोज दोस्रो साताबाट खुलाउने तयारी
लामो दुरीका बस भोलिदेखि चल्ने, दसैंलाई अग्रिम बुकिङ असोज दोस्रो साताबाट खुलाउने तयारी

Tata
GBIME
Nepal Life

काठमाडौं।  यातायात व्यवसायी र मजदुरहरु बिहिबारबाट लामो दुरीका सवारीसाधन संचालन गर्न तयार भएका छन् ।

बुधबार सिंहदरबारमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायातसम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई भेटेका थिए। भेटपछि उनीहरु भोलि असोज १ बाटै लामो दुरीका बसहरु संचालन गर्न तयार भएका हुन्।

मन्त्री नेम्वाङलाई व्यवासायीहरुले आफ्नो निर्णयलाई समर्थन गरेको भन्दै धन्यवाद ज्ञापन समेत गरेका थिए। भोलि बिहानसम्म बस संचालनको कार्यविधि उपलब्ध गराउनसमेत माग गरेका छन्। उक्त कार्यविधि बनाउने जिम्मा यातायात व्यवस्था विभागले पाएको छ। 

लामो दुरीका सार्वजनिक यातायात संचालनको निर्णय गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायातसम्बद्ध तीनवटै ट्रेड युनियनले आजै यससम्बन्धी संयुक्त विज्ञप्ती समेत निकालेका छन् । (हे.)

विभागका महानिर्देशक गोगन बहादुर हमालले कार्यविधि तयार भएको बताए। उक्त कार्यविधिअनुसार स्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै सवारीसाधन संचालन गर्न पाइनेछ।

सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने विभागको कार्यविधिले निर्देशित गरेको छ। यस्तै, भौतिक दुरी कायम हुने गरी एक पंक्तिको एक सिटमा एक जना मात्र यात्रु राख्नुपर्नेछ। सिटबाहेक अन्यत्र यात्रु राख्न पाइनेछैन।  यसअनुसार जस्तै, यदि ४० सिट क्षमताको सवारीसाधन छ भने २० जना मात्रै यात्रु बोक्न पाउनेछ।

यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ। यात्रु चढ्ने समयमा सवारीसाधनको ढोकामा र भित्र अनिवार्य रुपमा सेनिटाइजर राख्नुपर्नेछ। चालक र सहचालकले भाइजर, पन्जा र मास्क अनिवार्य लगाएको हुनुपर्नेछ। दैनिक रुपमा बस डिसइन्फेक्ट गर्नुपर्नेछ।

बसले आधा मात्रै यात्रु वोक्न पाउने भएकाले तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने पनि निर्णय भएको छ। यसअनुसार, सामान्य अवस्थामा पाँच सय रुपैयाँ भाडादर तोकिएको दुरीका लागि अब त्यसको ५० प्रतितशत अर्थात् २५० रुपैयाँ अतिरिक्त सहित जम्मा ७५० रुपैयाँ लिन पाइनेछ। 

चालक बस्ने ठाउँलाई पनि खुल्ला छाड्न पाइनेछैन । चालक एरियालाई प्लाष्टिकले नै भएपनि बार्नुपर्ने वा कभर गर्नुपर्ने भनिएको छ । चालक र यात्रुका बीचमा कुनै सम्पर्क नहोस् भन्नका लागि चालक बस्ने ठाउँलाई सिल गर्ने लागिएको हो।

अनुगमन यातायात व्यवस्था विभाग, यातायात कार्यालय र ट्राफिक प्रहरीले गर्नेछन्। विभागले यातयात व्यवस्था विभागले लक डाउनपछि सार्वजनिक सवारीसाधन  सुरक्षित तवरले संचालनका लागि निर्देशिका तयार पारेको थियो। सोहि निर्देशिका पालना गर्न लागिएको हो।

स्वास्थ्य सुरक्षा तथा  सतर्कता अपनाएर सवारीसाधन संचालन नगरिए कोरोना संक्रमण गाउँगाउँसम्म पुग्न सक्ने भएकाले सार्वजनिक यातायात संचालन गर्दा स्वास्थ्य मापदण्डमा कडाई गर्नुपर्ने विभागका अधिकारीहरुको भनाइ छ।

अखिल नेपाल यातायात व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले असोज १ बाट लामो दुरीका बसहरु छुट्ने बताए। 'के कति यात्रुहरु हुन्छन् लेखाजोखा गर्न सकिएन तर यात्रु पाए हामी बस चलाउँछौ,' उनले भने 'स्वास्थ्य र सुरक्षाका मापदण्ड कडाइका साथ पालना हुन्छ।'

बिहिबार विश्वकर्मा पूजा गरेपछि बस संचालन थाल्ने व्यवसायीहरुले बताएका छन्।  यसअघि नै विश्वकर्माको पूजा गरेपछि सरकारले स्वीकृति नदिएपनि निषेधाज्ञाको अवज्ञा गरेर बस चलाउने निर्णय गरेका थिए। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले व्यवसायीको निर्णयलाई सदर गरिदिएको हो।

असोज दोस्रो साताबाट अग्रिम बुकिङ खुल्ने
यातायात व्यवस्था विभागले असोज दोस्रो साताबाट दसैंका लागि अग्रिम बुकिङ खोल्न यातायात व्यवसायीहरुलाई प्रस्ताव गरेको छ । सोही आधारमा असोज दोस्रो साताबाट अग्रिम बुकिङ खुल्ने विभागका महानिर्देशक हमालको दाबी छ ।

तर व्यवसायीहरुले भने यस विषयमा निर्णय गरिसकेका छैनन्। विभाग, व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ताकर्मी लगायतका सरोकारवाला निकायहरुको बैठक बसेर अग्रिम टिकट बुकिङ खुलाको निर्णय हुने व्यवसायीहरुको भनाइ छ।

अग्रिम बुकिङ गर्दा सम्भव भएसम्म अनलाइनबाटै विद्युतीय टिकेटिङको व्यवस्था गर्न पनि यातायात व्यवसायीहरुलाई विभागका तर्फबाट हमालले आग्रह गरेका छन्। अहिले बसपार्क पुगेर अघिल्ला बर्षहरुमा जस्तो भींडमा टिकट काट्ने नसकिने भएकाले यस्तो व्यवस्था मिलाउन आग्रह गरिएको हो।