BIZMANDU
www.bizmandu.com

उत्तरी नाका खुलाउन राज्यका निकायको जोडबल, कोरोनाको कारण देखाउँदै पन्छिन्छन् चिनियाँ पक्ष


Tata
GBIME
Nepal Life

काठमाडौं। राजधानीबाट दसैं मान्न गाउँघर फिर्ने सुरमा रहेकाहरूले किनमेल थाल्ने बेला भयो। उपत्यकाको बजारलाई पनि दसैंको किनमेलले छोप्ने बेला चिनियाँ सामान ल्याएर कारोबार गर्नेहरूको सातो गएको छ। 

दसैंमा व्यापारका लागि अर्डर गरेका सामान सीमापारि नै रोकिएका छन्। चिनियाँ नाका खुल्दै खुलेनन्। करोडौं लगानी फसाएर राम्रो व्यापार गर्ने ठानेकाहरू सरकारसँग आक्रोशित छन्। व्यवसायीहरुले दसैं लक्षित ल्याएको हजारौं कन्टेनर सीमामा रोकिएका छन्। केरूङ र तातोपानी किन नखुलाएको ? नेपाल सरकारका अधिकारीहरू भने नाका खुलाउन पहल भइरहेको दाबी गर्छन्। 

नाका खुलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र भन्सार विभाग लगायतका निकायले पहल गरिरहेको जनाएका छन्। 'नाका खुलाउन पहल गरिरहेकाछौं,' वाणिज्य सचिव बैकुण्ठ अर्यालले भने, 'नाका खुलाउन परराष्ट्र मन्त्रालयलाई पत्र काटिसकेको छ। यस्तै गृह मन्त्रालयलाई पनि जानकारी दिइसकेको छ।'

नाका खुलाउन भन्सार विभागले पनि पहल गरिरहेको विभागका महानिर्देशक सुमन दाहालले बताए। विभागले नाका खुलाउन नेपाल स्थित चिनियाँ राजदूत, परराष्ट्र, गृह मन्त्रालयमा पत्राचार गरिसकेको उनको भनाइ छ। 

'नाका खुलाउन हामीले चिनियाँ स्थानीय तहको जनप्रतिनिधिसँग समेत छलफल गरिसकेका छौं,' महानिर्देशक दाहालले भने, 'उनीहरुको चिन्ता स्वास्थ्य सुरक्षामा नै रहेको छ। एक हप्तामा सकारात्मक नतिजा निस्कने गरी काम गरिरहेका छौं।'

नेपाली व्यवसायीहरुले चीनबाट आयात गरेका सामग्री केरुङ नाकामा अलपत्र छन्। चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै सामान पठाउन आनाकानी गरिरहेको उनले बताए। 

भन्सारमा सबैको कोरोना टेष्ट गराएर रिपोर्ट दिँदा पनि कोरोनाकै कारण देखाउदै पन्छिन खोजेको विभागको भनाइ छ। स्वास्थ्य सुरक्षा अपनाउदै लोड-अनलोड गर्ने भनिरहँदा पनि चिनियाँ पक्ष सामान छुटाउन राजी भएका छैनन्।

लकडाउन अघि नाकाबाट दैनिक २० देखि ४० कन्टेनर सामान नेपालतर्फको भन्सारमा भित्रिने गरेको थियो। महिनाको ५ सयभन्दा बढी कन्टेनर भन्सारबाट पास भएर उपत्यका पठाउदै आएको भन्सार विभागले जनाएको छ।

यतिबेला केरुङबाट पहिले जस्तै सामान पठाएमात्र दसैंअघि व्यवसायीको समान आइपुग्ने रसुवा भन्सार कार्यालयका प्रमुख पुण्य बिक्रम खड्का बताउँछन्। 'कन्टेनरको संख्या बढाएर पठाए हामीले व्यवस्थापन गर्ने सूचना दिएका छौं। तर चिनियाँ पक्षले संक्रमण बढेको भन्दै सामान पठाउन ढिलाइ गरिरहेको छ,' उनले भने, 'चिनियाँले नेपाललाइ यस्तो समयमा रोगको बिषयलाइ लिएर सामान पठाउन बेवास्ता गरिरहेको छ।' 

यति बेला केरुङ भन्सारबाट कुनै प्रतिक्रिया नआएको हुँदा व्यवसायीको सामान तत्काल आउने सम्भावना कम देखिएको छ।

के कारणले रोकियो २ नाका ?
लकडाउनको समयमा दुई चिनियाँ नाका बन्द गरिएका थिए। सरकारले  स्वास्थ्य सामाग्री आयात गर्न तातोपानी भन्सार खुलाएको थियो। त्यतिबेला भन्सारबाट २० वटासम्म कन्टेनर आउने व्यवस्था भएको थियो।

असार महिनासम्म लगातार संचालन भएको तातोपानी भन्सार असार २५ मा पहिरोले बाटो अवरुद्ध भएपछि बन्द भएको थियो । चीनतर्फको छो ताल फुट्न सक्ने जोखिम रहेको भन्दै चिनियाँ पक्षले नाका नखुलाउने निर्णय गरेपछि हाल तातोपानी नाका संचालन हुन सकेको छैन।
केरुङ छ्यो ताल फुट्ने र जोखिममा पर्ने भनेर चिनियाँले हिउँ परेर ताल जम्न थालेपछि मात्र नाका संचालन गर्ने सूचना दिएका छन्। 

चीनमा कारोना संक्रमण देखिन प्रारम्भ भएयता नै बन्द रहेको रसुवागढी नाका गत पुसदेखि नै ठप्प छ। बन्द भएको करिब चार महिनापछि खुलेको केरुङ नाका बिभिन्न कारणले बन्द हुँदै खुल्दै पुनः बन्द भइरहेको थियो। चिनियाँ पक्षले दैनिक ४ कन्टेनर पुलसम्म ल्याएर छाड्ने नियमसहित नाका संचालन भएको थियो।

बैशाख २४ गतेबाट संचालन भएको रसुवागढी नाकाबाट केही समय नाकामा अलपत्र परिरहेका कन्टेनर मात्र आउने व्यवस्था गरिएको थियो। भन्सारमा करिब १२ सय कन्टेनर रोकिएको थियो।

एक महिना लागातार संचालन भएको नाकाबाट तातोपानी भन्सारनाकाबाट ट्रान्सफर भएका  स्याउ बोकेका २०० वटा कन्टेनर केरुङतर्फ पठाइएका थिए। रोकिएका कन्टेनरमध्ये केरुङबाट नाकाबाट एक सय वटा कन्टेनर पनि नेपाली भन्सारमा भित्रिन सकेन। 

असार लागेपछि नाका पुनः बन्द भएको थियो। कहिले नेपालतर्फ पहिरो  जाने र कहिले केरुङतर्फ। यसले गरेर भन्सार पुनः १२ दिन बन्द भएर भदौ १२ मा संचालन भएको थियो। संचालन भएको एक साता नहुँदै  नाकामा कार्यरत कर्मचारिलाइ कोरोना देखिएपछि केरुङ नाका पुनः रोकिएको थियो।

कोरोना रिपोर्ट नेगेटिभ आए पनि यतिबेला चिनियाँले नाका खुलाउन खोजेका छैनन्। नेपालमा बढ्दो संक्रमणले गर्दा उनीहरु नेपाली भन्सारसँग सम्पर्कमा आउन नखोजेको भन्सार विभागले जनाएको छ।

व्यवसायीहरुले पहल गरिरहेका छन्। छिटो सामान ल्याउन खोज्दा खोज्दै पनि चिनियाँले 'माथिको आदेश' कुरेर बसिरहेको भन्ने सूचना दिन थालेका छन्। आयात भएका चिनियाँ सामान नाकामा अलपत्र परेपछि व्यवसायीहरुले सरकारले नाका खुलाउन कुनै कदम नचालेको आरोप लगाइरहेका छन्।  

दसैं नजिकिदै गर्दा व्यवसायीहरुले सामान ल्याउन जोड दिन थालेका हुन्। करिब १० महिनादेखि नाकामा सामान अलपत्र छन्। लकडाउनको समयमा व्यवसायीहरुले सामान छिटो ल्याउन माग गरेका थिए।

दैनिक १० कन्टेनर भन्सारमा भित्रिन थालेपछि दसैंका लागि सामान आइपुग्ने अनुमान गरेका थिए। लगतै भन्सार लगातार बन्द भएर खुल्ने कुनै संकेत नभएपछि व्यवसायीहरु आत्तिएका छन्।