BIZMANDU
www.bizmandu.com

कोरोना महामारीकै बीच पोखरा विमानस्थलमा धमाधम काम हुँदै, निर्माणमा प्रगति ६३%

२०७७ भदौ ३१

Tata
GBIME
Nepal Life

काठमाडौं। निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न भएको छ।

सन २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भए पनि कोभिडका कारण केही समस्या हुने देखिएको छ। यद्यपि अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ।

विमानस्थलको रन-वे, एप्रोन, ट्याक्सी-वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, केबुल र लाइटिङका लगायतका कामहरु सम्पन्न भएका छन् । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ।

गाडी गुड्ने रोड, एक्सेसस रोड र टर्मिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ । कार पार्किङको काम पनि सकिएको र १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको क्रममा रहेको विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए।

निर्धारित समयभन्दा ६ महिना अघि नै काम सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोना महामारी र  लकडाउनको असर परेको छ। प्राविधिक र कामदार चीनमै रोकिएकाले धेरै समय काम हुन सकेन।

लकडाउनमा पनि स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाएर काम भइरहेको विमानस्थलमा २ सय चिनियाँ कामदार रोकिएकाले केही निर्माण कार्य लक्ष्यभन्दा केही पर धकेलिएको उनले बताए।

विमानस्थलमा अहिले २ सय ४४ चिनियाँ र १ सय १८ नेपाली कामदार छन् । मुनकर्मीका अनुसार विमानस्थल निर्माण सामाग्रीको भने अभाव छैन।

लकडाउन अघि नै आवश्यक सामाग्री चीनबाट ल्याइएको र केही सामान भारतीय कोलकाता बन्दरगाहबाट आउने क्रममा रहेकाले निर्माण सामग्रीको अभाव नहुने उनले स्पष्ट पारे।